काठमाडौँ । वित्तीय संकट झेलिरहेको स्विस बैंक क्रेडिट स्विसलाई स्विट्जरल्याण्डकै अर्को बलियो मल्टिनेसनल इन्भेष्टमेन्ट बैंक तथा वित्तीय सेवा कम्पनी यूबिएस ग्रुपले किन्ने भएको छ।
समस्यामा परेको क्रेडिट स्विसलाई करिब ३.२५ अर्ब डलरमा किन्ने सम्झौता विश्व बैंकिङ सिस्टममा देखिएको समस्यालाई प्रभावकारी रुपमा समाधान गर्ने प्रयासकै एक पाटो भएको नियामकहरुले बताएका छन्।
क्रेडिट स्विस विश्वका महत्वपूर्ण ३० वित्तीय संस्थाहरुभित्र पर्दछ। त्यसैले पनि अधिकारीहरु यसको वित्तीय पतनका कारण विश्व बैंकिङ सिस्टममा नै गडबडी आउने त्रासमा थिए।
यही त्रासलाई अन्त्य गर्नका लागि यो डिल भएको स्विट्जरल्याण्डका राष्ट्रपति अलाइन बेरसेतले बताएका छन्। डिलबारे घोषणा गर्दै उनले भने( ‘यो सम्झौता अन्तराष्ट्रिय वित्तीय क्षेत्रलाई स्थिर बनाउने एक उत्कृष्ट कदम हो। क्रेडिट स्विसको अनियन्त्रित पतनको संभावनाले देशको मात्र होइन अन्तराष्ट्रिय वित्तीय क्षेत्रलाई नै अकल्पनिय परिस्थित तर्फ लैजाने खतरा थियो।’
स्विट्जरल्याण्डको कार्यकारीअन्तर्गतकै राष्ट्रपतिसहितको सात सदस्यीय काउन्सिलले यस संकटकालीन परिस्थितीलाई समाधानका लागि मर्जरतर्फ लैजान सेयरधनीको स्वीकृति लिने प्रक्रियामै नगई स्वीकृति दिने प्रस्ताव पारित गरेको हो।
बैंकका अध्यक्ष एक्सल लेहम्यानले यसलाई ‘क्लियर टर्निङ पोइन्ट’ भनेका छन्।
‘यो ऐतिहासिक हो। परिस्थिती दुखद पनि हो। क्रेडिट स्विस, स्विट्जरल्याण्ड तथा विश्व वित्तीय बजारका लागि धेरै नै चुनौतीपूर्ण पनि’( उनले भने।
उनले अबको लक्ष्य बैंकका ५० हजार कर्मचारीको उचित व्यवस्थापन र भविष्यका लागि हुने पनि बताएका छन्। बैंकका ५० हजार कर्मचारीमध्ये १७ हजार कर्मचारी स्विट्जरल्याण्डमा कार्यरत छन्।
क्रेडिट स्विसको यो डिललाई यूरोपियन बैंकिङ उद्योगमै सन् २००८ यताकै विशेष परिस्थिति भएको थर्ड ब्रिजका विश्लेषक म्याक्स जर्जियोले बताए। उनका अनुसार यस्ता घटनाले यूरोपेली बैकिङ प्रणालीमा मात्र नभई सम्पत्ति व्यवस्थापन उद्योगकै लागि वैकल्पिक मार्ग सिर्जना गर्न सक्छ।
युबिएका अध्यक्ष कोल्म केल्लहेरले यस घटनालाई अवसरका रुपमा लिएको बताएका छन्। उनले डिललाई क्रेडिट स्विस बैंकको प्रतिष्ठाको सम्मान तथा आफ्नो संस्थाको जोखिम संरक्षणको संस्कारका रुपमा व्याख्या गरेका छन्।
संयुक्त रुपमा यो समूहले अब ५ ट्रिलियन डलरभन्दामाथिको लगानी तथा सम्पत्तिको संरक्षण र व्यवस्थापन गर्ने उनको भनाई छ।
स्विट्जरल्याण्डका वित्त मन्त्री करिन केलेर सटरले एक समय स्विट्जरल्याण्डकै ‘मोडल बैंक’का रुपमा रहेको यो बैंकको हालको अवस्थाप्रति काउन्सिलले खेद व्यक्त गर्दै यो निर्णय गरेको बताइन्।
