३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

स्थानीय तहको हालत्

वाणगंगा नगरको विकास, चैते भेल पनि नथेग्ने निर्माण !

अर्याल नेतृत्वमा केहि हुन्छ कि ? भनेर जिताएका मतदाता अहिले निरास छन्



कपिलवस्तु। पहिलो स्थानीय तहको कार्याकालमा कार्यसम्पादन तथा शुशासनमा मुलुकमै एक नम्बरमा दर्ज भएको कपिलवस्तुको वाणगंगा नगरपालिकाको विकास, यहाँका जनप्रतिनिधिले गर्ने क्रियाकलाप र अपरिपक्वताले बेलाबेलामा सर्वसाधारणलाई झस्काउँछ ।
कहिले काठेपुलहरुको बेहाल, कहिले ६ महिनामै उप्कने पीच, कहिले छाडा चौपायको व्यवस्थापनमा असफलता, कहिले ल्याण्डफिल्ड साइटको अभाव त कहिले नदीजन्य पदार्थको चरम उत्खननका समाचार र दृश्यले नगरबासी झस्किरहन्छन् ।

यस्ता समाचार पछि नगरको सिंगो टोली तरङगित हुन्छ अनि केही गरेजस्तो गर्न जिर्देशन र वाचा दिन्छन् । यस्तै गर्दागर्दै पहिलो पाँच बर्ष सकियो भने अहिलेको लक्षण त्यो भन्दा पनि खराब छ । नगरले बिभिन्न शीर्षकमा पैसा दिएपछि कलम बाँधेका मिडियाले पनि के बोलून् ? के लेखून् ? नगरका विकृतिका कुनै खबर लेख्दैनन् । सबै विषय थामथुम हुन्छन् । सामसुम हुन्छन् ।

यही शुन्यताको विचमा फेरि नगरलाई गिज्याउने खालको अर्को तस्विर सार्वजनिक भएको छ । त्यो तस्विर हो वडा नम्बर ५ र ७ को सिमानामा बन्दै गरेको कजवे र डाइभर्सनको हालत । चैत्र महिनामा आएको भेलले यी संरचनालाई क्षति पुर्याएको छ । जसका कारण नगरको तीव्र आलोचना सुरु भएको छ ।

यही विषयलाई त्यहाँको स्थानीय मिडिया ईसाझा कुराले शनिबार तस्विरमार्फत् उजागर गर्यो । उसले आफ्नो फेसबुक पेजमा लेखेको छ ‘कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ७ र ५ लाई प्रत्येक्ष जोड्ने सडक हो यो । बनगाइ–कोपवा–जहदी हुँदै तौलिहवा पुग्ने यो सडक खण्डको बाणगंगा नदीमा बनाइएको वैकल्पिक सडक बिग्रिएको महिनादिन हुन लाग्यो अझै बनेको छैन । अर्कोतिर कमजोर गुणस्तरीयतामा बनेको कजवे समेत भत्किएको लामो समय बितिसक्दा निर्माण हुन सकेको छैन । नागरिकले दुख पाइरहेका छन् ।’

स्थानीय वाणगंगा रेडियोमा काम गर्ने पत्रकार सिर्जना आचार्यले वडा नम्बर ५ को खुटेनीबाट घेरवा बनगाई निस्कने डाइभर्सनमा राखिएका बग्न लागेका ह्युमपाइपको दुर्दशाको तस्विर शनिबारै सार्वजनिक गरिन् । उनले आफ्नो फेसबुकमा लेखेकी छन् ‘हाम्रा नेता ज्युहरु कानमा तेल हालेर बस्नु भएको छ, चुनावको बेलामा मात्र हो पुलको याद आउने उहाँहरुलाई नत्र अगी पछि जनताले जति दुःख पाए पनि मतलब हुन्न ।’

सिर्जनाको यो पोष्टमा थुप्रै प्रतिक्रिया आएका छन् । उनले भनेजस्तै चुनाव जित्न नारा बनाएका नेताले अहिले त्यहाँ फर्केर हेर्दैनन् । यी तस्विरपछि अहिले नगरका जनप्रतिनिधिको चर्को आलोचना भएको छ । तस्विरमा भेलले ह्युम पाइप बगाएको देखिन्छ भने वरिपरिको वालुवा पनि छेँडेर हिँड्न नहुने अवस्थाको देखिन्छ ।

हुन पनि चैते भेलले क्षतविक्षत गराउने यो कस्तो खालको विकास निर्माण ? ती तस्विरले सबैलाई यही प्रश्न गर्न बाध्य गराउँछ ।

वडा नम्बर ५ र ७ लाई जोड्ने डाइभर्सन अनि तौलिहवादेखि वनगाई, भलवाड, डोहोटे पुग्ने सडक जोड्ने त्यो कजवे करिब करिब डेढ सय मिटर दुरीमा छन् । तर यी दुवैको अवस्था नाजुक छ ।

