२८ भाद्र २०८१, शुक्रबार | Fri Sep 13 2024

तौलिहवा र चार नम्बरमा खानै नहुने मासु बेच्दै ब्यापारी, केहि कारबाहीमा



कपिलवस्तु । जिल्लामा संचालित केही मासु पसलेले खानै नहुने मासु विक्रिवितरण गरेको भेटिएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको टोलीले जिल्लाका मासु पसलको अनुगमन गर्दा चार नम्बर र तौलिहवाका केही मासु पसलहरुले मापदण्ड विपरित अस्वस्थ्कर मासु विक्रीवितरण गरेको भेटिएको हो ।

मासु पसलहरुमा प्रयोग हुने औजारहरु खिया लागेको, सरसफाई नभएको र खुला रुपमा मासु विक्री वितरण गर्दा अस्वस्थ्यकर भेटिएको छ भने कतिपय पसलहरु मापदण्ड विपरित संचालन रहेको पाइएको छ । अनुगमन टोलीका डा गणेश बहादुर पुन भन्छन् ‘अझै पनि हाटबजारमा खुला रुपमा मासु विक्री वितरण गरेर मानव स्वास्थ्यमा गम्भिर लापरवाही गरेको भेटिएको छ । ती पसलेलाई एकपटकलाई सचेत गराएको छ । फेरि पनि पटक पटक दोहोरिए जरिवानासंगै जफल गरिने छ ।’

तौलिहवाको बजार अनुगमनमा सडेको र फोहर मासु बेच्ने २ मासु पसललाई कारबाही समेत गरिएको छ । हाट बजार चोकमा रहेको सद्दाम मासु पसल र पुरानो एक्का स्टेशन चोकमा रहेको अब्दुल कुखुरा मासु पसललाई जनही ३ हजारका दरले जरिवाना गरिएको बिज्ञ केन्द्रका प्रमुख बिष्णु प्रसाद खनालले बताए ।

बाणगंगाका १५ वटा मासु पसलमा निरिक्षण गर्दा तौलिहवा बजारका पसलको तुलनामा केही सफा भने पाइएको अनुगमन टोली बताउँछ ।

अनुगमनमा पशुसेवा विज्ञ केन्द्र कपिलवस्तुका डागणेश बहादुर पुन, अधिकृत धनन्जय नेपाल, नेपाल पत्रकार महासंघ, असई भगतराम चौधरी, माधव प्रसाद पौडेल लगाएतका रहेका थिए । मंगलबार र बुधबार भएको अनुगमनमा मासु पसलहरु मापदण्ड अनुसार संचालन भए नभएको बारे निरिक्षण गरिएको थियो ।

 

प्रकाशित मिति : १२ माघ २०७९, बिहिबार  ५ : २४ बजे