३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

यसरी बन्ने छ कपिलवस्तुमा संसारकै अग्लो बुद्ध मुर्ति, ३० अरब लाग्ने अनुमान



कपिलवस्तु । कपिलवस्तु नगरपालिका क्षेत्र भित्र विश्वकै सबैभन्दा अग्लो बुद्धको प्रतिमा निर्माणका लागि प्रकृया अघि बढाइएको समाचारले अहिले निकै चर्चा पाएको छ । संसारकै अग्लो २ सय ४५ मिटर अग्लो बुद्धको मुर्ति र अन्तर्राष्ट्रिय बौद्ध पार्क निर्माणको प्रकृया अघि बढेपछि जिल्लाबासी खुसी छन् । जिल्लाको धार्मिक र पर्यटकीय विकासमा संसरकै अग्लो मुर्ति प्रमुख सेतु हुने भन्दै धेरैले खुसी व्यक्त गरेका हुन् । शुक्रबार कपिलवस्तु नगरपालिका र अन्तराष्ट्रिय बौद्धिष्ट सेन्टरबिच बुद्धमूर्ति बनाउने विषयमा प्रारम्भिक सम्झौता (एमओई) समेत भइसकेको छ ।

मुर्ति बन्ने स्थान निश्चित नगरे पनि कपिलवस्तु नगरपालिका वडा नम्बर ६ र वडा नम्बर ९ को नदी उकास क्षेत्रमा पर्ने जमिनलाई अहिले सम्भावनामा राखिएको छ । चाँडै नगरपालिकाले जग्गा ब्यवस्थापन गर्ने र अन्तर्राष्ट्रिय बौद्धिस्ट सेन्टरले निर्माणको काम थाल्ने नगरपालिका बताउँछ ।

मुर्ति बनाउन कति लागत लाग्ला त ?

२ सय ४५ मिटर अग्लो बुद्धको मुर्ति बनाउन यति लागत लाग्छ भन्ने ठ्याक्कै अनुमान नभए पनि प्रारम्भमा ३० अर्व बढी बजेट आवश्यक पर्ने अनुमान गरिएको छ। कपिलवस्तु नगर प्रमुख सुदीप पौडेलले यसैको हाराहारीमा लागत लाग्ने सुचना आफूले पाएको जानकारी दिए ।

बुद्ध मुर्तिको निर्माण गर्ने कामका नेतृत्वकर्ता बौद्धिष्ट सेन्टरका प्रमुख चेओङग क्वी सेङ स्टेवार्डयोले समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा ३० अर्व बढी बजेट लाग्ने बताएका थिए । कहिले सुरु गर्ने र कति समयभित्र निर्माण सक्ने भन्नबारेमा अझै स्पष्ट खाका आइसकेको छैन । मेयर पौडेलले समझदारी पत्रमा हस्ताक्षर भए पनि बन्न भने समय लाग्ने बताउँछन् ।

कसरी यसको प्रकृया अगाडि बढ्छ ?

नगरप्रमुख पौडेलले पहिलो हस्ताक्षर गर्ने काम भएको बताए । अब उनले सबैभन्दा ठिक ठाउँमा जग्गा प्राप्ती प्रकृयामा आफूहरु रहेको बताए । उनले भने ‘अब १० १५ दिनमा जग्गाको नापजाँच गरेर नेपाल सरकारलाई पठाउँछौँ । डिपिआरको काम पनि संगसंगै अघि बढ्छ । मन्त्रीपरिषद्ले जग्गाबबारे निर्णय गरेपछि यसको काम अघि बढ्न सक्छ ।’

स्थानको विषयमा उनले सम्भवतहः तिलौराकोट एरियामा सो मुर्ति बन्न सक्ने बनाए । बुद्धले २९ बर्ष विताएको तिलौराकोटलाई केन्द्रमा राखेर जग्गा प्राप्तीको प्रकृया सुरु गर्ने उनले हाम्रो रोजगारीलाई बताए । नेपाल सरकारले जग्गाबारे जति चाँडै निर्णय गर्छ त्यति नै चाँडो काम सुरु हुने उनको भनाई छ ।

नगर प्रमुख पौडलले नगरमा एउटा महत्वपुर्ण कामको सुरुवात हुन लागेको बताउँदै यसले जिल्लाको विकास र पहिचान फेरिने दावी गरे । फ्रान्सको ईफिल टावरले जस्तै यसले पनि देशकै ईज्जत बढाउने उनी बताउँछन् । उनले भने कपिलवस्तु जिल्लामा यति ठुलो परियोजना अघि बढ्नु आफैमा गौरवको कुरा हो । जिल्लाबासीले अपनत्व ग्रहण गरी सहयोग गर्नुपर्दछ ।

चाईनाका बुद्ध धर्म गुरु झोङ जीङ र मास्टर च्याङपिङले ऐतिहासिक र धार्मिक स्थल कपिलवस्तुमा बुद्धको मुर्ति निर्माणले लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले ३ वटा बुद्धको जन्मथालेका रुपमा रहेको कपिलवस्तुका विकासमा यो मुर्ति निर्माणले नया आयाम थपिने बताए।

प्रकाशित मिति : ५ चैत्र २०७९, आइतबार  ३ : ४७ बजे