४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

बैंकको ज्यादती नसच्चिएको भन्दै आन्दोलनको घोषणा



भैरहवा । बैंक तथा बित्तिय संस्थाले उद्योगी ब्यवसायीमाथी ज्यादती गरेको निष्कर्ष निकाल्दै यहाका उद्योगी तथा ब्यवसायीले बैंकहरु सच्चिन आग्रह गरेका छन् । बैंक ज्यादती बढ्दै गएको बताउदै उनिहरुले आन्दोलन गर्ने निर्णय गरेका छन् ।
सिद्धार्थ उद्योग बाणिज्य संघ भैरहवाको अगुवाईमा भैरहवामा भएको छलफल कार्यक्रममा उद्योगी ब्यवसायीहरुले आन्दोलनमा जाने निर्णय गरेको संघका अध्यक्ष भिष्म न्यौपानेले बताए । यद्दपी आन्दोलन कहिले देखी गर्ने र आन्दोलनको स्वरुप कस्तो हुने बिषयमा अहिले नै निर्णय नभएको उनले बताए । “आजको छलफलले बैंक ज्यादती बिरुद्ध आन्दोलनको विकल्प नरहेको निष्कर्ष निकालेको छ, सोही अनुसार आन्दोलनमा जाने निश्चित छ ।” उनले भने “आन्दोलन कहिले देखी गर्ने र कस्तो प्रकारको आन्दोलन गर्ने यस बिषयमा यस क्षेत्रमा रहेका अन्य संघ संगठन तथा बस्तुगत समितिहरुको छलफल पछि सार्वजनिक गर्नेछौं ।”

भैरहवामा भएको छलफलमा वर्तमान अवश्थामा साना ब्यपारी मात्र नभई ठूलो लगानी गरेका उद्योगीहरु पनि संकटमा रहेको ब्यवसायीहरुको भनाई थियो । चालु पूंजि कर्जा निर्देशिकाको आँडमा बैंकहरुको ज्यादती बढ्दै जादा यसको असर समग्र अर्थतन्त्रमा परेको नेपाल उद्योग बाणिज्य महासंघका सदस्य राजेश कुमार अग्रवालले बताए । बैंकले ब्याज बढाउदा मानिसको क्रय शक्ति र बस्तुको माग समेत घटदै गएको उनले बताए । नेपाल राष्ट्र बैंकको निति र फितलो अनुगमनको कारण बैंकहरु जथाभावी लगानी गरेको अग्रवालको भनाई छ । अहिलेको अवश्थाको मूख्य दोषी केन्द्रिय बैंक नै हो, यसले हरेक क्षेत्रमा अस्वस्थ प्रतिष्प्रर्धा बढाएको छ ।” उनले भने ।

अहिले बैंकहरुमा ब्याजको अस्वस्थ प्रतिष्प्रर्धा बढदै गएको बताउदै उनले भविष्यमा यसले बैंकहरु पनि अहिलेको सहकारी संस्थाको हालतमा पुग्ने दावी गरे । “अहिले घर बसी बसी १२–१३ प्रतिशत ब्याज पाईरहेका हामीले सोचिरहेका छौं, यस्तो अब हुनेवाला छैंन ।” अग्रवालले भने “आउने ६ महिना वा १ बर्षमा सबै निक्षेपकर्ताहरु लाईन लागेर सहकारी संस्थाहरु जस्तै निकाल्नु पर्ने अवश्था आउदै छ ।”

भैरहवाका ब्यवसायीहरु यस अघि पनि बैंकहरुले आफुखुशी ब्याज बढाएको र अर्थतन्त्र चलायमान नरहेको अवश्थामा पुस महिनाको ब्याज र सावा समेत तिर्न नसक्ने घोषणा गरेका छन् । ब्यवसायीहरुले कर्जालाई रि–सेड्युल गर्न पनि आवाज उठाउदै आएका छन् । सरकारले ब्यवसायीहरुबाट लिएको करको समेत सदुपयोग गर्न नसकेको आरोप लगाएका छन् । सरकारले पूंजिगत खर्च गर्न नसक्दा समेत अहिलेको अवश्था आएको महासंघका अर्का सदस्य महेन्द्र कुमार श्रेष्ठको भनाई छ । उनले अहिलेको यो अवश्थाको दोषी उद्योगी ब्यवसायी, सरकार, केन्द्रिय बैंक सबै भएको जिकिर गरे । त्यसकारण अब कस्तो प्रकारको आन्दोलन र कसको बिरुद्ध आन्दोलन गर्नुपर्ने हो त्यो बिषयमा स्पष्ट हुन उनले आग्रह गरे ।

उद्योग बाणिज्य महासंघ, लुम्बिनीका अध्यक्ष कृष्ण प्रसाद शर्माले आन्दोलनको नेतृत्व प्रदेश समितिले गर्न तयार रहेको बताए । उनले यो समस्या भैरहवाका ब्यवसायीको मात्र नभई देशकै समस्या रहेकोले यसको निराकरणको लागि प्रदेश समितिले अगुवाई गर्ने बताए । सरकारको नितिका कारण वर्तमान अवश्थामा लुम्बिनी प्रदेशमा उद्योग तथा ब्यवसायहरु बन्द भई रहेको बताउदै उनले यो अवश्थामा बैंक ब्याज र किस्ता तिर्न नसकिने बताए ।

“यसो भनिरहदा हामीले तपाईको ब्याज र किस्ता तिर्दैनो भनेका हैनौं, तिर्छौ तर यसको बिधि ब्यवस्था मिलाईदिनुस मात्र भनेका छौं ।” शर्माले भने “बिधि ब्यवस्था भनेको तिर्ने समय बढाईदिनुस, कर्जा रि–सेड्युल गरिदिनुस मात्र भनेका छौ ।” उनले अहिले दैनिक ६ सय बढी निलामीका सूचना पत्रिका निस्किरहेको बताउदै अवश्था यस्तै रहे निलामी सकार्ने ब्यक्ति÷संस्थाको पनि अभाव हुने जिकिर गरे ।

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  ८ : १३ बजे