३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

उद्योग वाणिज्य संघसंग बाझिए व्यवसायी, चार नम्बर बजार शनिबार बन्द हुने



कपिलवस्तु । कपिलवस्तु उद्योग वाणिज्य संघको निर्णयविपरित चार नम्बरका ब्यवसायीले अबदेखि शनिबार बजार बन्द गर्ने निर्णय गरेका छन् ।

एक बर्षअघिदेखि संघ मातहतका बजार शनिबार बन्द गर्दा व्यावहारिक हुने माग राखेका ब्यवसायीले आजदेखि संघको निर्णयविपरित शनिबार बजार बन्द गरेका हुन् ।

चार नम्बरमा अधिकांस ब्यवसायी आज एकजुट भएर बजार बन्द सुरु गरे । सिद्धार्थ बजार विकास समिति, वेलफेयर सोसाइटी, फेन्सी ब्यवसायी, सुनचाँदी व्यवसायी संघ, मोबाइल ब्यवसायी संघ, फर्निचर ब्यवसायी संघ लगायतको सहभागितामा आज खुलेका पसल र व्यवसाय बन्द गराइएको थियो ।

चार नम्बरबाट होराइजन चोकसम्म टोली पुगेर बजार बन्द गराएको देखिन्थ्यो । उद्योग वाणिज्य संघको निर्णय अनुसार अहिलेसम्म मंगलबार बजार बन्द रहँदै आएको थियो । तर पनि अबदेखि मंगलबार बजार खुला गरेर शनिबार बन्द गर्ने आफूहरुको निर्णय भएको सिद्धार्थ बजार विकास समितिका अधयक्ष विष्णु थापाले हाम्रो रोजगारीलाई बताए ।

उनले भने ‘यो नै ब्यावहारिक हुन्छ । शनिबार सबैको विदा हुन्छ । यहाँ धेरै बैङक र वित्तिय संस्था पनि छन् । ती सबै शनिबार बन्द हुन्छन् । शनिबार बजार बन्द गर्नुपर्नेमा धेरै ब्यवसायी एकजुट छन् । त्यसैले यो निर्णय गरिएको छ ।’ उद्योग वाणिज्य संघका क्षेत्रगत सदस्य दिनेश क्षेत्री, कृष्ण चालिसे लगायत पनि यो निर्णयको पक्षमा देखिएका छन् ।

संघका सदस्य दिल बहादुर खातीले आफूहरुको निर्णय उद्योग वाणिज्य संघविरुद्ध भएको रुपमा नबुझ्न आग्रह गर्छन् । उनी भन्छन् ‘यो निर्णय संघ विपरित होइन । उहाँहरुसंग लड्न खोजेको पनि होइन । मुलुकका धेरै ठाउँमा यो निर्णय छ । शनिबार बजार बन्द आफैमा ब्यावहारिक पनि हुन्छ । सबै व्यासायीको माग पनि यही हो । गलत अर्थमा कसैले लिन हुँदैन ।’

फेन्सी व्यवसायी संघका अध्यक्ष कमल बस्यालले अझै पनि आफूहरु उद्योग वाणिज्य संघसंग छलफल गर्न तयार रहेको बताउँदै संघले नमाने पनि अबदेखि चार नम्बरको बजार शनिबार बन्द हुने दावी गरे । ‘यो विषय हामीले साधारण सभामा पनि राखेका थियौँ । तर उहाँहरुले संवेदनशिल रुपमा लिनुभएन त्यसैले हामी यसरी उत्रनु पर्यो’, उनले भने ।

यता उद्योग वाणिज्य संघले भने अर्को निर्णय नहुँदासम्मको लागि सातैबार बजार खोल्ने निर्णय गरेको छ । मंगलबार बजार बन्द रहँदै आएकोमा अहिले ब्यवसायी मारमा परेको हुँदा सातैबार बजार खोल्ने निर्णय गरेको थियो । त्यही अनुसार संघले माइकिङ पनि गरेको थियो ।
बजार बन्द गर्ने विषयमा कुरा बाझिएपछि अरु ब्यवसायी अलमलमा परेका छन् । ‘चार नम्बरका बजार शनिबार बन्द हुने, ओदारी, वनगाई, पिपरा, बोडगाउँ लगायतमा मंगलबार बजार बन्द हुने । नेताहरुले गर्न खोजेको कुरा के हो बुझिएन । तर पनि शनिबार बजार बन्द गर्दा उत्तम हुन्छ जस्तो लाग्छ’, एक जना व्यसायीले भने ।

व्यवसायीबिच नै एकता र सामञ्जस्यता नभएपछि कपिलवस्तु उद्योग वाणिज्य संघको नेतृत्वमाथि नै प्रश्न खडा भएको छ । उनको निर्णयमाथि व्वसायीले अटेर गर्न थालेपछि धेरैले संघका अध्यक्ष डोलकराम घिमिरेमाथि नै प्रश्न चिन्ह खडा भएको बताउँछन् । नेतृत्व बोल्ड नहुँदा धेरै ठाउँमा समस्या आउन थालेको संघभित्रकै पदाधिकारी बताउँछन् ।

‘निवर्तमान अध्यक्ष उमानाथ पौडेल नेतृत्वमा यस्तो लापरबाहि थिएन । घिमिरे सरल र अरुलाई पीर नपारौँ भन्ने खालको हुनुहुन्छ । उहाँ गलत पनि होइन तर उहाँ सबैप्रति बढी लचिलो हुँदा आफै अफ्ट्यारोमा पर्न थाल्नु भएको छ । उहाँले बोल्ड निर्णय गरेर सबै ब्यवसायीलाई अब एकढिक्का बनाउनुपर्दछ’, उनले थपे ।

संघमाथि बिभिन्न आरोप लगाउँदै निर्वाचित सचिव खिमानन्द पौडेल कोपिलले पनि पदबाट राजिनामा दिई अर्को संस्थाको अध्यक्ष भइसकेका छन् । यी यावत घटनाक्रमले संघ दिनप्रतिदिन कमजोर बन्दै गइरहेको भन्दै व्यवसायीले चिन्ता ब्यक्त गर्न थालेका छन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०७९, शनिबार  १० : ०४ बजे