२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

अटेरी गरेर अपार्टमेन्ट बनाउन खोज्दा स्थानीय बासिन्दाको उठीबास



ललितपुर – ललितपुर कुपण्डोल हाइट बस्ने लरेन्जलाल श्रेष्ठ गएको शुक्रवार राति घरमै सुतिरहनु भएको थियो । एक्कासी घर हल्लिएर भुइँचालो आए जस्तो भयो । अनि परिवारसहित हतार हतार घर बाहिर निस्कनुभयो । पहिले त उहाँलाई के भएको भन्ने नै थाहा भएन । तर, पछि हेर्दा आफू बसेको घर नै भासिएको देख्नुभयो।

‘हामी राति काम गरेर थाकेर यसो पल्टिएका मात्र थियौँ । घर जोडले हल्लिए जस्तो लाग्यो । हतार हतार बाहिर आयौँ । बाहिर आएर हेर्दा त घर नै भासिइसकेछ’ भासिएको घर देखाउँदै श्रेष्ठले भन्नुभयो।

उहाँहरुले अफिसका लागि भनेर त्यो घर भाडामा लिएको तीन महिना भयो । भाडा महिनाको एक लाख रुपैयाँ छ । भाडामा लिएको तीन महिना भए पनि त्यहीँ बसेर काम थालेको भने १५ दिन मात्रै भएको छ।

अफिसमा राखिएका ड्रोन, ल्यापटप, क्यामरा तथा अरु सामान गरी झण्डै २५ लाख रुपैयाँको सामान भासिएको घरमा परेको उहाँले बताउनुभयो । अलादिन विज्ञापन एजेन्सीमा काम गर्ने यी २१ वर्षे तन्नेरीलाई सामानको भन्दा पनि अब आफ्ना ग्राहकलाई सेवा कसरी दिने र लिएको काम कसरी फत्ते गरेर उनीहरुलाई दिने भन्ने चिन्ता छ ।

‘पाँच वटा ल्यापटप, ड्रोन, क्यामरा तथा फोन सबै भित्रै पर्यो अब के गर्ने ? काम गर्नै पाइएन । अब ग्राहकलाई के भन्ने । हामीले त ग्राहक, काम, पैसा सबै गुमायौँ । अब कस्लाई के भन्ने ?’ उहाँको चिन्ता छ ।

यस्तै, चिन्तामा हुनुहुन्छ यसै ठाउँमा घर भएका रिकध्वज विष्ट । उहाँको चार आना तीन पैसा क्षेत्रफलमा बनेको साढे चार तले नयाँ घरको दुई तला भासिएको छ । बन्दै गरेको समिट अपार्टमेन्टका कारण घरमा क्षति पुग्न सक्ने भन्दै उहाँले निर्माण कार्य रोक्न करिब एक महिनाअघि नै ललितपुर महानगर तथा प्रहरीमा निवेदन दिनु भएको थियो । निर्माण कार्य रोक्नका लागि चौधरी ग्रुपलाई आग्रह गर्दा सहरी विकासले अनुमति दिइसकेका कारण निर्माण नरोकिने जानकारी दिने गरेको पनि विष्ट बताउनुहुन्छ । भर्खरै निर्माण सकिएर बस्नका लागि अन्तिम तयारी गरिरहेको आफ्नो घर अहिले बस्न नहुने गरी भासिएका कारण करोडौँ नोक्सानी भएको विष्ट बताउनुहुन्छ ।

तीन/चार दिन अगाडि जमिन खन्ने क्रममा त्यहाँ चिरा परेको देखिएपछि नै उहाँले त्यहाँ नखन्न निर्माण कम्पनीलाई आग्रह पनि गर्नु भएको थियो तर, त्यो कुरा निर्माण कम्पनीले सुनेन । उहाँ भन्नुहन्छ, ‘जमिन क्र्याक भएको तीन/चार दिनदेखि देखिएको थियो । त्यो क्रममा हामीले काम रोकाउन पनि खोजेका थियौँ तर, काम रोकिएन । त्यही कारणले भासिएर ठूलो दुर्घटना हुन पुग्यो ।’

