३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

ग्यास सिलिन्डर बिस्फोट हुने कारणहरु, लिक भएको शंका लागे के नगर्ने ?



काठमाण्डौँ । ग्यास सिलिन्डर लिक हुँदा भएको आगलागीमा परी नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको मृत्यु भएको छ।

बुधबार राति बुद्धनगरस्थित घरमा भएको उक्त घटनामा परी सांसद भण्डारी पनि घाइते भएका छन्।
उनको शरीरको ३० प्रतिशत भाग जलेको छ। कीर्तिपुरको बर्न अस्पतालमा उपचार हुन नसकेपछि भण्डारीलाई भारतको मुम्बई लैजान लागिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजालका अनुसार घटना बुधबार राति सवा १० बजे भएको हो।

प्रहरीको प्रारम्भिक अनुसन्धानले राति सुरूमा किचेनमा ग्यास लिक भएको हरिकलाले थाहा पाएको र छोरा चन्द्रलाई यसबारे जानकारी गराएको देखिएको छ।

‘अहिले हामीले सबै कुराहरू बुझिसकेका छैनौं। राति ग्यास लिक भएको थियो। किचनभित्र ग्यास गन्हाएपछि आमाले माननीयज्यूलाई भन्नुभएछ,’ उनले भने,‘उहाँ चन्द्र भण्डारी कहाँ के गन्हाएको हो भनेर हेर्न जानुभएछ।’

किचनमा पुगेर सांसद भण्डारीले बिजुली बत्ती बाल्‍दा एक्‍कासी आगोको झिल्का आएर आगलागी भएको हुन सक्ने एसपी रिजालले बताए।

‘बत्ती बाल्न खोज्दा स्पार्क निस्केर एक्कासी आगो लागेको भन्ने बुझिएको छ,’ उनले भने।

जुद्ध वारूण यन्त्र काठमाडौंका पूर्वप्रमुख तथा अग्नि नियन्त्रक किशोरकुमार भट्टराईले पनि यो घटनामा प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएजस्तै कारण हुन सक्ने बताए।

ग्यास लिक भएर कोठा भरिँदा बिजुली बत्ती बाल्न हुन्छ कि हुन्न भन्ने जनचेतना नभएकाले यस्ता आगलागी हुने गरेको भट्टराईले बताए।

‘धेरै मानिसलाई त ग्यास भरिएको कोठामा बिजुली बत्ती बाल्दा स्पार्क भएर आगलागी हुन्छ भन्ने नै थाहा छैन,’ भट्टराईले भने,‘कतिलाई चाहिँ बत्ती बाल्नु हुँदैन भन्ने थाहा छ तर त्यस्तो अवस्था बत्ती निभाउनु पनि हुँदैन भन्ने थाहा छैन।’

कुनै कोठामा ग्यास भरिँदा त्यो हावासँगै ग्यास बिजुलीको स्विचभित्र पसिसकेको हुन्छ। स्विच अन वा अफ गर्दा निस्कने स्पार्क ९झिल्को० ले हामीले ग्यास जलाउँदा बाल्ने लाइटरले झैं काम गर्छ।

‘हामीले ग्यास खोलेर लाइटर खट्याक्क गरेर बाल्छौं नि, हो त्यसै गरी स्विच अनरअफ गर्दा पनि स्पार्क निस्किन्छ,’ भट्टराईले भने,‘त्यसपछि आगो लागिहाल्छ। कोठामा भएको मान्छे ढलिहाल्छ।’

ग्यास लिक भएको शंका लागेको कोठामा जाँदा बिजुली बत्तीको स्विच छुनै नहुने भट्टराई बताउँछन्।

‘बत्ती बलेको छ भने बल्न दिनुपर्छ, बन्द छ भने खोल्नुहुन्न। बरू कोठाका झ्याल(ढोका खोलेर ग्यासलाई बाहिर जान दिनुपर्छ,’ भट्टराईले भने।

 

