३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

महासंघमा ६४ मध्ये दुई पदमा निर्विरोध, १ सय १६ उम्मेदवारबीच प्रतिस्पर्धा



काठमाडौँ । उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि ६४ मध्ये दुई सदस्य मात्र निर्विरोध निर्वाचित भएका छन् । अन्य ६२ पदमा भने निर्वाचन हुने भएको छ । एक प्रदेश र द्विराष्ट्रिय सदस्य निर्विरोध भएका हुन्  । लुम्बिनी प्रदेश सदस्यमा जमशेर मियाँ र द्विराष्ट्रिय सदस्यका लागि नेपाल–भारत उद्योग वाणिज्य संघका प्रतिनिधि सुनील केसीको मात्र उम्मेदवारी परेपछि उनीहरू निर्विरोध भएका हुन् ।

सोमबार साँझ ५ बजेसम्म उम्मेदवारी फिर्ता गर्ने अन्तिम समय भए पनि आइतबार साँझसम्म कसैले पनि उम्मेदवारी फिर्ता लिएका छैनन् । उम्मेदवारमाथि दाबी विरोध गर्ने अन्तिम समयसम्म कुनैमा पनि दाबी विरोध पनि नपरेको मुख्य निर्वाचन अधिकृत लीलामणि पौडेलले जनाए । ‘अहिलेसम्म दुई सदस्यबाहेक अन्य पदमा कोही निर्विरोध भएको छैन,’ उनले भने ।
जिल्लारनगर उद्योग वाणिज्यसंघतर्फ १२१ जना, वस्तुगततर्फ १२३ र एसोसिएटतर्फ १७६२ जना मतदाता छन् । ‘द्विराष्ट्रिय एसोसिएट र संस्थापक सदस्य जिल्लानगरतर्फ गनिनेछ,’ उनले भने, ‘सबै गरेर मतदाताको संख्या अहिलेम्म २ हजार हाराहारी भए पनि यो संख्या घट्ने देखिन्छ, बिमा, बैंक तथा वित्तीय संस्था गाभिएका कारण संख्या घट्ने देखिएको हो ।’ नवीकरण गर्ने समय पनि सोमबार साँझ ५ बजेसम्म छ । नयाँ नेतृत्वका लागि ६२ पदमा ११६ जनाको उम्मेदवारी कायमै छ ।

वरिष्ठ उपाध्यक्ष पदका लागि ३, जिल्लारनगरतर्फका उपाध्यक्षका लागि ३, वस्तुगततर्फका उपाध्यक्षका लागि ३ र एसोसिएटतर्फका उपाध्यक्षका लागि २ जनाको उम्मेदवारी परेको छ । वरिष्ठ उपाध्यक्ष महासंघको विधानअनुसार स्वतः अध्यक्ष हुने भएकाले उक्त पदमा उमेशलाल श्रेष्ठ, अञ्जन श्रेष्ठ र रामचन्द्र संघईले प्रतिस्पर्धा गर्दै छन् ।

हाल वरिष्ठ उपाध्यक्ष रहेका चन्द्र ढकाल आगामी वार्षिक साधरणसभाबाट तीन वर्षका लागि अध्यक्ष बन्दै छन् । ढकालले वरिष्ठ उपाध्यक्ष एक पदका लागि तीन जनाको उम्मेदवारी परेपछि सर्वसम्मत गराउने प्रयास गरे पनि त्यो सफल हुन सकेको छैन । महासंघमा जिल्लारनगरतर्फ १८ सदस्यका लागि ३२, वस्तुगतर्फ १४ सदस्यका लागि २८ र एसोसिएटतर्फ १९ सदस्यका लागि २९ जनाको उम्मेदवारी परेको छ । प्रदेश सदस्यतर्फ कोशी प्रदेशमा १ सदस्यका लागि ३, मधेशमा १ सदस्यका लागि २, वाग्मतीमा १ सदस्यका लागि २ र गण्डकीमा १ सदस्यका लागि २ जनाको उम्मेदवारी परेको छ । कर्णाली प्रदेशमा १ सदस्यका लागि ३ र सुदूरपश्चिम प्रदेशमा १ सदस्यका लागि २ जनाको उम्मेदवारी परेको छ । संस्थापक समूहबाट १ सदस्यका लागि २ जनाको उम्मेदवारी परेको छ ।

महासंघको मतभार भने जिल्लारनगर उद्योग संघको ५०, वस्तुगतको २०, द्विराष्ट्रिय र एसोसिएटको १५र१५ प्रतिशत छ । सदस्यले चालु आर्थिक वर्ष ०७९र८० सम्मको महासंघको वार्षिक सदस्यता शुल्क, प्रतिनिधि शुल्क र प्रतिनिधिपत्र बुझाएपछि मात्रै महासंघले अन्तिम सदस्यको नामावली प्रकाशन गर्छ । महासंघको मतदान चैत २९ बिहान ८ देखि दिउँसो ४ बजेसम्म काठमाडौंको प्रज्ञा प्रतिष्ठान, कमलादीमा हुनेछ । ‘मनोनीत, ७ प्रदेशबाट निर्वाचित भइसकेका अध्यक्षलगायत केही सदस्यसहित कार्यसमिति भने ७७ सदस्यीय हुनेछ,’ मुख्य निर्वाचन अधिकृत पौडेलले भने ।

प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार  ८ : ५३ बजे