३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

कपिलवस्तु महोत्सवः सम्भावित दुर्घटनाबारे प्रहरीद्धारा जानकारी (यसरी हुँदैछ सुरक्षा)



कपिलवस्तु । जिल्लाको वाणगंगास्थिति जितपुरको बुद्ध रंगशालामा माघ १७ गतेदेखि हुने १३ औँ कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनीमा हुन सक्ने सम्भावित जोखिमबारे सुरक्षा अंगले जानकारी लिएको छ । आइतबार इलाका प्रहरी कार्यालय पिपरा र ट्राफिक प्रहरीको टोली महोत्सव स्थलमै पुगी महोत्सवमा हुनसक्ने सम्भावित जोखिम र दुर्घटनाबारे जानकारी लिएको हो ।

धनकुटामा प्रमोद खरेल सहभागि कार्यक्रममा बढी भीँड भएर धकेलाधकेल हुँदा २० जनाभन्दा बढी घाइते भएको अवस्थामा यहाँ पनि त्यस्तो नहोओस् भन्नको लागि समयमै सावधानी गराउन र सुरक्षाबारे जानकारी लिन आफू आएको प्रहरी कार्यालय पिपराका प्रहरी नीरिक्षक दिपकबाबु केसीले हाम्रो रोजगारीलाई बताए ।

गत बर्ष यही महोत्सवमा डुङ्गा दुर्घटना भएर केही ब्यक्ति गम्भिर घाइते भएको स्मरण गराउँदै प्रहरी नीरिक्षक केसीले निकै सावधानी अपनाउन आयोजकलाई आग्रह गरे । धनकुटामा बढी भीँड भएर दंगा हुँदा भाग्ने ठाउँ नभएर केही च्याँपिएरै घाइते भएका थिए ।
आयोजकका तर्फबाट सुरक्षा तथा पार्किङ संयोजक रनेन्द्र सेनले ढुक्क रहन आग्रह गरे ।

उनले भने ‘अहिले हामी सतर्क छौँ । पीङ, वाल उद्यान, डुङ्गा सबैको निर्माण कार्य राम्ररी भइरहेको छ । त्यस्तो हुँदैन होला । बढी भीँड भएर त्यस्तो अवस्था आए महोत्सवका चारै दिशाका ढोका खुल्छन् । भीँड भएर च्याँपिने स्थिति आउने छैन ।’

‘यो महोत्सव लुम्बिनी पदेशमै बढी दर्शक आउने महोत्सवमध्ये पर्छ । दर्शकको बढी भीँड हुँदा र त्यस्तै अवस्था आए मूल प्रवेशद्धार, पूर्वतर्फको गेट नम्बर दुई, पश्चिमतर्फ नगरपालिकाको ढोका र संघको कार्यालय नजिकबाट छिर्ने सबै ढोका खुल्ने संयोजक सेनले बताए ।

उनले महोत्सव अवधिभर हरेक दिन ५० बढी सेक्युरिटी गार्डबाट सुरक्षा गरिने, महत्वूर्ण ठाउँमा सिसीटिभी क्यामेराले निगरानी गरिने, संचारको लागि ४ वटा वाकीटकीको व्यवस्था गरिएको लगायतका कुराहरु प्रहरीले समक्ष राखे । प्रहरीले जुवाजन्य कुनै गतिविधि नगर्न, प्रशासनको अनुमति बाहेकका कुनै मनोरञ्जनका साधन नराख्न सुझाएको थियो ।

पोहोर साल नसोँचेको दुर्घटना भएको हुनाले यस वर्ष निकै सावधानी अपनाइएको संघका निवर्तमान अध्यक्ष उमानाथ पौडेल र वरिष्ठ उपाधयक्ष रुक बहादुर भुसालले बताए । संघका महासचिव मनोज पौडेलले पनि प्रशासनको अनुमतिभन्दा बाहिर गएर कुनै गतिविधि नगर्ने प्रहरीसमक्ष बताएका थिए ।

संघका वरिष्ठ उपाध्यक्ष तथा महोत्सवका निर्देशक छवि रेश्मीले प्रहरीले दिएका सुझाव र मार्गदर्शन ग्रहण गरेर अगाडी बढ्ने बताए । खेल र मनोरंजनतर्फ सबै ठाउँ पूर्ण विमाको ब्यवस्था गरिएको उनले बताए । पार्किङ लगायत सबै सुरक्षा ब्यवस्था चुस्त दुरस्त भएकाले ढुक्क भएर मेलामा आउन उनको सर्वसाधारणलाई अपिल छ ।

 

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  ६ : ४६ बजे