२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

शिक्षा विशेष

१४ महिना अगावै शर्माले किन क्याम्पस प्रमुखबाट राजिनामा दिए ?

शर्मा कुनै छलकपटको भावना नभएका निकै सरल ब्यक्तिको रुपमा चिनिन्छन्



काठमाण्डौँ । सिद्धार्थ क्याम्पस वाणगंगा कपिलवस्तुका क्याम्पस प्रमुख पदबाट खेमराज शर्माले माघ १६ गते एक्कासी राजिनामा दिए ।

क्याम्पसको विधान हेर्ने हो भने उनले ५ बर्षे कार्याकाल पुरा गर्नको लागि अझै १४ महिना बाँकी थियो । अर्थात् उनले ८० चैत्र १७ गते राजिनामा गर्नुपर्दथयो । तर उनले कार्यकाल पुरा नगरी रोलक्रमले आगामी क्याम्पस प्रमुखको नम्बरमा रहेका सहायक क्याम्पस प्रमुख वेदराम अर्याललाई पद हस्तान्तरण गरे ।

उनकै पालामा क्याम्पसले जिल्लामा पहिलोपटक क्यूएए प्राप्त गर्यो । क्याम्पस प्रशासनलाई चुस्तदुरुस्त पार्दै सबैको साझा क्याम्पस प्रमुख बनेका शर्माले एक्कासी पद छाडेपछि त्यो स्वभाविक थियो कि त्यसपछाडी कुनै कारण लुकेको छ, धेरैलाई थाहा छैन । यद्यपी बजारमा २ थरी कुरा बाहिर आएका छन् ।

एउटा कारणमा शर्मा अस्वस्थ रही आराम गर्नु पर्ने भएकाले समय नहुँदै क्याम्पस प्रमुख पदबाट राजिनामा दिए भन्ने कुरा आएको छ भने केहीले क्याम्पसमा राजनैतिक दबाब थेग्न नसकेपछि राजिनामा दिए भन्ने कुरा बाहिर आएको छ ।

औपचारिक शिक्षामा एम एड गरी २२ बर्ष क्याम्पसमा अध्यापनको अनुभव संगालेका, शालिन, भद्र, निर्विवादित, नेपाली भाषा तथा साहित्यका ज्ञाता शर्माले किन पद छाडे भन्नेबारे हाम्रो रोजगारीले बिभिन्न श्रोतसंग बुझ्ने कोसिस गरेको छ ।

बाहिर आएजस्तो राजनैतिक दबाब थेग्न सकेनन् कि भन्ने कारण एक हुन पनि सक्छ, किनकि सिद्धार्थ क्याम्पस राजनीति हुने मध्येको जिल्लाको अग्रणी स्थानको क्याम्पस हो । यहाँ स्ववियू पनि छ । क्याम्पसको अध्यक्षमा पालैपालो राजनैतिक दलका ब्यक्ति नियुक्त हुन्छन् । प्राध्यापक अदलबदल हुँदा पनि त्यहाँ राजनैतिक कोटाको आधारमा हुने सरोकारवाला बताउँछन् । त्यसकारण पनि बाहिर ठडिएको त्यो प्रश्न पनि कहिँ न कहिँ ठिकै हुन सक्छ ।

क्याम्पस प्रमुख शर्मा भने एक निश्कलंकित छवि बनाएका क्याम्पस प्रमुख हुन् । जान्नमा आए अनुसार उनी कुनै दलसंग सम्बद्ध देखिन्नन् । त्यहाँ हुने आन्तरिक गतिविधिमा पनि उनीबाट उनको कार्यकालभर कुनै राजनैतिक आग्रह पूर्वाग्रह देखिएन । श्रोत भन्छ ‘त्यहाँ एउटा सिमित राजनैतिक स्वार्थको झुण्ड छ । उनैको दबाब प्रभावमा क्याम्पस प्रशासन चल्नुपर्छ । सायद यसैमा क्याम्पस प्रमुख चल्न नखोज्दा उनी राजिनामा गर्न बाध्य भए कि ?’

