३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

डान्स आइडल जितेको खुसीमा ज्ञानपुञ्जले निकाल्यो पंचेबाजा र्याली



वाणगंगा । ११ औँ कपिलवस्तु डान्स आइडल जितेको खुसीमा ज्ञानपुञ्ज वोर्डिङ स्कुलले पंचेबाजासहित र्याली निकालेको छ । कपिलवस्तु उद्योग वाणिज्य संघको आयोजनामा सोमबार राति सम्पन्न भएको डान्स आइडलमा सयौँबाट छानिएर आएका प्रतिस्पर्धीलाई पछि पार्दै ज्ञानपुञ्जकी कक्षा ८ मा अध्ययनरत छात्रा ग्रीष्मा गाहाले डान्स आइडल जितेकी थिइन् । जितसंगै उनले १ लाख ११ हजार १ सय ११ नगदसंगै थुप्रै पुरस्कार पाएकी थिइन् ।

त्यसैको खुसीमा गाहालाई सोमबार विहान सम्मान गरेको विद्यालयले दिउँसो पंचेबाजासहितको र्याली निकालेको हो । र्यालीले विद्यालयको प्रमुख क्षेत्रहरु वडा नम्बर १ र २ मा परिक्रमा गरेको प्रिन्सिपल सुरन्द्र पाण्डेले जानकारी दिए ।

उनका अनुसार र्यालीमा विजेता ग्रीष्मा, उनका परिवार, विद्यालय संचालक समिति, विद्यार्थी र शिक्षकहरु सहभागि भएका छन् । र्यालीसंगै बिभिन्न स्थानमा नाचगान गरिएको पनि विद्यालयले जनाएको छ ।

यसअघि पनि डान्स आइडलमा सहभागि भएर विद्यालयले दोश्रो स्थान हासिल गरेको थियो । ज्ञानपुञ्ज जिल्लामा पहिलो पटक आइएसए अवार्ड जित्ने पहिलो नीजि विद्यालय हो ।

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार  ३ : ०२ बजे