ग्याँस सिलिण्डरको Expire मिति कसरी पत्ता लगाउने ?
विश्व स्तरीय मान्यता अनुरुप कुनैपनि ग्याँसको औषत आयू १० देखि १५ बर्ष मात्र छ तर नेपालमा वल्डिङ गर्ने, नयाँ पेन्टिङ गर्ने, अन्तिममा मिति आफै थप्ने यसरी डिलरले लापरबाही गरिरहेकोले यसमा एकदम निगरानी बढाउन जरुरी छ। कहिँकतै यस्तो कार्य देखिए तुरुन्तै सम्बन्धीत निकायमा जानकारी गर्नुहाेस् ।
भान्साको सिलिन्डरमा दिएको यस्तो संकेत बुझ्न नसक्दा समेत हुन सक्छ ग्यास बिस्फोट, तर होस् पुर्याउनुस् है । खासै ख्याल नगरिने, एलपिजी ग्याँसको सिलिण्डरको पनि अन्तिम मिती (Expire date) तोकिएको हुन्छ। तपाइलाइ लाग्ला, याे फलामको भाँडोको पनि अन्तिम मिती हुन्छ ? LPG Gas Cylinder काे मिती expire संगै खतरा बढ्न सक्छन्। कुनै कारण बिना नै ग्यास लिक हुनु एउटा समस्या हो । जस्का कारण सिलिण्डर बिस्फोट पनि हुन सक्छ, त्यसैले सिलिण्डरको अन्तिम मिती सिद्धिएपछि त्यसलाई कदाचित प्रयोग गर्नुहुँदैन।
कहाँ हुन्छ सिलिण्डरको अन्तिम मिति :-
सिलिण्डरको माथिको गोलो ह्याण्डललाई तलको भाँडोसँग जोड्ने ३ वटा सीधा चेप्टो डण्डी हुन्छ। हो, त्यही डण्डीमा यसको अन्तिम मितीलाई पेन्ट गरिएको हुन्छ।
त्यो डण्डीमा अङ्ग्रेजी अक्षर A देखि D सम्मका कुनै अक्षरसँग २ वटा अङ्क लेखिएको हुन्छ। त्यसैबाट अन्तिम मिती थाहा पाउन सकिन्छ। ती अक्षरले एक्सपाइर हुने महिनालाई सङ्केत गर्दछ (जनवरी देखि डिसेम्बर सम्म) भने अङ्कले एक्सपाइर हुने वर्षलाई सङ्केत गर्दछ।
A – जनवरी देखि मार्च
B – अप्रील देखि जून
C – जुलाई देखि सेप्टेम्बर
D – अक्टोबर देखि डिसेम्बर
उदाहरणको लागि, मानौँ तपाईँको सिलिण्डरमा ‘A 18’ लेखिएको छ। यसमा, A ले जनवरी देखि मार्च महिनालाई सङ्केत गर्दछ। अनि 18 ले सन् २०१८ को वर्षलाई जनाउँदछ। मतलब, तपाईँको सिलिण्डर सन् २०१८ को जनवरी देखि मार्च महिना सम्ममा एक्सपाइर हुन्छ। त्यसैले, अहिल्यै तपाईँको सिलिण्डरको अन्तिम मिती जाँच गरिहाल्नुस् । अनि अर्को चोटि ग्याँस किन्दा अन्तिम मिती हेरेर मात्रै सिलिण्डर लिनुहोला।
ग्यास सिलिन्डर बिस्फोट हुने कारणहरु:
१-सिलिन्डर भित्रको बढी प्रेसर,
२-सिलिन्डर पुरानो हुनु,
३-सिलिन्डरको जाँच गर्ने सिस्टम् नहुनु,
४-रेगुलेटरको रबर लुज हुनु,
५-PVC पाइपबाट लिकेज हुनु (मुसाले काटेर, पुरानो भएर, घस्रेर)
६-लिकेज भैसके पछी(आगोको झिल्को पाउनु, बत्तीको स्विच अन गर्नु..
साबधानीहरु:-
१- खाना पकाइ सके पछी सिलिन्डर को रेगुलटर बन्द गर्नु पर्छ ।
२- सिलिन्डरमा आगलागी सुरु भैसकेपछी 10-15 मिनेट समय हुन्छ बिस्फोट हुनु अघि, त्यो समयमा नै निम्न उल्लेखित कार्य गर्न सकियो भने बिस्फोटलाई रोक्न सकिन्छ:-
-यदि पाइपमा आगो लाग्यो भने एउटा बोरा वा कपडा पानीमा भिजाएर सिलिन्डरलाई छोपिदिने अनि एक छिन पछी रेगुलेटर बन्द गरिदिने,
-यदि रेगुलेटरमा आगो लागेको छ भने एउटा बोरा वा कपडा पानीमा भिजाएर सिलिन्डरलाई छोपिदिने अनि एकछिन पछी रेगुलेटर नै झिकिदिने,
-यदि सिलिन्डरमै लिकेज भएको छ र आगलागि भैरहेको छ भने, सकिन्छ भने वा माथी उल्लेखित समय छ भने सिलिन्डरलाई बोकेर बाहिर लैजाने वा कोहि नभएको स्थानमा लैजान कोसिस गर्ने , त्यो पनि गर्न सकिने अवस्था छैन भने आफू लगायत सबै परिवार सकेसम्म छिटो घर बाहिर निस्कने र दमकल र प्रहरीलाई खबर गर्ने…………….

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहिबार  ७ : ३१ बजे