२८ भाद्र २०८१, शुक्रबार | Fri Sep 13 2024

अनि गाउँलेले भन्छन्, ऊ ‘बेले’ को गाडी आयो



बुटवल । वास्तविक नाम कृष्ण सुनार । तर, यो नामले उनलाई गाउँमा कसैले चिन्दैनन् । सबैको मनमा बसेको नाम हो ‘बेले’ । कक्षा ६ सम्म मात्र पढेका उनी गाउँलेको भरोसा हुन् । घरको कमजोर आर्थिक अभावले गर्दा उनी १६ वर्षको बाल्यकालदेखि गाडी लाइनमा लागे ।

इस्मा गाउँपालिका ६ अमंरपुर गुल्मीका बेले अहिले २६ वर्षका भए । १० वर्षदेखि निरन्तर यही क्षेत्रमा क्रियाशिल उनी बालकदेखि वृद्धवृद्धा सम्मको आँखामा राख्दा पनि नबिझाउने भएका छन् । सुरुको बेला बसमा सहचालकको रुपमा काम गरेका सुनार अहिले जीपको चालक छन् । आठ वर्षदेखि उनी निरन्तर गुल्मीको मालिका गाउँपालिका छापहिलेदेखि बुटवलका लागि जीप चलाउँछन् ।

सयौँ चालकको भीडमा उनै कृष्ण किन सवैको रोजाइँमा परे ? यो धेरैको चासो बनेको छ । त्यस्तो ठूलो कारण केही छैन । उनी सरल छन् । मिठो बोल्छन् । गाडी चलाइरहेको बेलामा चिनेजति सवैलाई नमस्कार गर्छन् । बृद्ध बुवाआमा देख्नै हुन्न, बुवा नमस्कार, आमा नमस्कार भनिहाल्छन् । अनि सवैले भन्छन्, ऊ बेलेको गाडी आयो ।

उनको मन कोमल छ, बुढ्यौली लागेका गाउँका बुवा, आमा देख्नै हुँदैन । गाडीभित्र राखेका फलफूल दिन्छन् । उनको यही व्यवहार सवैले मन पराएका छन् । गाडी चालक, सहचालकहरु बोल्न जान्दैनन् । रुखो बोल्छन् । छाडा बोल्छन्, भन्ने धेरैजसो यात्रुहरुको अनुभवलाई उनले सहजै चिरेका छन् । सरल व्यवहार र मिठो बोली नै उनको सम्पत्ती हो ।

गुल्मीदेखि बुटवलसम्मको यात्रा गर्दा उनको जीपमा कसले ‘बोर’ मान्दैनन् । रमाइला कुरा गर्छन्, सवैसँग मिठो बोल्छन् र गाडीबाट ओर्लदा सवै यात्रु ‘फ्रेस मोडमा’ हुन्छन् । कतिपय यस्ता यात्रु भेटिन्छन्, गाडीबाट ओर्लिएपछि एक÷दुई हप्तापछि फर्किने यात्रुले अग्रीम टिकट बुकिङ गर्छन् । अर्को हप्ता घर फर्किने हो ‘मलाई सिट राख्दिनु है’ भन्दै उनीसँग विदा माग्छन् । सुनारलाई यात्रुको कहिल्यै अभाव हुँदैन ।

कहिलेकाँही विसन्चो भएर घरमा आराम गर्दा उनका शुभचिन्तक पनि विरामी भएको अनूभूति गर्छन् । ‘आजभोली बेलेको गाडी किन देखिदैन रु’, छापहिलेका स्थानीय समाजसेवी प्रेम बहादुर खड्काले भने ,‘के उनी विरामी परे र ? ’ बुटवल यात्रा गर्नुपरेमा बेलेको गाडी पर्खेर जाने गरेको खड्काले अनुभव सुनाए । हो, यही कारणले उनै बेले गाउँले सवैका भरोसा बनेका छन् ।

मालिका गाउँपालिकाको छापहिले, अर्जै, घमीर, अर्खावाङ, ह्वाङ्दी सहित इस्मा गाउँपालिकाको अमरपुरका नागरिक उनका नियमित गुल्मी–बुटवल आउजाउ गर्ने यात्रु हुन् । उनी यात्रु लिन बुटवल र गुल्मीका घरघरमा पुग्छन् । कतिपयले ठट्यौली शैलीमा उनलाई भन्दा रहेछन्, ‘बेलेको यात्रु लिन जाने घरदैलो अभियान चलेकै छ ।’

बेलेजस्तै सार्वजनिक सवारीमा काम गर्ने चालक, सह चालकहरुको व्यवहार र शैलीमा परिवर्तन भएमा संवेदनशील क्षेत्रको रुपमा लिइने यो क्षेत्र सवैको रोजाई बन्न सक्छ । बुटवल टुडेबाट

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  १२ : ३६ बजे