३१ भाद्र २०८१, सोमबार | Mon Sep 16 2024

प्रधानमन्त्रीलाई ढिक्का भएर विश्वासको मत दिने १० दलको निर्णय



काठमाडौँ । सत्ता गठबन्धनका १० दलका शीर्ष नेताहरुको बैठक बालुवाटारमा सम्पन्न भएको छ। बैठकमा भोलि संसदमा प्रस्तुत गर्ने विधेयक र पर्सी सरकारले लिने विश्वासको मतमा एकमतका साथ प्रस्तुत हुने सहमति बनेको छ।

राष्ट्रपतिको निर्वाचनमा चुनावअघिको गठबन्धन ब्यूँताउँदै नेपाली कांग्रेससहित ८ दल एक ठाउँमा उभिएपछि नेकपा एमाले सरकारबाट बाहिरिएको थियो। सो आठदलीय गठबन्धन पछिल्लो समय १० दलीय बनेको हो।

एमाले सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री प्रचण्डले यही चैत ६ गते पुनः विश्वासको मत लिँदै छन्। यसपछि कांग्रेससहितका दललाई समावेश गरी प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्।

आजको बैठकमा बैठकमा प्रधानमन्त्री प्रचण्डसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्का तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका नेता शरतसिंह भण्डारी, जनमत पार्टीका अध्यक्ष सीके राउत, आम जनता पार्टीका अध्यक्ष प्रभु साह, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईलगायतको सहभागिता थियो।

राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनपछि मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बसेको हो।

प्रकाशित मिति : ४ चैत्र २०७९, शनिबार  ६ : ५० बजे