२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

पोखरामा सार्वजनिक विदा, कारण अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन



पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन आइतबार गरिने छ। विमानस्थलको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गर्नेछन्।

विमानस्थल उद्घाटनका लागि पोखरा महानगरपालिकाले आइतबार सार्वजनिक बिदा दिएको छ। पोखराको गौरव विमानस्थल उद्घाटनको अवसरमा सार्वजनिक बिदा दिएको महानगरका प्रवक्ता मोति तिम्सिनाले बताए। उनका अनुसार महानगर मातहतका कार्यालय र शैक्षिक संस्था बन्द हुनेछन्।

विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भने नहुने भएको छ। भारतले बनारस रुट नदिएकाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक उडान सुरु हुनेछ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल चिनियाँ विदेशमन्त्रीले गत चैतमा नै नेपाललाई हस्तान्तरण गरिसकेका छन्। चीनको एक्जिम बैंकको झण्डै २२ अर्ब रुपैयाँ सहुलियत ऋणमा विमानस्थल निर्माण गरिएको हो।

सन् २०१४ मे ३१ मा नागरिक उड्ड्यन प्राधिकरण र चाइना सिएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेडबीच विमानस्थल निर्माणको ठेक्का सम्झौता भएर २०१७ को नोभेम्बरबाट निर्माण थालनी भएको थियो। २०२१ जुन १० मा सक्नुपर्ने सम्झौतामा उल्लेख भए पनि पूरा नभएपछि एक वर्षका लागि म्याद थपिएको थियो।

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन २०३२ सालदेखि जग्गा अधिग्रहण सुरु भएको थियो। झन्डै पाँच दशकमा पोखराबाटै वैदेशिक उडान भर्ने गण्डकीबासीको सपना पूरा हुँदैछ।

प्रकाशित मिति : १६ पुस २०७९, शनिबार  ६ : ५७ बजे