७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

मुख्य समाचार

सिआइबीमा एसपी अधिकारीको सरुवाः चितवनबाट भए विदा



काठमाण्डौँ । जिल्ला प्रहरी कार्यालय चितवनमा सफल कार्यकाल पुरा गरी प्रहरी प्रमुख उपरीक्षक (एसपी) नवराज अधिकारी केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) मा सरुवा भएका छन् । चितवनमा एक बर्षे कार्यकाल पुरा गरी अधिकारी सिआइबीमा सरुवा भएका हुन् ।

एसपी अधिकारीले चितवन रहँदाका बखत गरेका कामहरु बुधबार पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गर्दै सबैलाई धन्यबादसमेत दिए ।

अधिकारीले स्थानीय, प्रदेश र संघ गरेर तीनै तहको निर्वाचन शान्तिपूर्ण र भयरहित रुपमा सम्पन्न गर्ने अवसर पाए भने राजश्व असुली, अपराध रोकथाम, नियन्त्रण र शान्ति सुरक्षामा उल्लेखनीय काम गरेको पत्रकार सम्मेलनमा देखाइएको रिपोर्टले देखाउँछ ।

चितवनमा आफूले गरेका धेरै काममध्ये तीन तहको निर्वाचन शान्तिपूर्ण तवरले सम्पन्न गर्नु मुख्य कामको रुपमा आफूले लिएको उनी बताउँछन् । उनले भने ‘निर्वाचनका समयमा चितवन मुलुककै सबैको नजर जाने जिल्ला हो । यो हेविवेटको लडाईँ हुने जिल्ला पनि भएकाले यहाँको सुरक्षा संवेदनशिलतालाई राष्ट्रिय अन्र्तराष्ट्रिय रुपमा हेरिन्छ । त्यही संवेदनशिलतालाई मध्यनजर राखेर सुरक्षा संयन्त्र परिचालन गरियो र विगतको जस्तो दाग यसपटकको चुनावमा चितवनले ब्यहोरेन ।’

‘चुनावभर चितवनमा कहिँ पनि शान्ति खलबलिन पाएन भने हुज्जत, तोडफोड, दंगा, अराजकता कहिँ पनि मच्चिन पाएन । यसमा म र मेरो टिमले गर्व गर्दछ’, उनी थप्छन् ‘अपराधीहरूले चितवनलाई विभिन्न नाममा ट्रान्जिट पोइन्टका रूपमा लामोसमयदेखि प्रयोग गरेका छन् । त्यसैका आधारमा त्यहाँ अपराध मौलाएको देखिन्छ ।’

एसपी अधिकारी अपराध गरी लुकीछिपी बसेका सयौँ प्रतिवादीलाई समात्न सफल भएकोमा अर्को खुसी ब्यक्त गर्दछन् ।’

‘एकै वर्षको अवधिमा लुकेर अपराध गरिरहेका २२४ फरार प्रतिवादीलाई समात्नु चानेचुने कुरा थिएन । सुरुदेखि नै यस मिसनमा लाग्यौँ । विगतका घटनाक्रमलाई लियौँ, हेर्यौँ, विश्लेषण गर्यौँ र अन्तिमसम्म सफल पनि भयौँ’ उनी भन्छन् ।

त्यस्तै समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई पनि सफल गराएको उनको दावी छ । यही कार्यक्रम अन्तर्गत आत्महत्या न्यूनिकरण, मानव वेचबिखन, लैगिङ्क र घरेलु हिंसा, साइबर अपराध जस्ता विभिन्न २० बटा विषयमा ६ सय बढी जनचेतनामूलक कार्यक्रम गरको उनले बताए । साथै जिल्लाका सबै विद्यालय र क्याम्पसहरुमा पढाउनका लागि चेतनामूलक पाठ्यसामाग्री तयार पारी पािलका प्रमुखहरूलाई हस्तान्तरण गर्न समेत उनी सफल भए । यसलाई चितवनवासीले अधिकारीको ठुलो सफलतासंग जोडेका छन् ।

पाए यस्ता पुरस्कार

जनताको शान्ति सुरक्षार्थ चितवनमा रहेर काम गर्दा उनले महत्वपूर्ण पुरस्कार पनि पाएका छन् । वाग्मती प्रदेश सरकरबाट अधिकारी ‘शान्तिमाला पदक’ प्राप्त गर्न सफल भए भने वाग्मती प्रदेश प्रहरी कार्यालयले उत्कृष्ट कार्य गरेको भन्दै अधिकारीको कमाण्डमा रहेको जिल्ला प्रहरी कार्यालय चितवनलाई ‘उत्कृष्ट प्रहरी कार्यालय’ घोषणा गरेको थियो । अन्तरजिल्ला मुल्यांकनमा पनि प्रहरी उपरीक्षक अधिकारी उत्कृष्ट घोषित भएका थिए ।

