१ आश्विन २०८१, मंगलबार | Tue Sep 17 2024

यसरी बने रोहित इतिहासकै सर्वाधिक सफल ‘कप्तान’



काठमाण्डौँ । ‘रोहित पौडेल नेपाली क्रिकेट इतिहासकै सर्वाधिक सफल कप्तान बन्नेछन्।’ बिहीबार आइसिसी विश्वकप क्रिकेट लिग–‘टु’ अन्तर्गत त्रिकोणात्मक शृंखलाको अन्तिम खेलमा युएईमाथि डकवर्थ लेविस पद्धति [डिएलएस] मा ९ रनको जितसहित नेपालले पहिलो पटक एकदिवसीय विश्वकप क्रिकेटको ग्लोबल छनोटमा स्थान बनाएपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले रोहितको कप्तानीको प्रशंसामा खर्चिएका शब्द हुन् यी।

युएईले प्रस्तुत गरेको ३ सय ११ रनको लक्ष्य पछ्याएको नेपाल ४४ ओभरमा २६६–६ को स्थितिमा खेलिरहेको थियो। खराब प्रकाशका कारण खेल रोकिएसँगै नेपाल डिएलएस पद्धतिमा ९ रनको जित निकाल्न सफल भयो।

सेप्टेम्बरमा राष्ट्रिय क्रिकेट टोलीको कप्तानको जिम्मेवारी पाएका रोहितको कप्तानीमा नेपालले अमेरिका र स्कटल्यान्ड भ्रमण सुखद पार्न सकेन। अमेरिका र स्कटल्यान्ड भ्रमणमा गरेको खराब नतिजाले नेपालको विश्वकपको ग्लोबल क्वालिफायर खेल्ने सम्भावना निकै पर पुर्‍याइदिएको थियो। लगातारको खराब प्रदर्शन र टोलीमा देखिएको मनमुटावका कारण टोलीको एकदिवसीय मान्यता समेत संकटमा परेको थियो। नेपालले २०१८ मार्च १५ मा एकदिवसीय मान्यता पाएको थियो। स्कटल्यान्ड ५० र ओमान ४४ अंक ल्याउँदै यसअघि नै छनौट भैसकेको थियो।

रोहितकै कप्तानीमा नेपालले घरेलु मैदानमा नामिबिया र स्कटल्यान्ड सम्मिलित त्रिकोणात्मक शृंखलामा चारमा चार खेल जित्दै एकदिवसीय मान्यता जोगाउने र शीर्ष तीनमा बस्दै विश्वकप छनोट खेल्ने सम्भावना ब्युँताएको थियो। घरेलु मैदानमा सम्पन्न शृंखलामा निकालेको सफलताले हौसिएको नेपालले युएई भ्रमणमा पनि सुखद नतिजा ल्यायो। पपुवा न्युगिनीलाई दुवै खेलमा हराएको नेपालले घरेलु टोली युएईसँग भने एक खेलमा जित निकाल्यो भने अर्को खेलमा पराजित भयो। नेपाललाई विश्वकप छनोटमा स्थान बनाउन घरेलु मैदानमा पपुवा न्युगिनी र युएई सम्मिलित त्रिकोणात्मक शृंखलामा चारमा चारै खेल जित्न पर्ने थियो। नतिजा पनि त्यस्तै आयो, नेपालले चारमा चार खेल जित्यो र ४० अंक जोड्दै तेस्रो स्थानमा रहेर जिम्बाब्वेमा २०२४ को जुन–जुलाईमा हुने ग्लोबल छनोटमा स्थान पक्का गर्‍यो। जसको कुशल नेतृत्व रोहितले गरे।

‘रोहित युवा कप्तान हुन र उनीमा धैर्य गर्ने तथा सहजै सिक्ने क्षमता छ,’ देसाईले भने, ‘रोहितले अझ लामो यात्रा तय गर्नु छ र उनी नेपाली क्रिकेट इतिहासकै सर्वाधिक सफल कप्तान बन्नेमा शंका छैन।’ ‘मैले पहिले पनि भन्दै आएको छु,’ देसाईले भने, ‘टोलीमा सबैले आआफ्नो जिम्मेवारी राम्रोसँग पूरा गर्दा नै आज हामीले यो सफलता निकाल्न सफल भयौं। उनीहरूले निकै मिहिनेत गरे। टोलीको सबैभन्दा बलियो पक्ष भनेको खेलाडीहरूले जस्तोसुकै स्थितिमा पनि जित्न सकिन्छ भन्ने विश्वास गुम्न दिएनन्। आज युएईले आफ्नो स्वाभाविक प्रदर्शन गर्‍यो। जसले हामीमाथि दबाबसमेत परेको थियो। हामीले सुरुआती चरणमै महत्वपूर्ण विकेट गुमायौ। कप्तान रोहित पनि सस्तोमा पबेलियन फर्किए। तर रोहितले ड्रेसिङ रुममा टोलीको जितका लागि सक्षम छ भन्दै टोलीको मनोबल उच्च बनाइरहे।’

रोहितले युएईले दबाबमा राखे पनि आफूहरूले धैर्यता नगुमाउँदा जित सम्भव भएको बताए। ‘युएईले एकदमै राम्रो खेल्यो,’ रोहितले भने, ‘हामीले पनि दबाबमा राम्रो ब्याटिङ गर्‍यौं। विशेष गरी गुल्सन झा र आरिफ शेखले कठिन समयमा गरेको साझेदारी महत्वपूर्ण रह्यो। शीर्षक्रमका ब्याटर सस्तोमा पवेलियन फर्किए पनि हामीले हिम्मत हारेका थिएनौं। त्यो नै टोलीको सफलताको सूत्र हो। दर्शकको उपस्थितिले पनि हाम्रो मनोबल बढेको हो। म उहाँहरूलाई धन्यवाद दिन चाहन्छु। ग्लोबल क्वालिफायरमा हामीले राम्रो प्रदर्शन गर्नेमा म आशावादी छु।’

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  ७ : ०३ बजे