३१ भाद्र २०८१, सोमबार | Mon Sep 16 2024

मुख्य खबर

अर्थतन्त्र सुधार्न ५ सय र हजारका नोट छपाइ बन्द गर्नुपर्छ सांसद देवकोटा



काठमाडौँ । राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले भ्रष्टाचार नियन्त्रण गरी अर्थतन्त्र सुधारका लागि ५ सय र हजार रुपैयाँका नोट छपाइ रोक्नुपर्ने बताएका छन् । बुधबार राष्ट्रिय सभामा वर्तमान आर्थिक समस्याका विषयमा सार्वजनिक महत्वको प्रश्तावमाथिको छलफलमा बोल्दै सदस्य देवकोटाले मुलुकमा भइरहेको भ्रष्टाचार कम हुने दाबी गर्दै ५ सय र हजार रुपैयाँका नोट छपाइ रोक्नुपर्ने बताएका हुन् ।

उनले बजारमा भएको सबै पैसा नियन्त्रण गर्न सकिए भ्रष्टाचार न्यूनीकरणमा सहयोग पुग्ने दाबी गरे । उनले बजारमा लगानी गर्नुपर्ने पैसा कर्मचारी, नेता, दलाल र बिचौलियाले बोरामा लुकाएर राख्ने गरेको दाबी गरे ।

‘बजारमा लगानी गर्नु पर्ने पैसा घुस्याहा कर्मचारी, घुस्याहा नेता, दलाल, विचौलियाले बोरामा पैसा लुकाए राख्ने गरेका छन भन्ने सुनिन्छ,’ उनले भने, ‘मेरो अनुरोध छ । रु पाँच सय र एक हजारका नोट छाप्न बन्द गरियोस् । बजारबाट सबै नोट खिचियोस् । यसले केही हदसम्म भए पनि भ्रष्टाचार नियन्त्रणमा सहयोग पुर्याउँछ ।’

उनले महालेखापरीक्षकको कार्यालयको प्रतिवेदन अनुसार सार्वजनिक ऋणको अधिकांश हिस्सा प्रशासनमा खर्च भएको र अहिले ऋण लिएर चालु खर्च धान्नुपर्ने अवस्था रहेको बताए ।

उनले नेपालमा वैदेशिक ऋण घट्दो क्रममा रहेको, राजस्व संकलन अनुपात भारी मात्रामा घटेको, उद्योगी व्यवसायी धराशयी बनेको, पुरानो कर्जा तिर्न नयाँ कर्जा लिनुपर्ने अवस्था रहेको बताए ।

उनले आर्थिक वर्षको अन्त्यमा ठूलो बजेट रकमान्तर गर्ने, बिना आधार बहुवर्षीय आयोजना स्वीकृत गर्दा आर्थिक अराजकता बढ्दै गएको उल्लेख गरे ।

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार  ७ : ०३ बजे