क्रेडिट स्विस बैकलाई विश्वकै महत्वपूर्ण बैंकमध्ये एक मानिन्छ। यसकारणपनि यसको फेलियरले वित्तीय प्रणालीमा नराम्रो उछाल आउन सक्ने परिस्थितीलाई हेरेरै यो निर्णय गरिएको अधिकांश विश्लेषकहरुको भनाई छ।
बैंकले लगानीकर्तालाईसँग थप रकमको माग गर्दै आगामी दिनमा आउने समस्थाहरुको समाधानको लागि नयाँ रणनीति लिने बताउँदै आएको छ। संकट र डिलका खबरहरु सार्वजनिक हुँदै गर्दा बितेको एक साता बैंकका लागि निकै उतारचढावपूर्ण रह्यो। बैंकको शेयर मूल्य घटेर रेकर्ड नै राख्यो। गत शुक्रबार शेयर मूल्य ८ प्रतिशतले घटेको थियो। बैंकले सन् २०२२ को अन्त्यसम्मको वित्तीय प्रतिवेदन सार्वजनिक गर्ने क्रममा आफ्नो ‘आन्तरिक प्रणालीभित्र कमजोरी’हरु पहिचान भएको सार्वजनिक गरेसँगै बैंक वित्तीय पतनको बाटोमा जानसक्ने त्रास फैलिएको थियो।
डिलपछि स्विट्जरल्याण्डका ठूला र चर्चित दुई स्विस बैंकको संयोजनलाई एकल राष्ट्रिय च्याम्पियनका रुपमा स्विट्जरल्याण्डको प्रतिष्ठालाई विश्व वित्तीय क्षेत्रको केन्द्रका रुपमा विकास गर्न सक्ने विश्वेषण समेत भैरहेको छ।
यूरोपियन केन्द्रिय बैंककी अध्यक्ष क्रिस्टिन लागार्डले यस घटनालाई ‘स्विफ्ट एक्सन’का रुपमा विश्लेषण गरिन्। यसले यस परिस्थितीलाई बजारको अवस्थालाई मजबुत बनाउने र वित्तीय स्थिरता दिने औजारका रुपमा बताइन्।
उनका अनुसार हाल बैकहरु सन् २००८ को भन्दा विल्कुलै फरक परिस्थितीमा छन् किनभने यतिबेला सरकारको नियामक निकाय पहिलेभन्दा निकै कडा रुपमा उपस्थित छ।
युबिएसले क्रेडिट स्विसको आकार केही महिना वा वर्षमा घटाउँदै लैजाने योजना बनाएको बताएको छ। स्विस सरकारले पनि यो डिलसँगै १०० अर्ब फ्र्यांक अनुदान उपलब्ध गराउने भएको छ।
हालसम्म बैंकका लगानीकर्ता तथा बैंकिङ विश्लेषकहरुले यो डिललाई सहज रुपमा लिइरहेका छन्। तर ओपिमास एलएलसी फर्मका सिइओ अक्टाभियो मारेन्जीले भने यस डिलले देशको बृहद प्रतिष्ठा तथा वित्तीय ब्यवस्थापनमाथि आँच आएको प्रतिक्रिया दिएका छन्।
अमेरिकामा देखिएको बैंकहरुको वित्तीय संकटसँगै विश्वभरका केन्द्रीय बैंकहरुले संयोजनकारी भूमिकामा आफ्नो वित्तीय कदम चाल्न अग्रसर देखिएका छन्। आगामी साता विश्वका धेरै केन्द्रीय बैकहरुले वित्तीय स्थिरता कायम गर्न संयोजन गर्ने बताइएको छ।
यस अन्तर्गत बैंकहरुले अमेरिकी डलर चाहने बैंकहरुका लागि आवश्यक पर्दा दैनिक रुपमा डलर उपलब्ध गराउनेसम्मका सुविधा छन्। यस्तो किसिमको सुविधा सन् २००८ को वित्तीय संकटका बेला बृहद रुपमा प्रचलनमा आएको थियो।