२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

बालुवाटारमा सहमति भए माधव नेपाल राष्ट्रपति



कैलाली । फागुन २ गते धनगढी पुगेका नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफ्नो पार्टीबाट राष्ट्रपति बन्ने सम्भावना अधिक रहेको बताएका थिए । माओवादी, कांग्रेस र एमालेका उम्मेदवार राष्ट्रपति बन्ने चर्चा चलिरहेका बेला खनालले दिएको अभिव्यक्तिले क्रमशः आकार लिँदै गइरहेको छ ।

खनालले धनगढीमा दिएको अभिव्यक्तिको एक साता पार्टी नेकपा एकीकृत समाजवादीले त्यसलाई आधिकारिक रुपमा अघि बढाउने निर्णय गर्‍यो । फागुन १० गतेको सचिवालय बैठकले भावी राष्ट्रपतिमा पार्टीले औपचारिक दाबी गर्ने निर्णय गर्‍यो ।

उम्मेदवारको नाममा निर्णय नभए पनि माधव नेपाललाई अघि बढाउने नेकपा एसको रणनीति छ ।तर, खनाल पनि राष्ट्रपतिमा आकाङ्क्षी देखिएका छन् ।एमाले अध्यक्ष केपी शर्मा ओलीले सिंहदरबारमा नेपाललाई भेटेर राष्ट्रपतिको लागि तयार हुन सङ्केत दिएपछि नेपाल पनि हौसिएका हुन् ।

तर, एमाले एक्लैको समर्थनमा राष्ट्रपति बन्ने सम्भव नभएको उनले बुझेका छन् । ओलीको सूचना उनले ढिलो नगरी माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सुनाए र १० गते पार्टीको सचिवालयमा पनि जानकारी दिए ।

माओवादीले एमालेबाट राष्ट्रपति नबनाउने रणनीति अनुसार राष्ट्रिय सहमतिको सूत्रले नेपाललाई अझै बलियो बनायो । हिजो तीन दल नेकपा एकीकृत समाजवादी, माओवादी र जनता समाजवादी पार्टीले नेपाललाई नै राष्ट्रपति बनाउने भनेर निर्णय गरेपछि उनको माहौल अझै बलियो भयो ।

तर, तीन दलले मात्रै समर्थन गरेर नेपाल राष्ट्रपति बन्न सक्ने अवस्था भने होइन । त्यहि अनुसार अहिले बालुवाटारमा कांग्रेस सहित माओवादी, नेकपा एकीकृत समाजवादी र जसपाका नेताहरू नेपाललाई राष्ट्रपति बनाउने बिषयमा छलफल गर्न बैठक बसिरहेका छन् ।

बैठकमा प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा , एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादव लगायत नेताहरू सहभागी छन् । बैठकका कांग्रेसका गगन थापा, माओवादीका नारायणकाजी श्रेष्ठ लगायतका नेताहरू पनि सहभागी छन् ।

२५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि भोली मनोनयन दर्ता गर्ने समय निर्धारण गरिएको छ । दलहरूबीच अझै राष्ट्रपतिमा सहमति हुन सकेको छैन। तीन दलले समर्थन गरिसकेका नेपाललाई अहिलेको बैठक मार्फत कांग्रेसले पनि समर्थन गरे नेपाल नै राष्ट्रपति बन्ने करिब पक्का हुने नेकपा एकीकृत समाजवादीका नेताहरूको बुझाइ छ ।

‘सहमतिको आधारमा राष्ट्रपति बन्ने कुरा सकारात्मक हो’ नेकपा एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले भने ‘तीन दलले करिब समर्थन गरिसकेको अवस्थामा कांग्रेसले पनि समर्थन गर्ने अवस्था आए उहाँ९माधव नेपाल० नै राष्ट्रपति बन्नहुन्छ ।’

माओवादी, कांग्रेस, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले नेपालाई समर्थन गर्दा एमालेले पनि समर्थन गर्न सक्ने उनको बुझाइ छ । तर, कांग्रेसले भने अहिलेसम्म नेपाललाई समर्थन गर्ने भन्ने बिषयमा पार्टी भित्र छलफल चलाएको छैन् ।

कांग्रेस प्रवक्ता प्रकाशशरण महत भने कांग्रेसबाटै राष्ट्रपति हुनुपर्ने अडानमा पार्टी रहेको बताउँछन् । ‘सबै बिषयमा छलफल भइरहेका छन् तर, राष्ट्रपति कांग्रेसबाटै हुनुपर्छ भन्ने हाम्रो धारण हो’ उनले नेपाल प्रेसलाई भने ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  ११ : ५० बजे