२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

प्रेमप्रसादलाई न्याय माग्दै काठमाडौं अपराइजिङ नाममा प्रदर्शन



काठमाडौँ । नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि मंगलबार आफैंलाई जलाएका कारण मृत्यु भएका इलामका प्रेमप्रसाद आचार्यले उठाएका विषयहरुलाई राज्यले सम्बोधन गर्नुपर्ने र उनले न्याय पाउनुपर्ने माग गर्दै माइतीघरबाट काठमाडौं अपराइजिङ नाममा प्रदर्शन सुरु भएको छ ।

नागरिक समाजका अगुवा र युवाहरूले इलामका प्रेमप्रसाद आचार्यको न्याय र उनीजस्तै लाखौँ नेपाली युवाहरूको न्यायकालागि सरकारसँग माग गरेका छन् । उनीहरूले आचार्यको दुःखद निधनप्रति शोक व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् भने उनका २५ बुँदे मागहरू पूरा गर्न सरकारसँग माग गरेका छन् ।

काठमाडौंको माइतीघरमा जम्मा भएर नाराबाजीसहित बानेश्वर पुगेका उनीहरूले ‘सरकार गरिखान दे, प्रेमप्रसाद आचार्यको आत्महत्या होइन हत्या हो, अर्को जल्दो शरीर मेरो नहोस्, यो देश हो कि बधशाला रु’ लगायत नाराहरू लेखिएका प्ले–कार्डसहित प्रदर्शन गरेका छन् ।

नागरिक अगुवा एवं लेखक सञ्जिव उप्रेतीले आचार्यको आत्मदाहले नेपाली अर्थ सामाजिक व्यवस्थाको मारमा परेको संघर्षशील युवाको जीवनलाई उजागर गरेको बताए । ‘प्रेम आचार्यको कहानी यदि कारुणिक छ कि उहाँले बारम्बार प्रयास गर्नुभएको छ माथि उठ्नकालागि । तर, उहाँलाई हाम्रो अर्थ सामाजिक व्यवस्थाले सधैँ पिँधमा पुर्‍याइरहेको देखिन्छ,’ उनले भने, ‘यो उहाँको अवस्था हो । तर यही अवस्था अहिले लाखौँ नेपालीले बेहोर्न बाध्य छन् । यस्तो अवस्थाको अन्त्य गर्न हामी सडकमा आउन बाध्य भएका छौँ ।’

प्रदर्शनका क्रममा उनीहरूले सीमान्तकृत दलित, महिला र मजदुरहरूको जीवनस्तर माथि उठ्न नसकिरहेको अवस्थाको चित्रलाई उजागर गरेको बताएका छन् ।

‘हिजो यही सडकमा उत्रिएर नाराबाजी गर्ने साथीहरू अहिले संसद्मा, सरकारमा पुग्नुभएको छ । हामीलाई उहाँहरूप्रति आशा छ, हाम्रो आशालाई निराश नबनाईदिनुहोला,’ बानेश्वरमा भएको कोणसभामा बोल्ने एक वक्ताले भने, ‘तपाईहरूबाट परिवर्तन सम्भव छ भने साताभित्र गर्नुहोला, होइन भने पद छाडेर सडकमै आउनुहोला ।’

उनीहरूले आचार्यले राखेका २५ बुँदे मागहरू पूरा नभएसम्म निरन्तर आन्दोलन गर्ने बताएका छन् ।

आचार्यले मंगलबार अपरान्ह संसद् भवन अगाडि आफैँलाई आगो लगाएर आत्मदाहको प्रयास गरेका थिए । आगोले जलेर अस्पताल पुर्‍याइएका उनको बुधबार बिहान मृत्यु भएको थियो ।

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार  ५ : २४ बजे