२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

निसीखोला झोलुङ्गे पुलको गाउँपालिका बन्दै



ढोरपाटन। बागलुङको निसीखोला गाउँपालिकामा चालु आर्थिक वर्ष २०७९र८० मा आठ झोलुङ्गे पुल बन्दै छन्। अघिल्लो वर्ष मात्रै यहाँका विभिन्न खोलामा सात झोलुङ्गे पुल निर्माण गरिएका थिए।

सङ्घीय सरकारको ८७ तथा निसीखोलाको १३ प्रतिशत लगानीमा आठ पुल निर्माण गर्न लागिएको गाउँपालिकाका इन्जिनियर समुन्द्र शाहीले जानकारी दिए। उनी भन्छन्, ‘आगामी असार मसान्तसम्म सबै पुल निर्माण सम्पन्न हुनेछन्।’

वडा नम्बर १ को सेलाखेतघाट र आठबारेघाट, वडा नम्बर ७ को खनिबास(राजकुट कुँडुला जोड्ने, वडा नम्बर ४ र ५ जोड्ने कारीखोला, वडा नम्बर ५ को यारीखोला, वडा नम्बर ६ मगरघाटखोला, वडा नम्बर ३ को गतारेघाट तथा वडा नम्बर २ र ३ जोड्ने गरी खग्रेनीघाटमा पुल निर्माण गरिँदै छ।

स्थानीय प्रेमबहादुर कुँवरले पुल नहुँदा स्थानीयले समस्या भोग्नुपरेको बताए। पुल बनेपछि जोखिम मोलेर खोला वारपार गर्नुपर्ने बाध्यता अन्त्य हुने छ।

‘स्कूल पारी छ, खोला नतरेसम्म त्यहाँ पुग्न सकिन्न, केटाकेटीलाई स्कूल पठाउनै डर छ,’ उनले भने।

अघिल्लो वर्ष निसीखोलाको(६ को सेबाङघाट, सरिटारघाट, चुसाङघाट र वडा नम्बर ७ को कुतखोलाघाट, वडा नम्बर ३ र ४ जोड्ने ढुवाँखोरघाट पुल, वडा नम्बर १ को माराघाट तथा वडा नम्बर २ धौलेघाटमा पुल निर्माण गरिएको थियो।

दुई करोड पाँच लाख रुपैयाँको लागतमा ती पुल निर्माण गरिएका गाउँपालिकाका सूचना अधिकारी पुरुषोत्तम गौतमले बताए। यस वर्ष तीन करोड ६४ लाख रुपैयाँको लागतमा आठ पुल निर्माण भइरहेका छन्।

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहिबार  १२ : ३४ बजे