२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

अर्थमन्त्री पौडेलले ‘अर्थतन्त्रलाई यसरी लयमा फर्काउँदै छन्



काठमाडौँ । एमाले–माओवादीसहितको नयाँ सत्ता गठबन्धन अस्तित्वमा आएपछि उपप्रधान र अर्थमन्त्रीको जिम्मेवारी सम्हाल्न पुगेका विष्णु पौडेलसँगको कुराकानी ?

अर्थ मन्त्रालयको कार्यभार तेस्रो पटक सम्हाल्दै गर्दा तपाईंसँग मुख्य योजना के छन्  ?

सर्वोपरि रूपमा अर्थतन्त्रमा देखिएका गम्भीर प्रकृतिका समस्या सूक्ष्म अध्ययन गरेर तिनको कारण पहिचान गरी समाधान गर्नेतर्फ मेरो प्राथमिकता हुनेछ । अर्थतन्त्रलाई लयमा फर्काउने, सबल, सुदृढ र गतिशील अर्थतन्त्र निर्माण गर्ने काममा लाग्नेछु । सामाजिक न्यायको दिशातर्फ मुलुकलाई अघि बढाउन मेरो प्राथमिकता रहनेछ ।

यसअघि तपाईं अर्थमन्त्री रहँदैताकाबाट सुरु भएको तरलता समस्या अझै समाधान हुन सकेको छैन । यो समाधानको कुनै विशेष योजना छ  ?

वित्तीय नीति र मौद्रिक नीतिको समन्वयात्मक ढंगको कार्यान्वयनबाट अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न सकिन्छ भन्ने निष्कर्षमा हामी पुगेका छौं । उच्च ब्याजदर, विदेशी मुद्रा सञ्चितिमा देखिएको दबाब र पुँजी बजारमा आएको गिरावटलाई सम्बोधन गरेर अर्थतन्त्रलाई गतिशील बनाउने हाम्रो योजना छ । यस सम्बन्धमा आजको मन्त्रिपरिषद् बैठकले पनि एउटा महत्त्वपूर्ण निर्णय गरेको छ ।

पुँजीगत खर्च बढ्न सकेको छैन । राजस्वले चालु खर्च पनि धान्न नसकिने अवस्था छ । राजस्व वृद्धिका लागि तपाईंका योजना के–के छन्  ?

राजस्वको लक्ष्य हासिल गर्न चुहावटलाई कडाइका साथ नियन्त्रण गर्न र करको दायरा बढाउन जरुरी छ । यसका लागि आवश्यकताअनुसार राजस्व प्रशासनमा पुनःसंरचना गरिनेछ । त्यो काम छिट्टै सुरु हुनेछ । अर्थतन्त्रमा देखिएका समस्या समाधान गरेर लक्षित आर्थिक वृद्धिदर हासिल गर्न निजी क्षेत्रको पनि मनोबल उठाउन जरुरी छ । यो सरकारले निजी क्षेत्रसँग सघन छलफल गर्छ । निजी क्षेत्रमा सरकारप्रति गुमेको विश्वास जगाउँदै उनीहरूलाई साथमा लिएर अघि बढ्छौं ।

अर्थ मन्त्रालयले आफ्नो छवि गुमाइसकेको छ । यसलाई कसरी सुधार गर्नुहुन्छ ?

मेरो सबैभन्दा महत्त्वपूर्ण प्रयास नै अर्थतन्त्रको छवि सुधार्नेमा हुनेछ । त्यसपछि बिस्तारै समस्या समाधान गर्दै जानेछौं । बढेको ब्याजदर घटाउन माग गर्दै निजी क्षेत्र आन्दोलनमा छ । तिनको समस्या कसरी समाधान गर्नुहुन्छ  ?

आन्दोलनकारी उद्योगी व्यवसायीका माग र मुद्दा मैले सुनिरहेको छु । त्यसलाई सूक्ष्म ढंगले अध्ययन विश्लेषण गरेर उनीहरूको माग सम्बोधन गर्न सम्बन्धित निकायसँग समन्वय गर्नेछु । आन्दोलनमा रहनुभएका उद्योगी व्यवसायीलाई आग्रह गर्न चाहन्छु कि तपाईंहरूका समस्या सुनिदिने अर्थमन्त्री आएको छ । अब आफ्ना माग लिएर सडकमा होइन, अर्थ मन्त्रालयमा आउनुस् । सँगै बसेर समाधानका उपाय खोजौं र मुलुकलाई समृद्धिमा लगौं ।

अर्थतन्त्रलाई जोगाउन तपाईंका कुनै विशेष योजना छन् ?

अर्थतन्त्रका समस्त परिसूचकलाई सूक्ष्म ढंगले अध्ययन गरेर तिनमा कसरी सकारात्मक सुधार ल्याउन सकिन्छ भन्ने सम्बन्धमा बृहत् अध्ययन जरुरी छ । यसका लागि अर्थतन्त्रका जानकारहरू, अर्थविद्, विभिन्न अनुसन्धानमूलक संघसंस्थालगायतसँग छलफल गरेर सुधारका उपाय खोजिनेछ ।

अर्थतन्त्रमा आएको संकटका कारणले पनि अर्थ मन्त्रालयसमक्ष नागरिकका अपेक्षा धेरै छन् । कसरी पूरा गर्नुहुन्छ ?

सरकारले नागरिकको आफूप्रतिको विश्वास गुम्न दिने छैन । नागरिकलाई सरकार हाम्रो साथमा छ भन्ने अनुभूति दिलाएर उनीहरूको आत्मविश्वास बढाउन हरपल प्रयास गर्छौं ।
कान्तिपुरबाट साभार ।

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  ३ : १८ बजे