२८ भाद्र २०८१, शुक्रबार | Fri Sep 13 2024

‘सेकेण्ड ह्याण्ड’ लुगाको व्यवसाय गरेर प्रगति गरेकी प्रथा बस्नेत



काठमाडौं । कुनै विवाह, पार्टीमा लगाइसकेपछि कतिपयलाई फेरि त्यही लुगा दोहोर्‍याएर लगाउन मन नलाग्न सक्छ । साइज ठूलो वा सानो हुँदा पनि फेरि त्यही लुगा लगाउन सम्भव हुँदैन । यसरी प्रयोग भइसकेका तर फेरि प्रयोग हुन नसकेका लुगा, जुत्ता वा झोला प्रायः सबैको घरमा हुन्छ । तर यसको व्यवस्थापन कसरी गर्ने कुराले धेरैलाई चिन्ता थपिरहेको हुन्छ ।

तपाईंलाई पुरानो लागेको वा सानोठूलो भएको सामान अर्को कोही व्यक्तिलाई फिट हुन सक्छ । कुनै सामान चाहिएको छ, तर किन्नलाई पर्याप्त पैसा छैन भने कसैले प्रयोग गरेको सेकेण्ड ह्याण्ड सामान पनि किन्न सकिन्छ ।

पुनः प्रयोग नहुने कपडालाई बेच्नका लागि तथा सस्तो मूल्यमा पुरानो कपडा किन्नका लागि अहिले सहरी क्षेत्रमा विभिन्न थ्रिफ्ट स्टोरहरू खुलेका छन् । थ्रिफ्ट स्टोर त्यस्तो पसल हो, जहाँ प्रयोग गरिसकेको सामानलाई किन्न र बेच्न पाइन्छ । कपडा, जुत्ता, झोलालगायत थ्रिफ्ट स्टोरमा पाइन्छ ।

तपाईं पनि प्रयोग नहुने थन्किएर बसेका महिलाको कपडा, जुत्ता, ब्याग र श्रृगांरको सामान बेच्ने सोच्दै हुनुहुन्छ भने ‘एफोर्डेबल थ्रिफ्ट स्टोर’ राम्रो विकल्प हुन सक्छ । काठमाडौंको माइतीघरस्थित सेन्ट जेभियर्स कलेजको आडैमा रहेको यो थ्रिफ्ट शप यतिबेला महिलाका पुराना कपडाले भरिभराउ छ । जहाँ सेकेण्ड ह्याण्ड कपडा किन्ने र बेच्नेहरूको घुइँचो नै लाग्छ ।

नयाँ नयाँ डिजाइनका लुगा किनेर लगाउन सबैको पहुँचमा हुँदैन । थ्रिफ्ट स्टोर यस्ता ग्राहकको चाहना पूरा गर्ने माध्यम बनेको छ । थ्रिफ्टबाट मानिसले आफूलाई मन परेको लुगा छानीछानी थोरे मूल्यमा उपभोग गर्न पाउँछन् ।

प्रथा बस्नेतले तीन वर्षअघि सञ्चालनमा ल्याएको उक्त थ्रिफ्ट सपले पुराना कपडा पनि किन्न बेच्न सकिन्छ है भन्ने अवधारणा जन्मायो । ५० हजार रुपैयाँ लगानीमा एउटा कोठाबाट सुरु भएको यो थ्रिफ्ट सप अहिले एउटा तल्लाभरि फैलिएको छ । साथै, देशभर नै होम डेलिभरीको समेत व्यवस्था रहेको बस्नेत बताउँछिन् ।

‘केटीहरू एक पटक लगाएको कपडा दोहोर्‍याएर लगाउन खासै रुचाउँदैनन् । त्यसैले केटाको तुलनामा केटीहरूसँग धेरै कपडा हुन्छ,’ उनी भन्छिन्, ‘मसँग पनि धेरै कपडा थिए, मेरो कलेजमा पढ्ने एक जना दिदीले मलाई थ्रिफ्टको बारेमा अवधारणा दिनुभयो । त्यसपछि मैले आफैंसँग भएको लुगाहरूबाट थ्रिफ्ट सप सञ्चालनमा ल्याएकी हुँ ।’

