३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

नक्कली शरणार्थी प्रकरणः आज अनुसन्धान प्रतिवेदन बुझाउने प्रहरीको तयारी



काठमाण्डौ – नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुलाई राज्यविरुद्धको अपराधसहित चार कसुरमा मुद्दा चलाउनुपर्ने निष्कर्षसहित प्रहरीले आज अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाण्डौमा अस्ति नै प्रतिवेदन बुझाउने भनिए पनि पछिल्लोपटक पक्राउ परेका दुई जनाको बयान नसकिएपछि सरेको थियो । प्रहरीले पछिल्लो २ दिनमा बिहीबार पक्राउ परेका भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँको बयान लिएको छ । योसंगै पक्राउ परेका सबैको लगभग बयान सकिएको प्रहरी श्रोत बताउँछ ।

यस प्रकरणमा पक्राउ परेका दुई पूर्वमन्त्री र बहालवाला एक सचिवसहित १६ आरोपितहरुविरुद्ध राष्ट्रहित प्रतिकूल गरेको, ठगी, कीर्ते र संगठित अपराधको अभियोगमा मुद्दा दायर गर्ने प्रहरीको तयारी छ । प्रहरीले संगठित अपराध र ठगी कसुरअन्तर्गत म्याद थप गरी अनुसन्धान गरिरहेकोमा यो धन्दा राज्यविरुद्धको पनि अपराध रहेको सरकारी वकिल कार्यालयको निष्कर्ष छ । नेपालीलाई नक्कली शरणार्थी बनाएर ठगी गर्ने यो प्रकरण राष्ट्रहित प्रतिकूल भएकाले राज्यविरुद्धको अपराधको कसुर आकर्षित हुने गरी मुद्दा चलाउन लागिएको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिलेसम्म १६ जना पक्राउ परेका छन् । यसअघि पूर्वउपप्रधानमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप, पूर्वगृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाण, सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, पूर्वसांसद आङटावा शेर्पा, केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ, सन्देश शर्मा, सागर थुलुङ, नरेन्द्र केसी, रामशरण केसी र गोविन्द चौधरी पक्राउ परिसकेका छन् । पूर्व गृहमन्त्री थापाका छोरा प्रतीक र नीरज राई फरार छन् ।

प्रकाशित मिति : ७ जेष्ठ २०८०, आइतबार  ७ : ३८ बजे