३१ भाद्र २०८१, सोमबार | Mon Sep 16 2024

आइपीएलः अन्तिम ५ बलमा रिंकूको लगातार ५ छक्का, कोलकाताको नाटकीय जित



काठमाडौं । इन्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेटमा कोलकाता नाइट राइडर्सले गुजरात टाइटान्समाथि ३ विकेटको रोमाञ्चक जित निकालेको छ ।

गुजरातले दिएको २ सय ५ रनको लक्ष्य कोलकाताले अन्तिम बलमा ७ विकेट गुमाएर भेटायो । कोलकाताका लागि वेङ्कटेश अयरले ८३ र रिंकू सिंहले नटआउट ४८ रन बनाए । अन्तिम ओभरमा जितका लागि २९ रन चाहिएकोमा रिंकू सिंहले लगातार ५ छक्का प्रहार गर्दै टोलीलाई जिताए । गुजरातका राशिद खानले ह्याट्रिकसहित ३ विकेट लिए ।

यसअघि अहमदाबादमा टस जितेर ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय ४ रन बनाए । गुजरातका लागि विजय शङ्करले नटआउट ६३ र साई सुदर्शनले ५३ रन बनाए । कोलकाताका सुनिल नरायनले ३ विकेट लिए ।

यो जितसँगै कोलकाता ३ खेलमा ४ अङ्कसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । गुजरात उति नै खेलमा नेट रनरेटको आधारमा चौथो स्थानमा छ ।

प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार  ९ : २५ बजे