३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

कांग्रेससँग कुरा नमिलेपछि गोविन्दराज जोशी समूह मोडियो रास्वपातिर



काठमाडौँ । गोविन्दराज जोशी र उनका छोरा दीपकराजले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपां ) का सभापति रवि लामिछाने लगायतसँग भेटेर कुराकानी गरेका छन्।

पृथ्वी राजमार्गअन्तर्गत चितवनको चुम्लिङटारमा रहेको सिद्धार्थ होटलमा बिहीबार बिहान जोशी र लामिछानेलगायत बीच भेटवार्ता भएको हो।

जोशी समूहसँग उपनिर्वाचन लगायतका विषयमा कुराकानी गरिएको रास्वपाका एक केन्द्रीय सदस्यले सेतोपाटीलाई बताए।

‘उपनिर्वाचनमा उहाँहरूले तनहुँ(१ मा हाम्रा उम्मेदवार स्वर्णिम वाग्लेलाई निस्सर्त सहयोग गर्ने वचन दिनुभएको छ,’ रास्वपाका ती केन्द्रीय सदस्यले दाबी गरे।

जोशी नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री हुन्। उनलाई पार्टीले २०७५ मा अनुशासनको कारबाही गरे पनि गत चैत १९ गते कारबाही फुकुवा गरेको थियो। २०७४ मा तनहुँ १ मा कांग्रेसका तत्कालीन उम्मेदवार रामचन्द्र पौडेललाई हराउन भूमिका खेलेको जोशीमाथि आरोप थियो।

यो पनिस् कांग्रेस र जोशी समूहबीच मिलेन कुरा

यसपछि कांग्रेस सभापति शेरबहादुर देउवाले धुम्बाराहीमा बोलाएर गोविन्दराजका छोरा दीपकराजसँग पनि छलफल गर्दै मिलेर जानुपर्ने बताएका थिए।

तर गोविन्दराजले बुधबार विज्ञप्ति निकालेर यो चरणका लागि कांग्रेससँगको वार्ता समाप्त भएको घोषणा गरेका थिए।

कांग्रेसले स्पष्ट कुरा नगरी अल्मल्याउने र आलटाल गर्ने गरेको आरोप जोशीको थियो।

कांग्रेससँग कुरा नमिलेपछि जोशीले आज रास्वपाका सभापतिलगायत नेताहरूसँग भेटेका छन्।

वैशाख १० मा हुने उपनिर्वाचनमा तनहुँ १ मा रास्वपाले स्वर्णिम वाग्लेलाई उम्मेदवार बनाएको छ।

गत मंसिर ४ को चुनावमा गोविन्दराज आफैं तनहुँ १ मा उम्मेदवार बनेका थिए। उनी रामचन्द्र पौडेलसँग पराजित भएका थिए। जोशीले ६ हजार ८ सय ७८ मत ल्याएका थिए।

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहिबार  ३ : ५६ बजे