यस्तै उत्कृष्ट ढंगबाट समुदाय–प्रहरी साझेदारी कार्यक्रम संचालन गरेको भनी प्रहरी दिवसको अवसरमा वाग्मती प्रदेश प्रहरी कार्यालयले अधिकारीलाई पुरस्कृत गरेको थियो । यस्तै चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी र मुख्य निर्वाचन अधिकृतले पनि चुनावको समयमा उत्कृष्ट काम गरेको भनी अधिकारीलाई पुरस्कृत गरेका थिए ।

उसो त अधिकारी यसअघि पनि सफल प्रहरी अधिकारी हुन् । त्यसअघि उनी कपिलवस्तुमा प्रहरी प्रमुख थिए । त्यहाँ पनि उनी सफल भएरै विदा भए । कपिलवस्तुको अपराध अनुसन्धानमा उनले गरेको कामको मुल्यांकन गर्दै लुम्बिनी प्रदेश प्रहरी प्रधान कार्यालय बुटवलले अधिकारीलाई पुरस्कार प्रदान गरेको थियो ।

कपिलवस्तुका शक्तिशाली माओवादी नेता दीपक पाण्डेकी श्रीमतीकै योजनामा उनको गोली प्रहार गरी हत्या भएको घटनाको अनुसन्धानमा एसपी अधिकारीको कमाण्डले ठुलो भूमिका खेलेको थियो । यस अनुसन्धानमा  विशेष भूमिका रहेको भनी अधिकारी प्रदेश प्रहरीबाट पुरस्कृत भएका थिए । जिल्लामा हुने अवैध तस्करी धन्दा, फरार प्रतिवादीलाइ समेत कानुनको कठघरामा उभ्याउन, गिट्टी बालुवा जस्ता उत्खननमा समेत नियन्त्रणमा लिन उनी र उनको टिमको उल्लेखनीय भुमिका खेलेको थियो ।

इन्सपेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेका अधिकारीले २१ बर्षे अवधिको प्रारम्भतिर नै महत्वपूर्ण पुरस्कार पाएका थिए । उनले २ पटकसम्म नेपाल प्रहरीले प्रदान गर्ने ‘प्रहरी सेवा पुरस्कार’ समेत पाएको छवि छ ।

दार्चुलामा प्रहरीको सफल नेतृत्व गरेका उनले काठमाण्डौँ भिभिआइपी सुरक्षा गर्नेको इन्चार्जसमेत भएर काम गरेका थिए । त्यसअघि सुरक्षा सेवा निर्देशनालय नक्सालमा काम गर्दा पनि नेतृत्वदायी भूमिकामा थिए अधिकारी ।

सिआइबीको सरुवालाई कसरी लिन्छन् अधिकारी ?

सिआइबीमा भएको सरुवालाई रेगुलर सरुवाको रुपमा लिन्छन् अधिकारी । अहिलेसम्म बिभिन्न जिल्ला र इलाकाको नेतृत्व गरेको अनुभव रहेको हुँदा नयाँ ठाउँमा यो करिअरकै पहिलो पोस्टिङ भएको उनी बताउँछन् ।

आफूभन्दा माथि धेरै वरिष्ठ प्रहरी अधिकारीहरु रहेको हुँदा उहाँहरुसंग अपराध अनुसन्धानमा काम गर्न पाउनु अवसर रहेको उनले बताए । यहाँ पनि आफूले मिहिनेत र सुझबुझका साथ काम गर्ने उनको भनाई छ । उनले आफूले यो पाऔँला र उ पाऔँला भन्ने सोँचेर कहिल्यै काम नगरेको उनले बताए ।

यस्तो छ पृष्ठभूमि

२०५८ साल श्रावण १८ गतेदेखि राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानबाट प्रहरी निरीक्षकको रूपमा सेवामा प्रवेश गरेका उनले चार ठाउँमा सफल कार्यालय प्रमुखको रूपमा जिम्मेवारी सम्हाल्न सफल देखिए ।

२०६३ सालमा प्रहरी निरीक्षकको रूपमा पहिलो इन्चार्जको रूपमा उनी ईलाका प्रहरी कार्यालय ढोडरी बर्दियामा कायारर्त थिए । त्यससँगै उनले ईलाका प्रहरी कार्यालय यदुकुवा धनुषा र महानगरीय प्रहरी बृत पुलचोक ललितपुरको जिम्मेवारी पनि सम्हालेका थिए । प्रहरी निरीक्षककै दर्जामा चार बर्ष डडेल्धुरा युनिफाइड बसेका (एसपी) अधिकारी २०६९ मा डिएसपी र २०७५ मा एसपीको रूपमा बढुवा भए ।

(डिएसपी) हुँदा ईलाका प्रहरी कार्यालय कावासोती, कालिमाटी प्रहरी बृत हुँदै जिल्ला प्रहरी कार्यालय दार्चुलाको नेतृत्व सम्हालिसकेका (एसपी) अधिकारी त्यसपछि एक बर्षका लागी सुडान गए । भर्खर सिआइबीमा सरुवा भएका उनी नीति निर्माण तहमा अब्बल प्रहरी अधिकृतका रूपमा मानिन्छन् ।

 

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार  २ : ५२ बजे