२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

झारफुकको बहानामा कुटपिट गर्दा १४ वर्षीया बालिकाको मृत्यु, माता पक्राउ



काठमाडौ । रुपन्देहीमा झारफुकको बहानामा झाँक्रीले कुटपिट गर्दा १४ वर्षीया बालिकाको ज्यान गएको छ। रुपन्देही सैनामैना नगरपालिका १० की २२ वर्षीया माता भन्ने सोनिया रेश्मीको कुटपिटबाट सैनामैना नगरपालिका १० की १४ वर्षीया सीता ज्ञवालीको मृत्यु भएको हो।

प्रहरीले माता भनिने सोनिया रेश्मीलाई पक्राउ गरेको रुपन्देहीका प्रहरी प्रवक्ता डीएसपी श्यामु अर्यालले जानकारी दिए।

सामाजिक सञ्जाल फेसबुकमा आइतबार महिलाले झारफुक गरी बिरामीलाई सन्चो बनाउँछु भन्दै एक बालिकालाई भुइँमा लडाई घोप्टो पारी कुटपिट गरेको भिडिओ सार्वजनिक भएको थियो।

माताले बालिकाको शरीरमाथि चढी घण्टी बजाउँदै गालामा थप्पड हान्ने, आइज, देखिस्, कति खान्छस्, मेरो पावर देखिस् भन्दै रुद्राक्षको मालाले शरीरको विभिन्न भागमा हान्ने, भुइँमा लडाउने, टाउको र घाँटीमा खुट्टाले टेक्ने, पटकपटक जगले नाकमुखमा पानी खन्याउने, कपालमा समाई टाउको बटारी दिने गरेकी थिइन्।

यस्तै कपालमा समाइ अनुहारको भागमा थुक्ने, खरानी खुवाइदिने र लछारपछार पारी कुटपिट समेत गरेको भिडिओमा देखिएको छ।

उक्त भिडिओका आधारमा प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको थियो। इलाका प्रहरी कार्यालय सालझण्डीबाट प्रहरी निरीक्षक जगन्नाथ मरासिनीको कमान्डमा खटिएको प्रहरीले मातालाई पक्राउ गरेको थियो।

माता सोनिया रेश्मीको घरबाट बालिकालाई लछारपछार, कुटपिट गर्दा प्रयोग भएका विभिन्न सामाग्रीहरु त्रिशुल, जग, रुद्राक्षको माला लगायत बरामद गरिएको प्रहरीले जानकारी दिएको छ।

मृतक सीता ज्ञवालीका परिवारले विगत ४र५ दिनदेखि सीता कानसम्बन्धी बिरामी भएकी, पटक पटक अस्पताल लगेर चेकजाँच गरी औषधि सेवन गर्दा निको नभएको हुँदा माता भन्ने सोनिया रेश्मीले झारफुक गरी ठिक पार्छिन् भन्ने लागेर उनको घरमा लगेको बताएका छन्।

सोनिया रेश्मीले सीता ज्ञवालीलाई झारफुक गर्दै लछारपछार पारी भुइँमा लडाइ कुटपिट ष्दौ सोही ठाउँमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।

सीताको शव राति नै घरपरिवाले कपिलवस्तु जिल्लाको लक्ष्मणघाटमा लगेर जलाएको खुलेको छ।

दाहसंस्कारको लागि जाँदा र दाहसंस्कार गरी फर्किंदाको पूर्वपश्चिम महेन्द्रराजमार्गमा रहेका सीसीटीभीहरुको फुटेज समेत प्रहरीले संकलन गरेको छ। फुटेजका आधारमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

घटनाको दिन बिहान सीतालाई उपचारको लागि अटो रिक्सामा राखी सालझण्डी बजारमा रहेको स्थानीय मेडिकल लिएर आएको र उपचार पश्चात फिर्ता गएको पनि पनि फुटेजमा देखिएको छ।

प्रहरीले माता भन्ने सोनिया रेश्मीलाई इलाका प्रहरी कार्यालय सालझण्डीमा राखी ज्यान सम्बन्धी कसुरमा ७ दिन म्याद थप गरी अनुसन्धान थालेको छ।

प्रकाशित मिति : २३ फाल्गुन २०७९, मंगलबार  ७ : ०८ बजे