अर्बपति उद्योगपति तथा सांसद विनोद चौधरीको सीजी ग्रुप तथा अर्का व्यापारी रविभक्त श्रेष्ठको नेपाल इन्टरप्राइजेज (एनई) ग्रुपले निर्माण गर्न लागेको अपार्टमेन्टको जग खन्ने क्रममा शनिवार बिहान दुई बजे त्यस क्षेत्रका घरहरु भासिएका हुन् । अपार्टमेन्टको जग खन्दा वरपरका ६ वटा घर भासिन पुगे भने दुई वटा घरमा पूर्णरुपमा क्षति पुगेको छ । सँगै रहेको ग्रीनवीच होटलमा पनि क्षति पुगेको छ । जमिनभन्दा झण्डै ३० फिट गहिरो खन्दा जमिन चिरा चिरा परेको छ भने सँगैका अन्य झण्डै पाँच/छ घरमा पनि क्षति पुगेको छ । क्षति पुगेका घरका बासिन्दा अहिले अन्यत्र बसाइँ सरेका छन् ।

कुनै पनि संरचना निर्माण गर्दा नक्सा पास गर्नुपर्ने कानुनी प्रावधान भए पनि निर्माणाधीन समिट अपार्टमेन्टको भने नक्सासमेत पास भएको थिएन । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले नक्सा पास नगरिकन काम थाल्नु गैरकानुनी भएकोले अब नक्सा पास नगरेसम्म निर्माण कार्य अघि बढाउन नपाउने बताउनुभयो । ‘हामीकहाँ नक्सा पासको कुनै निवेदन दिन आएको छैन । उनीहरुले नक्सा पास नगरेको हुनाले नक्सा पास नगरुन्जेलसम्म अहिलेलाई कुनै पनि निर्माण कार्य गर्न पाइँदैन’ उहाँले भन्नुभयो ।

मेयर महर्जनले सीजीले अहिले जग खन्ने काम मात्रै गरे पनि महानगरको स्वीकृति नलिइ गरेका कारण त्यो गैरकानुनी भएको पनि बताउनु भयो । उहाँ भन्नुहुन्छ, ‘उसले अनुमति लिएर गर्नुपर्थ्याे । नक्सा पासको विधि पुर्याएर गर्नुपर्नेमा विधि नपुर्याइ गरेको हुनाले सर्वथा उही भागिदार हुनुपर्छ ।’

निर्माणाधीन अपार्टमेन्टका कारण अहिले देखिएका समस्या समाधान हुने र अब थप समस्या आउन नदिने उहाँले बताउनुभयो । पीडित पक्ष र निर्माण कम्पनीका प्रतिनिधिबीच महानगरपालिकामा आइतवार भएको बैठकमा तत्कालका लागि पीडितहरुको बासस्थान, खानपिन र औषधि उपचारको व्यवस्थापनको लागि एक करोड रुपैयाँको कोष स्थापना गरिएको मेयर महर्जनले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले तत्कालको राहतका लागि कोषबाट रकम व्यवस्थापन हुन्छ । त्यसपछि उपमेयरको संयोजकत्वमा गठन भएको कमिटीको तर्फबाट अध्ययनपछि जुन निर्णय निस्कन्छ त्यसै अनुसार गर्ने गरी बैठक टुङ्गिएको छ ।  उपमेयरको संयोजकत्वमा सात सदस्यीय कमिटीमा महानगरका प्रमुख इञ्जिनियर सदस्य सचिव तथा पीडितका तर्फबाट तीन जना, दुई जना वडाध्यक्ष तथा एक जना निर्माण कम्पनीका प्रतिनिधि रहने पनि महानगरले जनाएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार  ८ : ५८ बजे