यस विषयमा वडा नम्बर ५ का वडा अध्यक्ष दुनिका प्रसाद भुसालले डाइभर्सन बगाएको स्विकारे । उनी भन्छन् ‘कोपवाबाट घेरुवा बनगाई जोड्ने पाइपास अर्थात् डाइभर्सनमा स्थानीयको लगानीमा अहिले २ लाख ५० हजारको ह्युमपाइप राखिएको छ । त्यो पनि चैते भेलले बगायो । अस्ति पनि भेल आयो । बनाउने तयारी थियो फेरि पानी पर्यो । बगायो ।’

नगरको अघिल्लो नेतृत्वको कार्यकालमा कुनै काम नहुँदा यस्तो समस्या आएको उनको आरोप छ ।

पुल आवश्यक भएको स्थानमा ह्युमम पाइप राखिनु हात्तीको मुखमा जिराजस्तो भएको उनले बताए । ‘समग्र बाणगंगा नदीको बहावलाई सानो बनाएर ह्युमपाइप राखेर काम चलाइएको छ । यो दीर्घकालिन समाधान होइन । यसलाई मैले प्राथमिकतामा राखेको छु, उनले भने ।
यस स्थानमा नगर नेतृत्व, प्रदेश र संघकै ध्यान नभएको भन्दै पुल विभागको डिजीसंग आफूले कुरा गरेको उनले सुनाए । डिजिीले पनि यो स्थानबारे आफू जानकार रहेको भन्दै कजवे आवश्यक भएको बताएको’ उनले हाम्रो रोजगारीसंग उदृधत गरे ।

तौलिहवाबाट आएको बाटो र कोपवा खुटेनी जोड्ने दुवै स्थानमा पक्की पुलको आवशयकता रहेको उनले हाम्रो रोजगारीसंग बताए । जहदी, तौलिहवा, भलवाड, डोहोटे जोड्ने सडकमापुल बनेमा लाखौँ जनताले लाभ लिने उनको भनाई छ ।

यी त सामान्य उदाहरण मात्रै हुन् । बर्षाको समयमा वाणगंगाका धेरै क्षेत्र डुवानमा पर्ने गरेका छन् । अन्य विकास निर्माणको हालत पनि निकै नाजुक रहेको देख्न सकिन्छ । नगरले जहाँ–जहाँ नयाँ पक्की सडक बनाएको छ ती सबैका पीच उप्किएर खाल्डैखाल्डा भई दुर्घटना समेत बढेको बिभिन्न वडाका सर्वसाधारण बताउँछन् ।

महत्वपूर्ण काममा ध्यान नदिने भत्ता र औपचारिक कार्यक्रमको उद्घाटनमा ब्यस्त हुने नगरको नेतृत्वका कारण सुगम पालिका पछि परेको सरोकारवाला बताउँछन् ।

उनीहरु भन्छन् ‘जुन गर्नुपर्ने काम हो त्यसमा मेयर, उपमेयर र वडाअध्यक्षहरुको ध्यान छैन । उनीहरु भत्तै मिटिङमा पुग्न, कार्यक्रम उद्घाटन र शिल्यान्यासमा व्यस्त छन् । जनताको आधारभूत कुराहरु के हुन् ? नगरको अपरिहार्यता के हो ? तिनमा मतलब छैन ।’

यहाँका बुद्धिजिवीहरु नगरपालिकाको नेतृत्वमा कुनै भिजन नभएको आरोप लगाउँछन् । यति बर्षमा यो नगरलाई यस्तो विकास गछौँ भन्ने कुराको अल्पकालिन र दीर्घकालिन गुरुयोजना नभएको कारण नगर पछि परेको उनीहरुको बुझाई छ । काम गर्ने इच्छाशक्ति भए अझै पनि समय रहेको भन्दै सच्चिन उनीहरुले नगर नेतृत्वलाई आग्रह गरका छन् ।

नगरपालिकाका मेयरदेखि वडाध्यक्षहरु सबै भ्रष्ट रहेको आरोप जनइतरमा छ ।’२०७४ सालमा आएका जनप्रतिनिधिभन्दा २०७९ वैशाखको चुनावबाट आएका जनप्रतिनिधिहरु असक्षम र भिजनहिन देखिए । उनीहरुको ध्यान दुई रुपैयाँ कमिसन कहाँबाट आउँछ भन्नेमा छ । किन नगरको विकास गरुन् ?’ उनीहरु भन्छन् ।

चक्रपाणी अर्याल नेतृत्वमा नगरविकासमा केही हुन्छ कि भनेर जिताएका मतदाता उनको गतिविधिका कारण अहिले निकै निरास भएको सरोकारवाला बताउँछन् ।

प्रकाशित मिति : १८ चैत्र २०७९, शनिबार  ५ : ५७ बजे