३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई कृषिमन्त्रीको कडा निर्देशन



काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री डा।बेदुराम भुसालले कृषिजन्य उत्पादनलाई उपेक्षा नगर्न आग्रह गरेका छन् । कृषिजन्य उत्पादनको प्रयोगमा उपेक्षा हुन थालेको भन्दै यसको प्रयोग बढाउने गरी काम गर्नुपर्नेमा उनले जोड दिए ।

मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री भुसालले भने, ‘घरघरमा, चुलो चुलोमा विषादी छ भन्ने आम धारणा छ । हामीले नखाने खायौँ, खाने खाएनौँ, यसको नियमन, अनुगमन गर्ने काम यही विभागकै हो ।’

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रयोगशाला स्तर उन्नतिमा आफ्नो विशेष जोड रहने समेत उनले प्रतिबद्धता जनाए । स्रोत, साधन र जनशक्ति भएर मात्रै काम नहुने भन्दै सबैभन्दा ठूलो कुरा काम प्रतिको लगाव महत्त्वपूर्ण रहने बताए ।

‘स्रोत, साधन र जनशक्तिको व्यवस्थापनमा मेरो विशेष जोड रहन्छ । यतिले मात्र हुँदैन, काम गर्ने तपाईँहरूले नै हो, काम प्रतिको लगावले मात्र दीर्घकालीन लक्ष्य पूरा गर्न सकिन्छ,’ मन्त्री भुसालले भने ।

हालै मात्र सरकारले तरकारी र फलफूलको विषादी चेकजाँच सम्बन्धी नयाँ निर्णय गरेको भन्दै यसको कार्यान्वयनमा समेत विशेष ध्यान दिनुपर्नेमा उनले जोड दिए ।

कतिपय ऐन र कार्यविधिको अभावले पनि सोचेजस्तो काम हुन नसकेको भन्दै यता तर्फ गम्भीर हुन कर्मचारीलाई मन्त्री भुसालले निर्देशन दिए ।

तत्काल खाद्य स्वच्छता तथा गुणस्तर विधेयक संसदबाट पास गर्नुपर्नेमा जोड दिदैं उनले मानवीय स्वास्थ्यसँग सम्बन्धित विषयमा गम्भीर रहेर सेवा प्रवाह गर्न आग्रह गरे ।

कानुनको अभावमा काम हुन नसक्ने स्थिति आए सरकारलाई खबरदारी गर्नुपर्ने भन्दै उनले अरू काम सम्बन्धित कार्यालयको हुने बताए । सबै आ–आफ्नो काममा लागे मात्रे सोचेजस्तो सफलता हात पर्ने बताए ।

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार  ६ : ५२ बजे