२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

यसकारण कपिलवस्तुको चन्द्रौटामा फस्टायो सिद्रा व्यापार



कपिलवस्तु । जाडोयामसँगै कपिलवस्तुको चन्द्रौटा बजारमा सिद्राको व्यापार फस्टाएको छ। अहिले यहाँका व्यापारीलाई सिद्रा बेच्ने चटारो छ।

दुई दशकदेखि यसको व्यापार गरिरहेका अनिश अन्सारीले दैनिक एकदेखि डेढ क्वीन्टल सिद्रा बेचिरहेको बताए। उनका अनुसार असोज अन्तिम हप्तादेखि बढेको सिद्राको व्यापार फागुनसम्म चल्छ।

अन्सारी एक्लै वर्षमा ४० देखि ४५ क्वीन्टलसम्म सिद्रा व्यापार गर्छन्। ‘अरुभन्दा जाडो मौसममा सिद्राको व्यापार हुन्छ,’ उनले भने। चन्द्रौटा बजारभित्र झण्डै दुई दर्जन व्यापारीले सिद्रा बेच्छन्। यहाँको सिद्रा किन्न रोल्पा, रुकुम, प्यूठान, दाङ, अर्घाखाँची, गुल्मी, पाल्पादेखि कोहलपुरसम्मबाट खरिदकर्ता आउँछन्।

जाडो हटाउन सिद्राको झोल खाने चलन छ। सिद्रा साना साना भुरा माछा सुकाएर बनाइन्छ । खाँदा माछाको स्वाद आउने र जाडो भगाउने हुँदा यसको व्यापार जाडोमा फष्टाएको व्यवसायी बताउँछन्।

रुकुम मुसिकोट(११ बाट चन्द्रौटा बजार आएकी जमुना बुढाले पहाडमा सिद्राको महत्त्व बढी भएकाले किन्न आएको बताइन। जाडोमा तातो झोलको लागि सिद्रा खान उत्तम रहेको उनले सुनाइन। सुत्केरी, वृद्धवृद्धा, बालबच्चालाई चिसोबाट बचाउन यसको झोल उत्तम मानिने उनको भनाइ छ।

दाङको राप्ती(९ कि पारु पुन हरेक वर्ष सिद्रा लिन चन्द्रौटा आउँछिन्। आफूले किनेको सिद्रा केही घरमा प्रयोग गर्ने अरु पहाडमा दिदीबहिनीलाई पाहुरको रुपमा पठाइदिने उनले बताइन।

अर्घाखाँची जुकेनाकी भगवती बेल्वासे पनि सिद्रा किन्न लागि चन्द्रौटा झरेको बताउँछिन्। आफन्तकहाँ सिद्रा पाहुरको रुपमा घरमा लैजान लागेको उनले बताइन।

चन्द्रौटादेखि २१ किलोमिटर टाढा भारतको बढनी बजारबाट लाखौको सिद्रा नेपालतर्फ आयात हुन्छ । लखनउ, गोरखपुरबाट सिद्रा ल्याएर बेच्ने गरेको व्यापारी हकिउल्लाह मुसलमानले बताए। भारतका कृषकले खोलानाला, खेतका खालबाट भुरा माछा मारी सुकाएर सिद्रा बनाउँछन्।

माछाका विभिन्न प्रजातिमध्ये जुँगे, झिंगे, सुन्दरी, टेग्ना, बरेल, चलवा, बुलवा जातको माछाको सिद्रा बन्छ। यहाँ सिद्रा किन्नको लागि साना साना व्यापारीदेखि ठूला व्यापारीसम्म आउने गरेको व्यापारी बताउँछन्। सिद्रा फुटकर रुपमा प्रतिकिलो दुई सयदेखि पाँच सय रुपैयाँमा बिक्री हुन्छ।

प्रकाशित मिति : १४ माघ २०७९, शनिबार  ६ : १० बजे