२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

मुख्य खबर

रक्सीले मत्त चालकबाट हाँकिन्छन् वाणगंगाका ईरेक्सा र अटो, जोखिममा यात्रु !



कपिलवस्तु । वाणगंगा नगरपालिका वडा नम्बर ४ झुँगामा शनिबार दिउँसो करिब साढे चार बजेतिर एउटा इरेक्साले बाटो छोड्यो । अर्थात् दुर्घटनामा पर्यो । इरेक्सा पीच छोडेर बाटोको छेउमा रहेका ढुँगामाथि चढ्यो ।

दुर्घटनामा परेको इरेक्सा ठडिएको पोलसंग ठोक्किन केही भित्ता मात्रै बाँकि थियो । नजिकै कुलो थियो । ढुंगाको कारण इरेक्सा पल्टिनबाट जोगियो । तर नराम्ररी ढुँगामा ठोक्कियो । पोलमा ठोक्किएको इरेक्सा कुलोमा खसेको भए त्यहाँ ठुलो क्षति हुन्थ्यो । किनकि एक जना यात्रु पनि थिए । चालक सामान्य घाइते थिए । उनको शरीरका बिभिन्न स्थानमा चोट लागेको थियो । उनी इरेक्सामै थिए भने घाइते यात्रु कुलोको डिलमा निन्याउरो मुद्रामा थिए । इरेक्सा एक्कासी दुर्घटनामा परेको देखेपछि त्यहाँ सर्वसाधारणको भीँड पनि भयो ।

दुर्घटना कसरी भएछ ? भनेर एकैछिनपछि सर्वसाधारण चालक नजिक पुग्दा ह्वास्स रक्सीको गन्ध आएको थियो । चालक दुर्घटनामा छु कि छैन पत्तोमा थिएनन् । उनी रक्सीले मातेका थिए ।

मातमा रहेका उनले सर्वसाधारणसंग कुनै कुरा गर्न सकेनन् । यता यात्रुले ठुलो दुर्घटनाबाट बचिएको र बाँचिएको बताउँदै थिए ।रक्सी सेवन गरेर इरेक्सा हाँकेका कारण घुम्तीमा दुर्घटना भएको सर्वसाधारणले पछि थाहा पाए । हाम्रो रोजगारी डटकम त्यहाँ पुग्दा स्थिति त्यस्तै थियो ।

यो एउटा प्रतिनिधि घटना मात्रै हो । वाणगंगामा यसरी मादक पदार्थ सेवन गरेर वातावरण मैत्री इरेक्सा र अटो चलाइने गरेको गुनासो यात्रुहरुले पटकपटक गर्दै आएका छन् । जसका कारण दिनप्रतिदिन दुर्घटना बढिरहेको छ भने यात्रुको ज्यान नै जोखिममा पर्ने गरेको छ । तीव्र गतिमा अटो र इरेक्सा चल्नु र कतिपय चालकले रक्सी सेवन गर्नु अहिलेको असुरक्षाको प्रमुख कारण भएको यात्रुहरुको भनाई छ ।यसरी लापरबाही ढंगले चल्ने अटोमाथि नियमन नियन्त्रण गर्ने काम कसको हो कसैलाई थाहा छैन ।

अधिकाँश अटो र इरेक्सा रकेट गतिमा कुद्छन् । सडकमा तिनको कुदाइ देख्दा यस्तो लाग्छ कि यहाँ कुनै अटो दौड प्रतियोगिता नै चलेको छ । अटोभरी यात्रु खाँदिएका देखिन्छन् । बाटो सिधा होओस् या घुम्ती चालकहरुलाई कुनै मतलब हुँदैन । जसले गर्दा पटकपटक दुर्घटना हुन्छ । यसरी कुदाउनेमा तिनै रक्सीले  मात्ने रहेको यात्रु बताउँछन् ।

वाणगंगा नगरपालिकाभित्र अहिले अढाइ सय बढी अटो चल्ने गर्दछन् । तीमध्ये समितिमा आवद्ध वातावरणमैत्री ईरेक्साको संख्या १ सय १० बढी छ भने अटो टेम्पोको संख्या पनि सोही हाराहारीमा छ । इरेक्साको नेतृत्व बोडगाउँका क्रषिराम पोख्रेलले गर्छन् भने अटो रिक्साको नेतृत्व ठाकुरापुरका गणेश पौडेलले गर्छन् । यो बाहेक समितिमा आवद्ध नरही आफूखुसी चल्ने अरु सय बढी अटो र टेम्पो रहेको उनीहरु बताउँछन् ।

झुँगामा दुर्घटना गराउने चालकको पहिचान भइसकेको र उसलाई सतर्क गराइसकिएको वाणगंगा ईरेक्सा समितिका अध्यक्ष क्रषिराम पोख्रेलले बताए । उनी समिति मातहतमा नआएको चालक भएको हुनाले कुनै क्षतिपुर्ति समितिले नदिने बताए ।

समितिको बदनाम र चालकको असुरक्षा हुने गरी सवारी चलाउने चालकलाई अब कडा कारबाही गर्ने उनले चेतावनी दिए । वाणगंगामा अटो र इरेक्सा चालकको लापरबाही रहेको वाणगंगा अटो रिक्सा समितिका अध्यक्ष गणेश पौडेलले स्विकार गरे ।

