२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

तीन वर्षपछि ‘फेस टु फेस’ सीमा सुरक्षा बैठक, खुलाउला चीनले तातोपानी नाका ?



सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका वडा नम्वर २ बाट चीन जोड्ने उत्तरी तातोपानी नाका पूर्ण रुपमा खुलाउन चीनले सीमा सुरक्षामा जोड दिएको छ । बिहीबार तीन वर्षपछि नेपाल–चीनको बोर्डर मितेरी पुलमा नेपाल र चीनका सरकारी अधिकारीबीच आमनेसामने भएको छलफलमा चीनले सीमा सुरक्षाको विषयलाई प्राथामिकता दिएको हो ।

तातोपानी नाकामा चीन र नेपालका अधिकारीबीच बिहीबार भएको छलफल । तस्विर सौजन्य स् जिल्ला प्रशासन कार्यालय चौतारा
नेपालबाट सिन्धुपाल्चोकका जिल्ला प्रशासन, अध्यागमन, सुरक्षा निकाय, भन्सार प्रमुख तथा चीनका न्यालम काउन्टी प्रशासन, सुरक्षा निकाय, अध्यागमन, सुरक्षा निकायलगायतका अधिकारीबीच बैठक भएको हो । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेकाअनुसार यस छलफलमा चीनका उच्च अधिकारीले नाकालाई स्थायी रुपमा सञ्चालन गर्न सीमा सुरक्षालाई नेपालले अत्यन्त सबल अपनाउनुपर्ने भन्दै यसबारे नेपालको धारणा माग गरेका हुन् । ‘चीन नाका खोल्न सकरात्मक देखिन्छ, तर सीमा सुरक्षाबीच ‘क्रस बोर्डर क्राइम’का सम्बन्धमा पर्याप्त छलफल आवश्यक रहेकोमा चिनियाँ अधिकारीको चासो देखिन्छ’ प्रजिअ न्यौपानेले भने ।

कोरोना भाइरस ९कोभिड १९० को बहानामा यसअघि वि च्याटमार्फत् अधिकारीहरुबीच भर्चुअल बैठक मात्रै हुन्थ्यो । ०७७ सालमा दुवै देशका स्थानीय अधिकारीले मितेरी पुलमा पाँच मिटर टाढा रहेर बैठक र छलफल गरेका थिए । त्यसपछि यो नै पहिलो प्रत्यक्ष बैठक हो । सीमाक्षेत्रमा कोरोनाको जोखिम नभएकाले भौतिक रुपमा महत्त्वपूर्ण बैठक र पहलकदमी गर्न सकिएको उनले बताए । तीन वर्षपछि भौतिक बैठक र छलफल भएपनि चिनियाँ र नेपाली अधिकारीबीच पूर्ण रुपमा नाका खोल्नेबारे सहमति भएको छैन । ‘उनीहरुले सुझाव मात्रै मागेका छन्, यो प्रारम्भिक चरणको छलफल हो,’ उनले भने । चीनबाट हुने निकासी वस्तुको जाँच गर्न खासाको रमितेमा चीनले निकासी घर, भवन, अन्य आवश्यक पूर्वाधार संरचना निर्माण भइरहेको जानकारी गराएको छ ।

बैठकमा नेपालबाट प्रजिअ न्यौपाने र चीनबाट न्यालम अध्यागमन इन्स्पेक्सन स्टेसनका प्रमुख सियाङ जुनले धारणा राखेर छलफल अघि बढाएका थिए । भूकम्पका कारण चार वर्ष ठप्प रहेको यो नाका कोरोनाका कारण पुनः प्रभावित रहृयो । कोभिडकालपछि चीनको खासा र न्यालम क्षेत्रमा थन्किएका डेढ सय कन्टेनरका रेडिमेड र अन्य सामाग्री राजधानी पुर्‍याउने लक्ष्य राखेर ‘आइसोलेट एरिया’सहित नाका सञ्चालनमा ल्याइयो । तर, तातोपानी नाका पुनः पहिलेझैं चल्ने आसमा बसिरहेका व्यापारी, कन्टेनर, होटेल व्यवसायी निराश छन् । नाका खण्डहरझैं हुँदा निराश भएको सीमाभेगका जनप्रतिनिधिले बताएका छन् । तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख दयानिधी केसीले हाल दैनिक मुस्किलले चार वटा मात्रै सीमित कन्टेनर भित्रिने गरेकोले राजस्व वृद्धि समेत हुन नसकेको बताए । ‘आर्थिक वर्ष ०७६र०७७ मा दिनहुँ ४० देखि ५० वटा कन्टेनर भित्रिन्थ्यो, त्यतिखेर राजस्व मात्रै एक अर्ब ५९ करोड संकलन भयो, तर यसपटक लक्ष्यको ३५ प्रतिशत मात्रै जम्मा भएको छ’ उनले भने । यी महिनाभर आएका कन्टेनरबाट फलफूल, लत्ताकपडा, इन्डस्ट्रियल मेट्रियलजस्ता सामाग्री भित्रिएका छन् । त्यही कन्टेनर आएको बेला भन्सारको काम हुन्छ, अरुबेला पुरै कार्यालय सुनसान हुन्छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार  २ : ०३ बजे