विदेशतिर थ्रिफ्ट सप निकै चलेका छन् । नेपालमा पनि यसलाई सुरु गर्दा कस्तो होला त भन्ने सोचको साथ एफोर्डेबल थ्रिफ्ट स्टोर सुरु गरेको बस्नेत बताउँछिन् । ‘मैले आफ्नो लुगा बेच्दा राम्रो प्रतिक्रिया आएपछि मजस्तै आफ्नो पुराना कपडा बेच्न इच्छुक साथीहरूको कपडा संकलन गरेर बेच्न सुरु गरें,’ उनी भन्छिन् ।

थ्रिफ्ट स्टोर सुरु गर्दा कस्ता व्यक्तिले किन्लान् भन्ने उनलाई लागेको थियो । तर पछि सबै उमेर समूहका ग्राहकहरू जोडिंदै गएको उनी सुनाउँछिन् । उनको स्टोरमा आएको कपडाहरु प्रायजसो विद्यार्थीहरुले रुचाइदिए । ‘विद्यार्थीहरुसँग धेरै पैसा हुँदैन । उनीहरूलाई सस्तो मूल्यमा छानीछानी कपडा किन्न पाउने राम्रो विकल्प भइदियो थ्रिफ्ट स्टोर,’ बस्नेत सुनाउँछिन् ।

सुरुवाती दिनमा ग्राहकहरुलाई पुरानो कपडा पनि राम्रो हुन्छ भनेर विश्वास दिलाउन उनलाई निकै सकस भएको थियो । यसका लागि झण्डै तीन महिना लागेको थियो । तर तर समयसँगै उनले ग्राहकहरूको मन जित्दै गइन् । थ्रिफ्ट सपमा अहिले १०० रुपैयाँदेखि १० हजार रुपैयाँसम्मको कपडाहरू उपलब्ध छन् ।

अरूले प्रयोग गरिसकेको लुगा फोहोर हुन्छ कि यस्ता कपडाको प्रयोग गर्दा केही सरुवा रोगहरू पो सर्ने सम्भावना हुन्छ कि भन्ने प्रश्न पनि मनमा उब्जिन्छ । ‘हामीले किनेको सेकेण्ड ह्याण्ड कपडा जस्ताको तस्तै बेच्ने होइन, हामीले राम्रो केमिकलको प्रयोग गरेर ड्राई क्लिनिङ गरेर मात्र बिक्रीमा राख्छौं,’ बस्नेत प्रष्ट पार्छिन्, ‘त्यसैले ढुक्क भएर थ्रिफ्ट स्टोरबाट सामान किनेर लैजान सक्नुहुन्छ ।’

अहिले थ्रिफ्ट स्टोरमा मासिक एक लाख रुपैयाँसम्मको व्यापार हुन्छ । यहाँ ६ जना महिलाले रोजगारी पाएका छन् । ‘वार्षिक आम्दानीको २० प्रतिशत समाज सेवामा पनि खर्चिने गरेका छौं,’ बस्नेत भन्छिन् ।

स्टोरमा अहिले महिलाका मात्रै कपडा राखिएको भएपनि पुरुष र बालबालिकाका पनि सामान राख्ने योजना बनाइरहेको उनी बताउँछिन् । साथै काठमाडौंबाहिर पनि थ्रिफ्ट स्टोरका शाखा खोल्ने योजना छ ।

थ्रिफ्ट स्टोरमा आफ्ना पुराना कपडा, जुत्ता, झोला बेच्न जाँदा सफा गरेर मात्रै लैजानुपर्ने हुन्छ । सामानको गुणस्तर र अवस्था हेरेर कति मूल्यमा बेच्ने हो तोकेर छाडेपछि स्टोरले बिक्रीमा राख्छ । सामान बिक्री भइसकेपछि ३५ प्रतिशत कटाएर सम्बन्धित व्यक्तिले रकम पाउँछन् । अनलाइन खबरबाट

प्रकाशित मिति : ९ फाल्गुन २०७९, मंगलबार  ९ : ०४ बजे