३१ भाद्र २०८१, सोमबार | Mon Sep 16 2024

पोर्चुगलको राष्ट्रिय क्रिकेट टिममा परे पोखराका सुमन



काठमाडौँ । पोर्चुगलको राष्ट्रिय क्रिकेट टिमले अहिले जिब्राल्टरसँग तीन खेलको टी २० अन्तर्राष्ट्रिय सिरिज खेलिरहेको छ। सोमबार भएको पहिलो खेलमा पोर्चुगलले १२४ रनको जित निकाल्यो।

सिरिजका लागि घोषणा गरिएको पोर्चुगलको टिममा एसियन र अफ्रिकी मूलका खेलाडीको बाहुल्यता छ। पोर्चुगलको टिममा नेपाली मूलका सुमन घिमिरे पनि छन्।

यही महिना मात्र पोर्चुगलको टिममा परेका घिमिरेले सोमबार भएको खेलमा भने मौका पाएनन्। २४ वर्षीय अलराउन्डर घिमिरे बेन्चमा सीमित बनेका थिए।

पोखराका घिमिरे नेपालको यू(१६ टिमको बन्द प्रशिक्षणमा परिसकेका खेलाडी हुन्। उनी २०७१ सालमा नेपालको यू(१६ टिमको बन्द प्रशिक्षणमा परेका थिए। स्कुले जीवनदेखि क्रिकेट खेल्न थालेका घिमिरे मलेसियामा आयोजना भएको एसिसी यू(१६ प्रिमियर कपका लागि नेपालको राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा परेका थिए। तर उनले टिममा अवसर भने पाएनन्।

त्यसपछि उनी नेपालको यू(१९ टिमको बन्द प्रशिक्षणमा पनि बोलाइए। तर टिममा परेनन्। गण्डकीबाट यू(१९ राष्ट्रिय प्रतियोगिता खेलेका उनले खेलमा आफ्नो भविष्य सुनिश्चित देखेनन्।

‘यू(१९ टिमको क्याम्पमा पनि परें। नेपालबाट खेल्ने इच्छा थियो। तर त्यो रहर पूरा हुन सकेन,’ घिमिरेले सेतोपाटीसँग भने, ‘उमेर बढ्दै गएपछि खेलबाट भन्दा अरू क्षेत्रबाट आफ्नो भविष्य बनाउनतर्फ सोचें। खेल छाडेर बाहिर देश जान्छु भन्ने लाग्यो। सुरूमा लाट्भिया विद्यार्थी भिसामा गएँ। चार वर्षअघि पोर्चुगल आएँ।’

सुरूमा उनलाई पोर्चुगलमा पनि क्रिकेट खेल्नछन् भन्ने थाहा थिएन। एकदिन उनले त्यहाँ क्रिकेट खेलिरहेका मधुकर थापालाई भेटे।

‘मधु दाइले स्थानीय टिमबाट खेल्न बोलाउनुभयो। खेल्दा जाँदा राम्रो प्रदर्शन गर्न सफल भएँ,’ उनी भन्छन्।

तीन वर्ष पोर्चुगलमा खेलेपछि मात्र राष्ट्रिय टिममा राख्न पाइने नियम छ। त्यही भएर घिमिरे यही महिना मात्र त्यहाँको राष्ट्रिय टिममा पर्न योग्य भए। त्यहाँको संघले पनि उनलाई राष्ट्रिय टिममा छनोट गर्‍यो।

उनी पोर्चुगलमा गोर्खा ११ बाट युरोपयन क्रिकेट सिरिजअन्तर्गत क्लबस्तरीय टी(२० र टी१० का लिगहरू खेल्छन्।

‘नेपालबाट एकपटक खेल्ने पहिलेदेखि नै सपना थियो। तर यहाँ आएर जिरोबाट सुरु गर्दै टिममा परेको छु, यसलाई निरन्तरता दिन चाहान्छु,’ उनी भन्छन्।

प्रकाशित मिति : २८ चैत्र २०७९, मंगलबार  ६ : ५२ बजे