२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

आजदेखि एसईईः ५ लाख विद्यार्थी सहभागी हुँदै, तस्विर लिन निशेध



काठमाडौँ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा ९एसईई० आज सुरु हुँदै छ। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार परीक्षा अहिले बिहान ८ बजे देशभर एकैसाथ सुरु हुनेछ।

आज पहिलो दिन शुक्रबार अनिवार्य अंग्रेजी र सोही दिन वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा, साहित्य र अनिवार्य अंग्रेजीको परीक्षा हुने बोर्डका अध्यक्ष शर्माले जानकारी दिएका छन्।

चैत २९ गतेसम्म सञ्चालन हुने एसईई बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ।

परीक्षाको पहिलो दिन आज ९चैत १७ गते० अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने र सोही दिन वेदविद्याश्रम तर्फ अनिवार्य संस्कृत भाषा, साहित्य र अनिवार्य अंग्रेजीको परीक्षा हुने बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए।

त्यसैगरी चैत १९ गते आइतबार अनिवार्य गणित, चैत २० गते सोमबार अनिवार्य नेपाली र गैर नेपाली विद्यार्थीका लागि अग्रेजीको परीक्षा हुनेछ। त्यसैगरी चैत २२ गते बुधबार अनिवार्य विज्ञान र वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत व्याकरण तथा अनुवादको परीक्षा हुने भएको छ। चैत २३ गते बिहिबार अनिवार्य सामाजिक अध्ययन तथा प्राविधिकतर्फ फार्म म्यानेजमेन्ट एन्ड माकेर्टिङ, इन्जिनियरिङ ड्रइङ्, कम्प्युटर रिपियरिङ र मेन्टिनेन्स तथा बेसिक म्युजिकको परीक्षा हुने भएको छ।

यसैगरी चैत २४ गते शुक्रबार अनिवार्य स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा, वेदविद्याश्रम तर्फ कर्मकाण्ड, फलित ज्योतिष, संस्कृततर्फ अनिवार्य संस्कृत भाषा, प्राविधिकधारतर्फ जलीयकृषि तथा मत्स्यपालन, इलेक्ट्रिकल म्यानेजमेन्ट एन्ड इन्स्टल्मेन्ट, कम्प्युटर नेटवर्किङ, इन्जिनियरिङ सर्भेइङ र म्युजिक अफ नेपालको परीक्षा हुनेछ।

यस्तै चैत २५ गते शनिबार साधारण तथा संस्कृततर्फ ऐच्छिक प्रथमपत्रका सबै विषयहरु, वेदविद्याश्रम तर्फ वेद तथा नीति शास्त्र र प्राविधिकतर्फ ऐच्छिक गणितको परीक्षा हुनेछ। चैत २६ गते आइतबार साधारण तथा संस्कृततर्फ ऐच्छिक द्वितीयपत्रका विषयहरु, वेदविद्याश्रमतर्फ ऐच्छिक द्वितियपत्रका सबै विषयहरु, प्राविधिक धारतर्फ भेजिटेवल एण्ड मेडिसिनल प्लाण्ट प्रोडक्सन, डेरी एन्ड डेरी प्रडक्सन, युटिलाइजेसन अफ इलेक्ट्रिक इनर्जी, डाटावेस म्यानेजमेन्ट सिस्टम, बिल्डिङ कन्स्ट्रक्सन, म्युजिक टेक्नोलोजीको परीक्षा हुनेछ।

चैत २७ गते सोमबार प्राविधिक धारतर्फ क्रप प्रोडक्सन, स्मल रुमेन्ट प्रोडक्सन एन्ड म्यानेजमेन्ट, इलोक्ट्रिोनिक्स डिभाइस एन्ड सर्किट, वाटर रिसोर्सेस इन्जिनियरिङ र इन्स्ट्रयुमेन्ट किबोर्डको परीक्षा हुनेछ। चैत २८ गते मंगलबार प्राविधिक धारतर्फ इन्ड्रस्टिएल इन्टोमोलोगी एन्ड मसरुम, एनिमल हेल्थ, इलेक्ट्रिकल मेसिन, माइक्रो प्रोसेस, हाइवे इन्जिनियरिङ, म्युजिक बिजनेस एन्ड प्रोग्राम म्यानेजमेन्टको परीक्षा हुनेछ।

