४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

बधाई टिम नेपालः युएई पराजित हुँदा एकदिवसीय मान्यता जोगियो



काठमाडौं । नेपालले आईसीसीको एकदिवसीय अन्तराष्ट्रिय मान्यता कायम राखेको छ । आईसीसी विश्वकप लिग टूको अन्तिम त्रिकोणात्मक सिरिज अन्तर्गत आइतबार युएईलाई पराजित गर्दै नेपालले एकदिवसीय अन्तर्राष्ट्रियलाई कायम राखेको हो ।

किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालले युएईलाई १ सय ७७ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

यस जितसँगै नेपालले २ खेल अगाबै एकदिवसीय अन्तराष्ट्रिय मान्यता कायमै राखेको छ ।

नेपालले दिएको २ सय ४९ रनको लक्ष्य पछ्याएको युएईले २२ ओभर ५ बलमा अलआउट हुदै ७१ रन मात्र बनायो ।

युएईका लागि आयान खानले २९ रनको सर्वाधिक ठुलो ईनिङ खेल्दा असओन्था भाल्थापाले १४ रन बनाए । कार्तिक मैयप्पनले ११ तथा युएईका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका लागि ललित नारायण राजवंशीले ५ तथा सन्दीप लामिछानेले २ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर २ बलमा अलआउट हुदै २ सय ४८ रन बनाएको हो ।

नेपालका लागि कप्तान रोहित पौडेलले १ सय १२ बलमा ७७ रनको अर्धशतकीय ईनिङ खेले । कप्तान पौडेलले ९ चौका प्रहार गरेका थिए ।

दीपेन्द्र सिंह ऐरीले १९ बलमा ३४ रन बनाए । आरिफ शेखले ५२ बलमा ४३ रन बनाउँदा गुलसन झाले ३२ बलमा ३७ रन बनाए । झाले ३ छक्का र १ चौका प्रहार गरेका थिए ।

भिम सार्कीले ३७ बलमा २९ रन बनाए । दोस्रो ओभरमा नै पहिलो विकेट गुमाएको नेपालले ७ ओभर १ बलमा ३ विकेट गुमाएको थियो । चौथो विकेटका लागि कप्तान रोहित पौडेलले भिम सार्कीले अर्धशतकीय साझेदारी गरेका थिए । ७६ रन हुँदा चौथो विकेट गुमाएको थियो ।

चौंथो विकेटपछि क्रिजमा आएका आरिफ शेख र रोहित कुमार पौडेलबीचमा अर्धशतकीय साझेदारी भएसँगै नेपाल बलियो स्थितिमा पुगेको थियो ।

युएईका लागि जाहोर फरिद,जाहोर खान,रोहन मुस्ताफा र आयान खानले समान २र२ तथा आर्यान लाक्रा र जुनेद सिद्धिकीले समान ११ विकेट लिए ।

हारपछि विश्वकप लिग टूको शीर्ष ३ मा रहने सम्भावना सकिएको युएईको एकदिवसीय अन्तराष्ट्रिय मान्यता समेत जोखिममा परेको छ ।

सात देश सम्मिलित विश्वकप लिग टूमा नेपालले ३४ खेलमा १७ मा जित तथा १५ मा हार व्यहारेको छ । नेपाल ३६ अंक जोडेर अंक तालिकाको चौथो स्थानमा रहेको छ ।

उता, युएई भने ३४ खेलमा १४ खेलमा जित तथा १७ खेलमा हार व्यहोरेको छ । ३१ अंक जोडेर युएई छैटौं स्थानमा रहेको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आइतबार  ५ : ४९ बजे