४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

वीरगञ्जमा निर्माणाधीन भवन भत्कँदा २ जना घाइते, ठेकदारको लापरबाही



वीरगञ्ज । विशेष आर्थिक क्षेत्र प्राधिकरण सिमरा ‘सेज’ मा निर्माणाधीन भवन भत्कँदा २ जना घाइते भएका छन् ।

मोरङ जिल्ला सुनबारी नगरपालिका वडा नं ६ बस्ने २० वर्षीय अर्जुन मुर्मुरे र २६ वर्षीय मोहन मुर्मुरे घाइते भएका हुन् ।

सेजको प्रदर्शनी हलको ढलान छत भत्किएर उनीहरू घाइते भएका हुन् । करिब ९ करोडको लागतमा प्रदर्शनी हल निर्माण भइरहेको छ ।

उनीहरूको सिमरास्थित तराई अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यलय बाराका प्रहरी निरीक्षक रूद्र कँडेलले जानकारी दिए ।

पिलरको उचाइ बढी हुँदा ढलान भएको भवनको टेकोमा समस्या आएर भत्किएको सिमरा सेजका इन्जिनियर यज्ञराज जोशीले बताए ।

स्थानीयले ठेकदारको लापरबाहीले निर्माणाधीन भवन भत्किएको आरोप लगाएका छन् । प्रदर्शनी हल निर्माणको जिम्मा प्रतिष्ठा निर्माण कम्पनीले लिएको छ ।

हल एक हजार २५० वर्ग मिटरको बन्ने सम्झौतामा उल्लेख छ । उद्योगका लागि आवश्यक भौतिक संरचना निर्माणमा सेजले पाँच अर्बभन्दा बढी खर्च गरिसकेको छ ।

हलको छत भत्किएपछि प्रहरीले सह( ठेकेदार इटहरीका ४५ वर्षीय प्रदिप बदगाईलाई पक्राउ गरेको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७९, मंगलबार  ११ : १६ बजे