परीक्षाको अन्तिम दिन चैत २९ गते बुधबार प्राविधिकतर्फनै फ्लोरिकल्चर एन्ड नर्सरी म्यानेजमेन्ट, भेटेरनरी ल्याब्रोटरी टेक्निक, इन्ड्रस्टिएल इन्स्टलेसन एन्ड मेन्टिनेन्स, अब्जेक्ट ओरेन्टेड प्रोग्रामिङ, इस्टिमेटिङ कस्टिङ् एन्ड सुपरभिजन र ऐच्छिक विषयको गायन, संगीत, वाद्यवादन र नृत्यको परीक्षा हुने भएको छ। समय अगाडि इमेलमार्फत पठाउने भएको छ।

करिब पाँच लाख परीक्षार्थी
एसईई परीक्षाका सहभागिता जनाउनका लागि यस वर्षका लागि परीक्षामा सहभागी हुन २०७८ मा कक्षा नौमा रजिस्ट्रेसन भर्ने विद्यार्थी पाँच लाख १६ हजार ५९१ जना रहे पनि कक्षा १० सम्म आइपुग्दा भने परीक्षाका लागि आवदेन दिनेमा कूल चार लाख ८४ हजार २२७ जनाले फारम भरेका थिए। एसईईका परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठका अनुसार कक्षा ९ बाट १० मा आउँदा ३२ हजार ३६४ विद्यार्थी घटेका छन्।

परीक्षामा सबैभन्दा धेरै बागमती प्रदेशमा एक लाख छ हजार नौ सय ५९ विद्यार्थी र सबैभन्दा कम कर्णाली प्रदेशमा ४१ हजार तीन सय २९ परीक्षार्थी सहभागी हुँदै छन्। प्राविधिक धारतर्फ करिब १५ हजार विद्यार्थी परीक्षामा सहभागी हुनेछन्। परीक्षामा संस्कृत विषय पढाइ हुने ६५ विद्यालयका दुई हजार नौ सय ८२ विद्यार्थी र ५० जना दृष्टिविहीन परीक्षामा सहभागी हुँदै छन्।

यस वर्ष सात हजार दुई सय सामुदायिक र चार हजार पाँच सय ६४ संस्थागत गरी ११ हजार आठ सय २९ विद्यालय एसईईमा सहभागी हुँदै छन्। परीक्षाका लागि देशका ७७ जिल्लामा दुई हजार ३६ परीक्षा केन्द्र र जापानमा एक गरी कूल दुई हजार ३७ वटा परीक्षा केन्द्र निर्धारण गरिएको उनले जानकारी दिए।

त्यस्तै वागमती प्रदेशमा सबैभन्दा बढी ४३४ परीक्षा केन्द्र र कर्णाली प्रदेशमा सबैभन्दा कम १७९ परीक्षा केन्द्र कायम गरिएको छ। कोशी प्रदेशमा ३७८, मधेस प्रदेशमा २७९, गण्डकी प्रदेशमा २२३, लुम्बिनी प्रदेशमा ३३४ र सुदूरपश्चिम प्रदेशमा २०९ परीक्षा केन्द्र निर्धारण गरिएको छ। एसईईमा अघिल्लो वर्ष देशभरबाट पाँच लाख १८ हजार १८५ विद्यार्थीले आवेदन दिएपनि परीक्षामा भने चार लाख ९५ हजार ६४८ जना परीक्षामा सहभागी भएका थिए।

तस्बिर लिन निषेध
परीक्षा नियन्त्रक श्रेष्ठले विद्यार्थीलाई कुनै डरत्रास नलिई ढुक्क भएर परीक्षा दिन आग्रह गर्नु भएको छ। परीक्षा केन्द्रमा परीक्षामा लैजान नहुने कुनै पनि बस्तु लगेको पाइएमा र जबरजस्ती गर्न खोजेमा वा केन्द्रमा खटिएका कर्मचारीबाट कुने गलत गतिविधि भएका प्रचलित कानुन अनुसार कारबाही हुने बताए।

