४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

रास्वपाले भन्यो- गृहमन्त्रालय छाड्दैनौँ



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गृहमन्त्रालय नछाड्ने दावी गरेको छ । सर्वोच्च अदालतले १३ माघमा नागरिकता विवादमा रवि लामिछानेको सांसद पद खारेज गरेसँगै उनको गृहमन्त्री पद पनि गुमेको थियो ।
लामिछानेले पद गुमाए पनि गृहमन्त्रालय आफूहरुको भागमा परेको हुँदा दाबी कायमै रहने रास्वपाले बताएको छ ।

रास्वपाले भागवण्डामा गृहमन्त्रालय पाएको बताउँदै रास्वपा प्रवक्ता मुकुल ढकालले, ‘त्यो मन्त्रालय हाम्रो पार्टीले पाएको हो । त्यसकारण हाम्रो गृहमन्त्रालयमा दाबी रहन्छ ।’

गृहमन्त्रीमा रास्वपाले कसलाई पठाउने भनेर तय गरिसकेको छैन । ‘गृहमा हाम्रो दाबी रहन्छ । तर, अहिले कसलाई पठाउने भन्ने विषयमा छलफल भइसकेको छैन्,’ ढकालले भने, ‘यस विषयमा सत्ता गठबन्धनका दलसँग पनि छलफल हुन्छ ।’

त्यसो त गैरसांसदलाई पनि ६ महिनाका लागि मन्त्री बनाउन सकिने प्रावधान छ । मन्त्री बनाइएका गैरसांसद ६ महिनाभित्र संघीय संसदको सदस्य बन्न नसकेमा भने पद मुक्त हुने छन् ।

रास्वपा प्रमुख सचेतक सन्तोष परियारले पनि गृहमन्त्रालयमा रास्वपाको दाबी कायमै रहेको सुनाए । ‘गृहमन्त्रालयमा हाम्रो पार्टीको दाबी कायमै छ,’ उनले भने, ‘यस विषयमा सत्तारुढ अरु दलसँग पनि छलफल हुन्छ ।’

लामिछानेले नागरिकता लिइसकेपछि फेरि पार्टी सभापति बनाउने तयारी भइरहेको छ । लामिछानेलाई फेरि पार्टी सभापति बनाउन र गृहमन्त्रालयका बारेमा निर्णय गर्न रास्वपाले केन्द्रिय समितिको बैठक पनि बोलाएको छ ।

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  २ : १० बजे