बाहिर यो कुराको गुञ्जायस भए पनि हाम्रो रोजगारीले प्राप्त गरेको आधिकारिक कारणमा शर्माले अस्वस्थताको कारण नै राजिनामा गरेको बताएका छन् ।
उनले भने ‘म अस्वस्थ भएँ । मैले आफ्नो स्वास्थ्यको लागि थप आराम गर्नु पर्ने र धपेडीमा नरहनुपर्ने चिकित्सकको सल्लाह आयो । यो भएपछि मलाई क्याम्पस प्रमुखको पद लिइरहनु जायज लागेन र हाँसिखुसी सुम्पेको हुँ ।’

राजनैतिक कारणले पद छोड्नु भएको हो रे नि ? भन्ने हाम्रो रोजगारीको प्रश्नलाई उनले ठाडै इन्कार गरे । उनले प्रष्ट्याए ‘तपाईको प्रश्न ठिकै हो, तर राजनीतिको कारणले मैले राजिनामा गरेको होइन । मेरै कार्यकालमा क्याम्पसले क्यूएए प्राप्त गर्यो । यो बीचमा धेरै शैक्षिक, प्रशासनिक र ब्यवस्थापन सुधारका काम भए । त्यो हुन्थ्यो भने मैले यतिधेरै काम गर्न कहाँ पाउँथेँ र ? यहाँ राजनीति छैन र काम गर्दासम्म मलाई त्यस्तो दबाब प्रभाव कुनै दलबाट आएन । दिनप्रतिदिन क्यापसले गति लिँदै गइरहेको छ ।’

‘आफू स्वस्थ भएको भए पुरा कार्यकाल बसी क्याम्पसलाई थप ब्यवस्थित गर्ने सोँच थियो । प्राविधिक विषयको अध्यापन सुरु गर्ने विचार थियो । त्यो सपना पुरा गर्न पाइनँ । त्यसैले कार्यकाल अधुरोजस्तो भयो । समग्रमा म सन्तुष्ट छु’,उनले भने ।

अबका क्याम्पस प्र्रमुखसंग यही काम गर्ने प्रमुख दायित्व रहेको उनले बताए । क्याम्पस प्रमुख पदबाट विदा भए पनि हल्का तवरबाट, स्वास्थ्यमा प्रेसर नहुने गरी शर्माले अध्यापन गरिरहने सहायक क्याम्पस प्रमुख गोविन्द खनालले हाम्रो रोजगारीसंग बताए । उनले पनि शर्माले स्वास्थ्यको कारण नै पद छोडेको भन्दै विषयतान्तर नगर्न सबैमा अनुरोध गरे । क्याम्पस प्रमुखमा रहँदासम्म शर्माले सबैलाई मिलाएर लैजन सकेको भन्दै उनले प्रसंसासमेत गरे ।

स्ववियू सभापति शुशिल खत्रीले पनि शर्माको कार्यकाल उत्कृष्ट र सफल रहेको बताए । उनले भने ‘उहाँको कार्यकाल स्वर्ण अक्षरले लेखिने खालको भएको छ । विद्यार्थीमाझ अत्यत्नै राम्रो हुँदाहुँदै पनि स्वास्थयको कारणले उहाँले राजिनामा दिनुभएको हो । स्ववियूले उहाँलाई सम्मान गर्दै, नयाँ क्याम्पस प्रमुखलाई स्वागत गर्दै छ । खेमराज सरको शीर्घ स्वास्थ्य लाभको कामना गर्दछु ।’

अरु प्राध्यापक र विद्यार्थीहरुले पनि शर्मा निकै सरल, सहज र सहयोगी क्याम्पस प्रमुख भएको भन्दै सधैँ स्मरण गरिरहने बताए । सार्वजनिक रुपमा पनि शर्मा कुनै छलकपटको भावना नभएका निकै सरल ब्यक्तिको रुपमा चिनिन्छन् ।

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार  १२ : २४ बजे