३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

जंगलबीच खुलेको त्यो रिसोर्ट, जहाँ पाइन्छ नेपाली शैलीमा जापानी विशेषता



काठमाण्डौँ ।
बुढानीलकण्ठ–५ चिसेनी मार्ग हुँदै नाम्चे गुम्बा जाने बाटैमा देखिन्छ बाँसले बारेको खरको छाना भएको घर। त्यो देख्दा तपाईंलाई पुरानो बस्ती हो कि भन्ने लाग्न सक्छ।

बाँसले बारेको गेटको माथिपट्टि हेर्नुभयो भने लेखिएको देखिन्छ– देक्काइदो ओनसेन रिर्सोट एन्ड फार्म हाउस। जापानी भाषाको नाम देख्दा यो रिसोर्ट विदेशीको हो कि भनेर कति जना झुक्किन्छन्। विदेशीको त होइन, यसका सञ्चालकहरू विदेश चाहिँ बस्छन्। जापान, अस्ट्रेलिया, अमेरिका, बेलायत र स्विट्जरल्यान्ड गरी पाँच देशमा बस्ने ६ जना नेपाली मिलेर खोलेको रिसोर्ट हो यो। उनीहरूले जग्गाबाहेक यो रिसोर्टमा पाँच करोड रूपैयाँ लगानी गरेका छन्।

अस्ट्रेलिया बस्ने, हाल नेपाल आएका कम्पनीका प्रबन्ध निर्देशक खेम शर्माले भने, ुहाम्रो समूहका एक जना साथी लामो समयदेखि जापानमा काम गरिरहनुभएको छ। उहाँले नै यो नाम जुराउनुभयो। जापानी भाषामा यसको अर्थ न्यानो माया दिने भन्ने लाग्ने रहेछ।ु

रिसोर्टले नामअनुसारै ग्राहकको आतिथ्यतामा ध्यान दिएको उनले बताए। देक्काइदो ओनसेन सञ्चालनमा आएको नौ महिना मात्रै भयो। मासिक दुईदेखि तीन हजार आगन्तुक यहाँ पुग्छन्।

झन्डै ७ रोपनी क्षेत्रफलमा फैलिएको रिसोर्टमा तीन वटा प्रवेशद्वार छन्। जुनबाट छिरे पनि भयो। अपांगता भएका व्यक्तिका लागि सहज हुनेगरी छुट्टै गेट बनाइएको छ।

यहाँ खानपिनका लागि ५१ वटा टेबल छन्। कुनामा बस्दा वेटरले नदेख्ने हुन् कि भन्ने चिन्ता लिनु पर्दैन। सबै टेबलमा घन्टी राखिएको छ। त्यो थिचेपछि पानी लिएर वेटर आइहाल्छन्। प्रविधिसँग सहज भए वेटर पनि बोलाउन पर्दैन। टेबलमा भएको क्युआर कोड स्क्यान गरेर अनलाइन अर्डर गर्न सकिन्छ।

ुआधारभूत सुविधा सबै ठाउँमा पाउनु पर्छ भनेर सफाइ र ग्राहकको आतिथ्यतामा विशेष ध्यान दिएका हौं,ु शर्माले भने, ुमहँगो ठाउँमा जाँदा समयमा सेवा पाउने र सफा हुने, सस्तोमा जाँदा नपाउने भन्ने होइन। त्यसकै नमूना सिर्जना गर्न यो रिसोर्ट खुलेको हो।ु

रिसोर्टको मुख्य विशेषता आधुनिक शैलीमा नेपाली संस्कृति झल्किनु हो। भित्र छिरेपछि माटोको घर, बाँसले बारिएका कटेज र ढुंगा बिछ्याइको बाटो देखिन्छ। बाटो छेउछेउमा फूल फुलिरहेका छन्। कटेजहरूको नामकरण राष्ट्रिय निकुञ्जहरूको नामबाट गरिएको छ।

काठमाडौंको होहल्लाबाट नजिकै कतै जान चाहनेका लागि यो ठाउँ उपयुक्त हुन सक्छ। जंगलका बीचमा भएकाले शीतल र शान्त छ। चराचुरूंगी र खोलाको आवाज कानमै ठोक्किन्छ। बगैंचामा कालिज र खरायो खेल्छन्। उदाएदेखि नअस्ताएसम्मको घामको किरण पर्ने ठाउँ हो यो। राती क्याम्प फायरको मजा लिन सकिन्छ।

यहाँ एकपटकमा २१ वटा चारपांग्रे सवारी अटाउने पार्किङ छ। सवारीका निम्ति नम्बर प्रणाली छ। शर्माका अनुसार एक दिनको घटनाबाट यो प्रणाली राख्ने सोच आएको हो।

शनिबारको दिन थियो। एक जना ग्राहकले रिसोर्टका कर्मचारीलाई आफ्ना सवारी चालकलाई खाना दिनू भने। त्यो दिन पार्किङमा धेरै गाडी थिए। कर्मचारीलाई उनको गाडी चिन्नै गाह्रो भयो। त्यसपछि नै पार्किङ लट मिलाएर नम्बर राख्न थालिएको हो।

देक्काइदो ओनसेन बिहान ७ बजेदेखि राति १० बजेसम्म खुला रहन्छ। एक पटकमा एक ८२ जनासम्मलाई सेवा दिन सकिने शर्माले बताए। यहाँका मुख्य पाहुना डाँडागाउँ, नाम्चेन गुम्बा हाइकिङ गरेर फर्किनेहरू हुन्।

सेतोपाटीबाट

तस्बिरः नवीनबाबु गुरूङ

प्रकाशित मिति : १६ पुस २०७९, शनिबार  ५ : ४१ बजे