२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

रंगिन होली विशेषः निसीखोलालाई जुरुक्कै उठाए खेम सेञ्चुरीले



वाग्लुङ । निसीखोला गाउँपालिका वडानम्बर चार झिवाखोलामा आज फागु पूर्णिमा अर्थात् होलीको अवसरमा विशेष कार्यक्रम सम्पन्न भएको छ ।

रंगिन युवा क्लवको आयोजनामा शनिबारदेखि रंगिन होली मेला सुरु भए पनि आज भने विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न भएको हो । आजको कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गायक खेम सेन्चुरीले निसीखोलालाई जुरुक्क उठाएका छन् ।

करिब डेढ घण्टा प्रस्तुति राखेका उनले हजारौँ दर्शकलाई झुमाए । सेन्चुरीको प्रस्तुति हेर्न वाग्लुङका बिभिन्न ठाउँका साथै पोखरा, रुकुम, प्युठान, गुल्मी लगायतका ठाउँबाट हजारौँको संख्यामा युवायुवतिहरु आएका थिए । उनको प्रस्तुति रहँदा कार्यक्रमका प्रमुख अतिथि, विशिष्ट अतिथि र अतिथि पनि ननाची बस्न सकेनन् ।

आपसमा अबिर दल्दै अतिथिहरु नाचेका थिए । आफू मेला महोत्सवको क्रममा देशविदेश गएको भए पनि झिवाखोलाको कार्यक्रममा सबैभन्दा बढी रमाइलो भएको उनले बताए । दर्जन बढी गीत गाएका खेन्चुरीले पहिलो प्रस्तुति नै अविष्मरणीय रहेको सुनाए ।

क्लवले हरेक बर्ष यो कार्यक्रम सांस्कृतिक कार्यक्रमको रुपमा राख्दै आएको छ । सोमबार नै खेल मैदान निर्माण गर्ने क्रममा जग्गा दान गर्ने तथा सहयोग गर्ने दर्जनौँ दातालाई सम्मान पत्रले ससम्मान गरिएको क्लवका अध्यक्ष नन्दलाल रेग्मीले बताए । अध्यक्ष रेग्मीको अध्यक्षता र निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्य बहादुर घतीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा निवर्तमान प्रदेश सभा सदस्य, गाउँपालिकाका निवर्तमान अध्यक्ष, वर्तमान उपाध्यक्ष, बिभिन्न संघसंस्थाका प्रमुख लगायतको सहभागिता थियो । क्लवको १६ औँ वार्षिक उत्सव पनि संगै मनाउने कार्यक्रम अनुसार २४ गतेसम्म हुने मेलामा बिभिन्न खेलकुद लगायतका कार्यक्रम राखिएका छन् ।

मेला संयोजक टिका चन्दका अनुसार आजबाट नै वडा स्तरीय खुल्ला महिला तथा पुरुष भलिवल सुरु भएको छ भने रंगिन खुला आईडल डान्स, माछा छोपाई तथा खुल्ला ब्याडमिन्टन लगायतका कार्यक्रम पनि भोलिदेखि नै सुरु हुने छन् । प्रतियोगिताकै रोचक पुरष भलिवलका विजेताले ७० हजार र उपविजेताले ४० तथा महिलातर्फ विजेता र उपविजेताले ३५ र २५ हजार पुरस्कार पाउने छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०७९, सोमबार  ९ : १६ बजे