४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मुस्ताङमा बौद्ध कलेज खोल्न ओलीले नै पत्राचार गरेको खुलासा



काठमाण्डौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल सरकारमाथि लगाएको आरोप विपरित मुस्ताङको संवेदनशील फलेक क्षेत्रमा बौद्ध कलेज स्थापनाका लागि आर्थिक सहयोग गर्न आग्रह गर्दै एमालेबाट निर्वाचित गाउँपालिका अध्यक्षले नै भारतीय दूतावासमा पत्राचार गरेको खुलेको छ।

एमालेबाट निर्वाचित मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिङजीन नामगेल गुरुङले मुस्ताङ शाक्य बुद्धिष्ट एसोसिएसनले बौद्ध शाक्य कलेज स्थापना गर्न आर्थिक सहयोग खोजिरहेको भन्दै त्यस्तो संस्था स्थापनाका लागि आर्थिक सहयोग गर्न करिब साढे तीन महिनाअघि काठमाडौंस्थित भारतीय दूतावासमा आग्रह गरेका हुन्।

‘मुस्ताङ र छिमेकी जिल्ला डोल्पा, मनाङ तथा स्थानीय र विदेशी विद्यार्थीहरूको हितका लागि यो ऐतिहासिक परियोजना सम्पन्न गर्न आर्थिक सहयोगका लागि म तपाईंको सरकारसँग विनम्र आग्रह गर्दछु’, अध्यक्ष रिङजीन नामगेल गुरुङले भारतीय दूतावासका डेपुटी सेक्रेटरी करुन बंसललाई सम्बोधन गर्दै २२ नोभेम्बर २०२२ मा पठाएको पत्रमा भनिएको छ।

मुस्ताङको फलेकमा बौद्ध कलेज स्थापनाको लागि ७० करोड ३३ लाख रुपैयाँ अनुदान स्वीकृति माग गर्दै भारतीय दूतावासले पठाएको पत्रमाथि अर्थमन्त्रालयले अध्ययन गरिरहेको छ।

अध्यक्ष गुरुङले आइतबार भारतीय दूतावासमा सहयोगको आग्रह गर्दै आफूले पत्र पठाएको स्वीकार गरे।

‘पालिकाले एउटा चिठ्ठी पठाएकै भरमा सहयोग आउँछ भने किन नगर्ने भनेर सिफारिस गरेको हुँ’, अध्यक्ष गुरुङले भने।

 

नयाँ प्रतिनिधिसभा र प्रदेश सभाका लागि ५ मंसिरमा निर्वाचन भएको थियो। अध्यक्ष रिङजीनले भारतीय दूतावासमा पठाएको पत्रमा ६ मंसिर अर्थात् २२ नोभेम्बर उल्लेख छ। एमाले समेतको समर्थनमा पुस १० गते मात्र माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री नियुक्त भएका थिए।

वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष मात्रै होइन उपाध्यक्षमा एमालेकै ढिकी गुरुङ छिन्। भारतको सहयोगमा बौद्ध कलेज स्थापना गर्न लागिएको ५ नम्बर वडाका अध्यक्ष सुरेन्द्र गुरुङ पनि एमालेबाटै निर्वाचित भएका हुन्।

मुस्ताङको निषेधित क्षेत्रमा बौद्ध कलेज खोल्न भारत अग्रसर भएको रिपोर्ट कान्तिपुरमा बिहीबार ९१८ फागुन० प्रकाशित भएपछि एमाले अध्यक्ष ओलीले शनिबार दाहाल नेतृत्वको सरकारले चीनविरुद्ध गतिविधि बढाउन भारतलाई मुस्ताङमा कलेज स्थापना गर्ने अनुमति दिएको गम्भीर आरोप लगाएका थिए।

‘मुस्ताङमा विश्वविद्यालय भनेको विदेशीको दलाली हो, राष्ट्रियतामाथिको प्रहार हो, चीनविरुद्धको गद्दारी हो’, ओलीले भनेका छन्, ‘२०३१ साललाई ठूलो स्केलमा दोहोर्याउन खोजेको हो, आफ्नै राष्ट्रको सार्वभौमसत्ता र स्वाधिनतालाई अस्वीकार गरेको हो।’

२०३१ सालमा तिब्बती विद्रोही वाङ्दीले मुस्ताङबाट चीनविरुद्ध विद्रोह अगाडि बढाएका थिए। सीआईएको हतियारले चीनसँग लडेका वाङ्दी भारत भाग्दै गर्दा नेपाली सेनाबाट मारिए।

ओलीले विश्वविद्यालयको नाममा मुस्ताङलाई विदेशीहरूको खेल मैदान बनाउन खाजिएको आरोप लगाउँदै भने, ‘यो बहुतै खतरनाक कुरा हो।’

‘जहाँ मान्छे छैनन् त्यहाँ विश्वविद्यालय’, ओलीले थप भने, ‘भनेको त्यो ठाउँमा खास उद्देश्यका पेड ९पैसा दिइएका० मान्छेहरू मात्रै बस्छन्।’

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतबार  ८ : ४६ बजे