२८ भाद्र २०८१, शुक्रबार | Fri Sep 13 2024

दुवै खुट्टा गुमाएर पनि सगरमाथाको चुचुरो चुम्ने साहासी हरिबहादुर



काठमाडौँ । घुँडामाथि सम्म दुवै खुट्टा गुमाएका भूतपूर्व गोर्खा सैनिक हरिबहादुर बुढा मगरले शुक्रवार दिउँसो विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेको समूहका जनसम्पर्क सदस्यले जानकारी दिएका छ

यससँगै घुँडामाथि सम्म खुट्टा गुमाएका पहिलो आरोही बन्दै उनले विश्व कीर्तिमान बनाएका छन्।

कृत्रिम खुट्टाको सहयोगमा उनले सगरमाथा आरोहण गरेका हुन्। सगरमाथाको दक्षिणी मोहडाबाट आरोहण गरेको थियो।

“यदि म संसारको शिखरमा चढ्न सक्छु भने अपाङ्गता भएका जो कोहीले आफ्नो सपना पूरा गर्न सक्छन्,” मगरले आरोहणपछि अभिव्यक्त गरेको कुरा विष्टले उद्धृत गरे।

उक्त आरोहण दलको नेतृत्व कृष्ण थापाले गरेको जनाइएको छ। सन् १९९९ मा ब्रिटिश गोर्खा सेनामा भर्ती भएका मगर रोल्पाको मिरूल गाउँमा १९७९ मा जन्मेका हुन्।

ब्रिटिस सेनामा रहँदा अफगानिस्तानको लडाइँमा सन् २०१० मा तालिबानको एम्बुसमा परेर आफ्ना दुवै खुट्टा घुँडा भन्दा माथिबाट गुमाएका थिए।

उनले दुवै खुट्टा गुमाएपछि दुई वर्ष उपचारमा र चार वर्ष पुनर्स्थापना केन्द्रमा बिताएका थिए।

सगरमाथातर्फ जानु अघि उनले बीबीसीसँगको कुराकानीमा भनेका थिए, ‘दुवै खुट्टा गुमाएपछि जीवन सकिएजस्तो लागेको थियो तर आँट गरे जस्तो सुकै कठिन काम पनि गर्न सकिँदो रहेछ।’

“यो मेरो सफलता विश्वभरका अपाङ्ग व्यक्तिको सफलता हो, नेपालको सपना हो। नेपाल आमाको काखमा हुर्केको मैले जवानी बेलायतको लागि व्यतीत गरेँ, अब अलिक धेरै नेपाल आमाको सेवामा लाग्ने योजना छ,” उनले आगामी योजनाबारे बताएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

साहसिक खेलमा समेत रुचि राख्ने उनले हालसम्म मोँ ब्लाँ, मेरा पिक, बेन नेभिस, किलिमन्जारो जस्ता हिमालहरू चढिसकेका छन्।

प्रकाशित मिति : ७ जेष्ठ २०८०, आइतबार  ७ : २५ बजे