२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

महोत्सव विशेष

भोलिदेखि कपिलवस्तु महोत्सवः डेढ लाख दर्शक, ६ करोडको कारोबार लक्ष्य



वाणगंगा । कपिलवस्तु उद्योग वाणिज्य संघको आयोजनामा बुद्ध रंगशाला चार नम्बर जितपुरमा मंगलबारदेखि सुरु हुने ‘१३ औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी’ को सबै तयारी पुरा भएको छ ।

सोमबार पत्रकार सम्मेलन गरि आयोजकले महोत्सवको तयारीबारे जानकारी गराएका हुन् । महोत्सवका महत्वपूर्ण पक्षहरु प्रचारप्रसार कम्पाउण्डिङ,स्टल, स्टेज गेट, वाल उद्यान, सचिवालय निर्माण, सजावट लगायतका सबै कामहरु लगभग सकिएको सघका अध्यक्ष तथा महोत्सवका संयोजक डोलकराम घिमिरेले पत्रकारमाझ जानकारी गराएका थिए ।

महोत्सवको नेपाल सरकारका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दिउसो १ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको संयोजक घिमिरेले बताए ।

“सक्षम व्यवसायी, समुन्नत राष्ट्र र आत्मनिर्भर अर्थतन्त्र” भन्ने मूल नाराका साथ माघ २९ गतेसम्म संचालन हुने महोत्सवमा डेढ लाख दर्शन भित्राउँदै करिब ६ करोडको आर्थिक कारोबार गर्ने लक्ष्य रहेको उनले जानकारी दिए ।

महोत्सवबाट गरिएको मुनाफा संघको आन्तरिक व्यवस्थापन, उद्योगीको हकहित, सामाजिक काम र मिडियाको संंरक्षणको लागि खर्च गरिने घिमिरेले बताए ।

पत्रकार सम्मेलनमा महोत्सवका निर्देशक छवि रेश्मीले केही नयाँपन दिन खोजिएको बताए । स्टेज, अतिथि सत्कार, कला संस्कृति जगेनार्थ हुने गतिविधि,सांस्कृतिक र मनोरञ्जनात्मक गतिविधि सबैमा यसपटकको महोत्सव भिन्न हुने उनको भनाई छ ।

संघका निवर्तमान अध्यक्ष उमानाथ पौडेलले चुनौतिको बीचमा महोत्सव गर्न लागिएको बताए । महोत्सवलाई हरेक हिसाबबाट उत्कृष्ट बनाउन आयोजकले सबै तयारी गरेको भन्दै सबैले अपनत्व लिए महोत्सव सफल हुने उनको भनाई छ । जसले जहाँ पनि महोत्सव लगाउने हुनाले अबदेखि ५ बर्षमा एकपटक गर्ने तर मुलुककै राम्रो हुने गरी गर्नुपर्ने पौडेलको धारणा छ ।

पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष किरणमान बज्राचार्यले मिडियाका क्षेत्रबाट यस महोत्सवलाई सफल बनाउन महत्वपुर्ण भूमिका निर्वाह प्रतिवद्धता जनाए । उनले महोत्सवबाट हुने आम्दानीको केही रकम पत्रकारहरुको हकहितका लागी स्थापित गरिएको कोषमा जम्मा गर्न आग्रह गरे ।

संघका महासचिव मनोज पौडेलको संचालनमा सम्पन्न कार्यक्रममा संघका निवर्तमान वरिष्ठ उपाध्यक्ष रुक बहादुर भुसाल, कानुनी सल्लाहाकार गुणनिधि भुसाल लगायतको सहभागिता थियो । पत्रकार सम्मेलनमा कपिलवस्तुका २ दर्जन बढी पत्रकारको सहभागिता थियो ।

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार  ६ : ५९ बजे