३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

अर्थ व्यवसाय

होटल व्यवसायलाई उद्योग सरह मान्यता दिन माग



काठमाडौं । होटल व्यवसायलाई उद्योग सरह मान्यता दिन वीरगञ्जका होटल व्यवसायीहरुले माग गरेका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाललाई आइतबार ज्ञापनपत्र बुझाउँदै होटल व्यवसायीहरुले यस्तो माग गरेका हुन् ।

देशको आर्थिक विकासमा ‘होटल तथा पर्यटन व्यवसाय’ क्षेत्रको महत्वपूर्ण भूमिका भएको भन्दै व्यवसायीहरुले यस क्षेत्रलाई तंग्रिन र विकास गर्नमा सघाउनका लागि पनि उद्योग सरह मान्यता दिनुपर्ने उनीहरुको माग छ । उद्यम र रोजगारीको भरपर्दो स्रोत तथा वैदेशिक मुद्रा आर्जनको उपयुक्त माध्यम होटल व्यवसाय भएको उनीहरुको भनाइ छ ।

‘होटल तथा पर्यटन व्यववसाय’लाई उद्योग सरह मान्यता दिने कुरा हामीले यसअघि पनि उठाउँदै आएको विषय हो । यस्तो मान्यताले उद्योगहरुलाई प्राप्त हुने सहुलिय र सुविधाहरु हामीले पनि पाउने आधार बन्छ । उद्यम र रोजगारीको भरपर्दो स्रोत तथा वैदेशिक मुद्रा आर्जनको स्थापित माध्यम भएको र देशको आर्थिक विकासको राज्यद्वारा नै चिन्हित गरिएको महत्वपूर्ण क्षेत्र रहेको ‘होटल तथा पर्यटन व्यवसाय’लाई तंग्रिन र विकास गर्नमा यसले मद्धत मिल्ने छ’ मन्त्री रिजाललाई बुझाइएको ज्ञापनपत्रमा भनिएको छ।’

होटललाई उद्योग सरह मान्यता दिएको खण्डमा व्यवसायीले राज्यबाट विभिन्न सुविधा प्राप्त गर्ने भएको हुनाले व्यवसायीलाई प्रोत्साहन मिल्ने होटल व्यवसायी हरि पन्त बताउँछन् । होटल व्यसायीलाई उद्योगमा दर्ता गराउने तर नाफामूलक व्यवसायको रूपमा मात्रै हेर्नु ठिक नभएको उनले बताए ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  १ : १९ बजे