परीक्षा केन्द्रमा अत्यन्तै सीमित, आवश्यक र तोकिएका व्यक्ति परीक्षा समितिको अनुमति लिएर मात्रै अनुगमन गर्न पाइने भएको छ। परीक्षा हलभित्र कुनै पनि तस्बिर लिन नपाइने भएको छ। यस पटक सञ्चारकर्मीलाई पनि परीक्षा केन्द्रका बाहिरको गतिविधिहरुको तस्बिर लिन पाइने तर परीक्षा सुरु भएपछि परीक्षा हलभित्र गएर तस्बिर लिन नपाइने व्यवस्था गरेको परीक्षा नियन्त्रक श्रेष्ठले जानकारी दिए।

उनले भने, ‘अनुगमन तथा तस्बिर लिने नाममा परीक्षा हलभित्र मानिस पस्दा विद्यार्थीको मनोबल गिर्छ, परीक्षार्थीलाई अवरोध हुने गरी तस्बिर लिँदा, विद्यार्थी टोलाउने, को आयो भनेर हेर्दा लेखिरहेको उत्तर पनि बिग्रने सम्भवना र गुनासा आएकाले यसवर्ष परीक्षा हलभित्र तस्बिर दिन नपाइने व्यबस्था गरेका छौँ।’

विद्यार्थीका लागि एक मिनेट, एक सकेण्डको पनि महत्त्व हुने भएकाले परीक्षा हलभित्र तोकिएको व्यक्ति र परीक्षा समिति तथा सम्बिन्धत निकायको व्यक्ति बाहेक पसेर अन्यलाई अनुगमन तथा तस्विर लिने नाममा जथाभावी परीक्षा हलमा नपठाइने भएको हो।

७८ हजार जनशक्ति
एसईई परीक्षाका लागि देशभरका परीक्षा केन्द्रमा ७८ हजार जनशक्ति परिचालन हुने भएका छन्। प्रत्येक परीक्षा केन्द्रमा परीक्षा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, परीक्षा सहायक, सुरक्षाकर्मी, कर्मचारी, सहयोगी गरी करिब ७८ हजार जनशक्ति परिचालन हुने नियन्त्रक श्रेष्ठले जानकारी दिएका छन्।

परीक्षाका लागि आवश्यक प्रश्नपत्र र उत्तर पुस्तिका जनक शिक्षा सामग्री केन्द्रमा छपाइ सकेर जिल्ला जिल्लामा पुर्‍याइसकिएको छ। यस वर्षको परीक्षामा ५० लाख सेट प्रश्नपत्र छपाइ गरिएको छ। राष्ट्रिय परीक्षा बोर्डले प्रदेशगत रूपमा फरक–फरक सेट प्रश्नपत्र छपाइ गरी सोहीअनुसार ढुवानी गरिएको हो। विद्यार्थीको अनुपातमा करिब १० प्रतिशत बढी प्रश्नपत्र छपाइ भएको जनक शिक्षाले जनाएको छ।

जापानमा पनि परीक्षा केन्द्र
बोर्डले यसवर्ष जापानमा पनि एसईई परीक्षा केन्द्र कायम गरेको छ। नेपालबाट रोजगारीका सिलसिलामा जापान पुगेका नेपालीका १४ जना सन्तानले जापानबाटै परीक्षा दिने भएका हुन्। जापान सरकारको अनुमतिमा नेपाली पाठ्यक्रममा अध्यापन हुने टोकियोको एक शैक्षिक संस्थाबाट जापानमा रहेका नेपाली एसईई परीक्षामा सहभागी हुने परीक्षा नियन्त्रण कार्यालयले जानकारी दिएको हो।

त्यसका लागि बोर्डले जापानमा एक परीक्षा केन्द्र निर्धारण गरेको छ। जापानमा रहेका परीक्षार्थीका लागि बोर्डले आवश्यक उत्तरपुस्तिका जापान पठाइसकेको र प्रश्नपत्र भने परीक्षा सुरु हुनु केही समय अगाडि इमेलमार्फत पठाउने भएको छ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  ७ : १३ बजे