उनका अनुसार यसरी मापसे गरी तीव्र गतिमा चल्ने धेरै चालक समितिबाहिरकै रहेका छन् । समिति मातहतका कतिपय चालक त्यस्तै रहेको स्विकार गर्दै यिनलाई नियमन गर्न जरुरी रहेको पौडेलले स्विकार गरे ।

पोख्रेलले आफूहरुले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै सकेसम्म नियमनको नीति बनाएको दावी गरे । उनले भने ‘हामीेले सकरभर देखेका जतिलाई क्यूमा लगाउने गरेका छौँ । तर क्यूमा नरही आफूखुसी चल्ने ईरेक्सा र अटो कुनै दुर्घटनामा परे एक रुपैयाँ पनि सहयोग हुँदैन । मापसे गरेको थाहा पाएमा क्यूमै बस्न दिँदैनौँ । तर बाहिर भाग्ने, लाइनमा आउन नसक्ने चालकलाई केही गर्न सकिने रहेनछ । उनीहरु जुन समस्यामा परे पनि हामीले हेर्दैनौँ ।’

वाणगंगामा चल्ने अधिकांस अटो तथा इरेक्सामा होडबाजी चलेको सत्य भएको उनले बताए । उनी थप्छन् ‘यो त चालकले बुझ्नु पर्ने हो । त्यहाँ यात्रु हुन्छन् । उनका परिवार हुन्छन् । मैले कतिपटक बाटोमा अटो चलाउँदै रोक्ने गरेको छु । दौडाउने प्रतिस्पर्धा नै छ ।’

पछिल्लो घटनाले आफ्नो ध्यानाकर्षण रहेको भन्दै तुरुन्तै सबैलाई बोलाएर छलफल गराएर आवश्यक निर्देशन दिने पोख्रेलले बताए । त्यसपछि पनि रक्सी खाएको, तीव्र गतिमा अटो या इरेक्सा हाँकेको पाइए कडा कारबाही गछौँ । उनीहरुको लाइसेन्स खारेजीको लागि कदम चाल्छौँ, उनले भने ।

वाणगंगा नगरले अटो र इरेक्साको नियमन नीति बनाए पनि त्यो कागजमै सिमिति छ । नीति बनाएदेखि एकपटक पनि यिनको अवलोकन र अनुगमनमा नगरको सक्रियता देखिन्न ।

यता इरेक्सा र अटो टेम्पोका चालकले लाइसेन्स नलिइकनै चलाउने गरेको गुनासो पनि आउने गरेको छ । अटो र इरेक्सा सवारी वर्गिकरणको ‘सि’ र ‘सि वान’ वर्गमा पर्छन् । यो भनेको ती सार्वजनिक सवारीसरह पर्दछन् । यसका चालकले पनि लाइसेन्स लिनैपर्ने हुन्छ । लाइसेन्स नलिइकनै हाँक्नेलाई कारबाही गर्ने अधिकार प्रहरीसंग छ ।

इलाका प्रहरी कार्यालय पिपराले अब अटो र इरेक्सा चालकमाथि कडाई जरुरी रहेको बतायो । अब अटोहरुमा पनि मापसे चेकिङ तीव्र पारिने उक्त प्रहर िश्रोत बताउँछ ।
प्रहरी नीरिक्षक होमनाथ रेग्मी यो समस्या नेपालकै रहेको बताउँछन् । इलाका प्रहरी कार्यालय ठाडा अर्घाखाँचीमा कार्यरत रहेका उनले आफ्नो इलाकामा नगन्य मात्रामा अटो चल्ने गरेको बताउँदै यस्ता गुनासा आफू कहाँ पनि आउने गरेको प्रहरी नीरिक्षक रेग्मीले हाम्रो रोजगारीलाई बताए ।

सर्वसाधारणको गुनासोको आधारमा त्यस्तो बदमासी गरेको पाइए कारबाही गर्नुपर्ने उनी बताउँछन् । उनी भन्छन् अटो र इरेक्सा पनि सार्वजनिक यातायता अन्तर्गत नै पर्दछन् । यसका चालकले अनिवार्य रुपमा लाइसेन्स लिनै पर्छ । यिनमा पनि अरु गाडीमा लागु हुने नियम लागु हुन्छ । मापसे जाँच गर्ने अधिकार प्रहरीसंग छ । अब हरेक ठाउँमा प्रहरीले अटोको जयादती रोक्न मापसे जाँच गर्नु पर्ने आवश्यक छ । उनीहरुको गतिमा पनि ब्रेक लगाउनु जरुरी देखिन्छ ।

ट्राफिक प्रहरीका अनुसार कुनै पनि सवारीले नियम मिचेर चलाएको पाइए पहिलोपटकमा ५००, दोस्रोमा पटक १००० र तेस्रो पटकमा १५०० रुपैयाँ जरिवाना लिइन्छ । त्यसपछि पनि सवारी नियमविपरित चलेमा लाइसेन्स नै जफत गरिने व्यवस्था छ । अटो तथा इरेक्सालाई पनि यही नियम लागु हुने प्रहरी बताउँछ ।

 

प्रकाशित मिति : २६ चैत्र २०७९, आइतबार  ९ : ३७ बजे