२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

करारका कर्मचारी निस्कासन गर्दै सरकार, अर्थले गर्‍यो पत्राचार (पत्रसहित)



काठमाडौँ । विकृती कस्तो छ भने, टुप्पी कसेर पढी लोकसेवाबाट नाम निकालेका स्थायी कर्मचारी ‘जोकरफाल्तु’ हुने,जिम्मेवारी नपाउने अनि हाकिमका साली,गलफ्रेन्ड,नातेदार भएको आधारमा करारमा भर्ती भएकाहरुकै उल्टो हैकम चल्ने । सरकारी निकायमा देखिने विरहलाग्दो दृश्य हो यो ।

अहिले अधिकांश मन्त्रालय,विभागदेखि कार्यालयहरुसम्ममा करारका कर्मचारीको हैकम छ । अझैं कतिपय निकायमा त करार सेवाका कर्मचारीलाई देखाएर स्थायी नियुक्ति लिएका कर्मचारीलाई हाजिरै गर्न नदिइएको पीडा नियुक्त भएका कर्मचारीहरुले इकर्मचारी डटकमसँग पोखेका थिए ।

संघकै कार्यालयमा स्थायी नियुक्ति पाएका कर्मचारीहरु प्रदेश र जिल्लातिर पठाएर अहिले पनि विभिन्न मन्त्रालयमा अहिले पनि करारका कर्मचारीको रजगज चलिरहेको छ ।

करारवालाको पावर कस्तोसम्म छ भने,केही अघि उद्योग विभागमा एक जना हाकिम थिए,उनले त्यहाँ कार्यरत एक जना करार सेवाको महिला कर्मचारीलाई हटाउन खोजे । बदलामा भोलीपल्टै उनको सरुवा त्यहाँबाट राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणमा गराइयो । ती सहसचिवले हटाउन खोजेका करार सेवाको कर्मचारी कुनै सचिवको गर्लफ्रेण्ड थिइन । ती सचिव अहिले पनि सरकारी सेवामै छन् ।
एकातिर करार सेवाका कर्मचारीको कारण विकृती छँदै थियो अर्काेतर्फ अहिलेको राजश्वले करार सेवाका कर्मचारीलाई पाल्न नसकिने भन्दै करारमा कार्यरत कर्मचारी हटाउने तयारीमा जुटिरहेको छ सरकार ।

सरकारले करार सेवामा कार्यरत कर्मचारी हटाउने तयारी थालेको छ । अत्यन्त आवश्यक र प्राविधिक बाहेक अन्य करारका कर्मचारी हटाउने तयारी स्वरुप अर्थ मन्त्रालयले सबै सरकारी निकायलाई परिपत्र गर्दै करार सेवामा कार्यरत कर्मचारीहरुको विवरण माग गरेको छ ।
अर्थ मन्त्रालयले सबै मन्त्रालयहरु सबै निकायलाई आफू मातहतको निकायमा रहेको कर्मचारीको सबै विवरण पठाउन पत्रचार गरेको हो । अर्थद्धारा गरिएको पत्राचारमा कार्यरत करार सेवाका कर्मचारी र ज्यालादारीमा काम गर्ने व्यक्तिको विवरण उपलब्ध गराइदिन अर्थ मन्त्रालयको सचिवस्तरीय निर्णय भए अनुसार अनुरोध छ भनिएको छ ।

चालू आर्थिक वर्षको राजश्वले चालू खर्च मात्रै धान्न थालेपछि सरकारले करारका कर्मचारी हटाउने तयारी गरेको हो। अर्थ मन्त्रालयको तथ्यांक अनुसार,अहिले अस्तित्वमा रहेका सार्वजनिक संस्थानमा मात्र साढे चार हजार करार सेवाका कर्मचारी कार्यरत छन् । अन्य सरकारी निकायमा झण्डै २० हजार हाराहारी करार सेवाका कर्मचारी कार्यरत रहेको बताइन्छ ।

जागिर खोसिनेमा २० वर्षसम्म सरकारी सेवामा रहेर जागिर गरेका कार्यालय सहयोगी, सवारी चालक, हुलाकी, हल्कारा, माली, सूचीकार, कम्प्युटर अपरेटरलगायत पर्नेछन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  १२ : ०० बजे