२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

सेवाग्राहीको भीँड दुईतीन महिनामा सुधार हुन्छः राहदानी विभाग



काठमाडौं। राहदानी विभागले पासपोर्ट लिन सेवाग्राहीको भीड घटाउने कार्ययोजना बनाएर कार्यान्वयन गर्ने तयारी गरेको छ। राहदानी लिनका लागि विभागमा सेवाग्राहीको हुने भीड अझै हट्न नसकेका कारण भीड घटाउन कार्ययोजना बनाउने तयारी गरिएको विभागले जनाएको छ।

विभागमा सधैँ सेवाग्राहीको भीड बढ्दै जान थालेका कारण घटाउन कार्ययोजना बनाएर कार्यान्वयन गर्ने तयारी भइरहेको विभागका निर्देशक तथा प्रवक्ता दुरुपदा सापकोटाले बताए।

उनले भने, ‘सेवाग्राहीको घण्टौँ लामो लाइन तथा भीड घटाउन हामीले कार्ययोजना बनाएर कार्यान्वयन गर्ने तयारी गरेका छौँ तर कस्तो किसिमको कार्ययोजना बनाउने त्यस विषयमा गृहकार्य हुँदैछ।’

कार्ययोजनाको खाका छलफलकै क्रममा रहेको र यसको जिम्मेवार सबै निकायबाट पारित भएपछि कार्यान्वयन हुने प्रवक्ता सापकोटाको भनाइ छ। राहदानी विभागमा अबका दुई(तीन महिनामा देखिने गरि सुधार हुने उनको दाबी छ।

विभागको सफ्टवेयरमा आउने समस्यादेखि अन्य विविध कारणले सेवाग्राही घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता अझै कायमै रहेको सेवाग्राहीको गुनासो छ।

अनलाइनबाट आवेदन दिन तथा कार्यालयमा गएर फोटो खिच्ने र बायोमेट्रिक गर्ने समय पाउनै गाह्रो हुने तथा त्यसैमाथि साइट नचल्ने, जसोतसो साइट खुलिहाले पनि आवेदन पेस गर्न नसकिने समस्या हुने गरेको सेवाग्राहीको गुनासो छ। राहदानी विभागमा हुने समस्या र सेवाग्राहीको गुनासो सम्बोधन गर्न पहल भइरहेको प्रवक्ता सापकोटाले बताए।

प्रकाशित मिति : १२ माघ २०७९, बिहिबार  ५ : १३ बजे