३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

होटलमा बसेर वनको टेण्डरमा सेटिङ, पदाधिकारीलाई आर्थिक प्रलोभन



वणगंगा । कपिलवस्तुको बैजलपुर जनकल्याण सामुदायिक वनमा सेटिङ मार्फत टेण्डर हात पार्ने प्रपञ्चमा ठेकेदार लागि परेका छन् ।
बाणगंगा नगरपालिका वडा नं. २ मा अवस्थित बैजलपुर वनमा वनका सहसचिव बाबुराम अधिकारी र कोषाध्यक्ष रेम बहादुर रेश्मीको सेटिङ मार्फत ठेकेदारले टेण्डर हत्याउने प्रयास गरेका हुन् ।

वनका पदाधिकारीले रु ७ लाखमा आफू अनुकुलको ठेकेदारलाई काठ लिलामीको टेण्डर पार्ने प्रचञ्च रचिएको हो । पैसामा बार्गेनिङ भए पनि यसकाे पुष्टि नभएकाे श्राेत बताउँछ ।  हालै सालझण्डीको एक होटल बसेर वनका पदाधिकारी र ठेकेदारले मिलेमतो गरी परेको टेण्डर बदर गरी आफू अनूकुलको ठेक्का पारी टेण्डर खुलाएको स्रोतले बताएको मायादेवी अनलाइनले खबर लेखेको छ ।

वनले फाल्गुण ११ गते घाटगद्धीमा राखिएका काठ दाउराको लिलाम विक्रीका लागि टेण्डर खुलाएको थियो ।
शिलबन्दीमा जस्ले तोकिएको मूल्यभन्दा बढी रकम हाल्छ त्यसैले स्वभाविक रुपमा हात टेण्डर पार्ने गर्छ । तर बैजलपुरमा सबै ठेकेदारले मिलेर टेण्डर हालेको पाइएको छ ।

ठेकेदारले मिलेमतो गरी टेण्डर हालेको थाहा पाए वनको आम्दानी बढाउनका लागि कतिपय वन पुनः टेण्डर प्रक्रियामा जाने गरेका उदाहरण प्रशस्त छन् । तर बैजलपुरमा स्वंम वनका पदाधिकारी नै ठेकेदारसंग मिलेको पाइएको छ ।
बैजलपुरमा अरु वन भन्दा राम्रा काठ उत्पादन हुने गर्छ । जसले गर्दा ठेकेदारको आँखा यस वनमा पर्ने गरेको छ । वनको काठ हत्याउने प्रयासमा रहेका ठेकेदार यस क्षेत्रका प्रख्यात काठका ठेकेदार हुन् ।

मिलेमतोमा ठेकेदारले न्यूनतम मूल्यमा टेण्डर हालेको र उक्त टेण्डरबारे ठेकेदार पक्ष बीच नै भागभण्डा नमिले पछि यो तथ्य बाहिर आएको हो ।
ठेकेदार पक्ष बीच एकआपसमा विवाद बढ्दा सबै सूचना बाहिर आएपछि बैजलपुर वनमा अहिले खैलाबैला मच्चिएको छ । वनका अध्यक्ष सत्यनारायण थारुसंग यस विषयमा बुझ्न खोजेपनि सम्पर्कमा आउन चाहेनन् ।

वनका कोषाध्यक्ष रेश्मीले भने उक्त सूचना गलत भएको दाबी गरे । उनी स्वंय ठेकेदारसंगको मोलमोलाईमा संलग्न रहेपनि आफूलाई यो विषयमा कुनै जानकारी नभएको भन्दै तर्कने प्रयास गरे ।

यता ठेकेदारले सबै कुरा बाहिर आएपछि जसरी हुन्छ टेण्डर सदर गराउने कसरतमा लागि परेका छन् । टेण्डर सदर गराउनका लागि ठेकेदारले सम्बन्धित पक्षलाई प्रलोभनमा पार्ने कोसिस गरिरहेका छन् ।

वडा नं २ का वडाध्यक्ष विष्णु पौडेलले वनले टेण्डर खुलाएको तर अरु विषय आफूलाई जानकारी नभएको बताए । टेण्डरको सदर गर्ने मध्येका एक रहेका वडाध्यक्ष पौडेलले नियम अनुसार टेण्डर नपरेको भए स्वभाविक रुपमा सदर नहुने बताए ।

वडाध्यक्ष पौडेलले टेण्डर हाल्दा मिलेमतो हो कि भन्ने लागेको भन्दै प्रक्रिया नपुगेको टेण्डर बदर हुने बताए । बैजलपुरमा मिलेमतोमा टेण्डर पार्ने घटना पहिलो होइन् । यसभन्दा अगाडी पनि वनका पदाधिकारीले मिलेमतोमा टेण्डर पारेको घटना बाहिरिएको थियो ।

यस्तै वनमा काठ हराएको घटनाले पनि बैजलपुरलाई चर्चामा ल्याएको थियो । वनको माथिल्लो तल्ला थप्दा ठूलो भ्रष्ट्राचार भएको भन्दै उपभोक्ताले प्रश्न उठाएपछि विवादमा साम्य पारिएको थियो । वनमा पटक पटक बेथितिका घटना घट्दै आएका छन् । तर सम्बन्धित निकाय मौन जस्तै बन्ने गरेको छ । मायादेवी अनलाइनबाट साभार

प्रकाशित मिति : ४ चैत्र २०७९, शनिबार  ७ : ०५ बजे