३१ भाद्र २०८१, सोमबार | Mon Sep 16 2024

स्ववियु निर्वाचनः कपिलवस्तुको सिद्धार्थ क्याम्पसमा जसले पहिलो मत खसाले



काठमाडौँ । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सुरु भएको छ । ६० आंगिक र एक हजार ४० सम्बन्धन क्याम्पसमा स्ववियु निर्वाचन सुरु भएको त्रिवीले बताएको हो । आज बिहान ८ देखि अपराह्न ४ बजेसम्म मतदान हुनेछ । लुम्बिनी प्रदेशको कपिलवस्तु जिल्लाका ७ क्यामपसमा पनि चुनाव सुरु भएको छ ।

जिल्लाकै ठुलो र सबैभन्दा बढी चर्चामा रहेको वाणगंगास्थित सिद्धार्थ क्याम्पसमा ८ बजेर २० मिनेटमा विद्यार्थीले पहिलो पहिलो मत खसालेका छन् ।

दुईवटा बुथमा भएको मतदान अन्तर्गत ‘क’ बुथमा स्नातक तह प्रथम वर्षमा अध्ययनरत मायादेवी गाउँपालिकाका राजेन्द्र यादवले पहिलो मत खसालेका हुन् । त्यसैगरी ‘ख’ बुथमा वाणगंगाा ११ कि सिता अर्याल (स्नातक तह प्रथम बर्ष) ले पहिलो मत खसालेकी निर्वाचन समितिका संयोजक गोविन्द खनालले जानकारी दिए ।

मत खसालेका दुवै विद्यार्थीले निकै खुसी लागेको बताएका छन् । तिन जना उम्मेदवारमध्ये कसैको भ्रममा नपरी योग्य उम्मेदवारलाई मत खसालेको उनीहरुले हाम्रो रोजगारीलाई बताए ।

११ सय ७३ विद्यार्थी संख्या भएको क्याम्पसमा मत खसाल्न विद्यार्थीहरु उत्साहित छन् । निर्वाचन शान्तिपूर्ण ढंगबाट सम्पन्न गर्नको लागि सुरक्षा व्यवस्था पनि कडा पारिएको छ । सिद्धार्थ क्याम्पसमा विंस २०५२ साल देखि स्ववियुको चुनाव हुँदै आएको छ ।

जिल्लाका ८ सामुदायिक क्याम्पस मध्ये ७ वाणगंगा बहुमुखी क्यामपसमा बाहेक तौलिहवामा अवस्थित कपिलवस्तु बहुमुखी क्याम्पस, सिद्धार्थ क्याम्पस बुङ्ची, नेपाल आर्दश बहुमुखी क्याम्पस शिवपुर, बुद्धभूमि बहुमुखी क्याम्पस चौवन्नपुर, फलारीबाबा बहुमुखी क्याम्पस महाराजगन्ज, गौतमबुद्ध बहुमुखी क्याम्पस गोरुसिंगेमा चुनाव सुरु भएको बताइएको छ । वाणगंगामा निर्वाचन आयोगका पदाधिकारीको लापरबाहिका कारण चुनाव स्थगित गर्नुपरेको विद्यार्थी नेताले आरोप लगाएका छन् ।

प्रकाशित मिति : ५ चैत्र २०७९, आइतबार  ९ : १७ बजे