४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

वाणगंगा नगरपालिकालाई गिज्याइरहेको त्यो ‘काठे पुल’



चन्द्रकान्त न्यौपाने, कपिलवस्तु ।  वाणगंगा नगरपालिकाका ब्यवसायी खुमानन्द घिमिरेले सोमबार एउटा तस्विरसहित ब्यङ्ग्यात्मक फेसबुक स्टाटस लेखे ‘बाणगंगा नगरपालिका अन्तर्गतको प्राचिन परम्परागत रुपमा तयार यो पुल । यसलाई पनि सम्पदाको रुपमा सुचिकृत गरियोस् सरकार ।’

त्यो स्टाटसमा थुप्रै कमेन्ट्सहरु आएका छन् । तीमध्ये पत्रकार कृष्णप्रसाद पौडेल प्रतिक्रिया दिन्छन् ‘मेयर साव कै वडाको नमुना पुल हो जस्तो लाग्यो !’

सामाजिक अभियान्ता भीम उपाध्यायले पनि त्यो फोटोसहित ‘कपिलवस्तुको वाणगंगा नगरपालिकामा पुरानो पक्की कल्भर्ट भत्किएपछि स्थानीयले परमपरागत शैलीमा यस्तो काठेपुल बनाएर काम चलाउँदै आएकै छन्’, भनेर पोष्ट गरे । उनको त्यो पोष्टपछि अहिले त्यो पुल सामाजिक संजालमा उत्तिकै भाइरल भइरहेको छ ।

त्यो तस्विरलाई लिएर नगरपालिकाको विकासप्रति प्रश्न उठाउँदै सरोकार राख्ने बिभिन्न ब्यक्तिले पनि शेयर गरिरहेका छन् । हरेक पोष्ट र शेयरमा स्थानीय सरकारमाथि प्रश्न देखिन्छन् ।

आजभन्दा २ बर्ष पहिले आएको ठुलो बर्षा र बाढीले वडा नम्बर ३ भक्तौलीमा रहेको पक्की पुल भत्कियो । त्यसपछि ६ महिना बढी त्यहाँबाट आवतजावत गर्ने नागरिकले दुख पाए । नगरपालिकाले समयमै बनाउँछ कि भनेर मुख हेरेर बसेका त्यस क्षेत्रका जनताले नगरले केही नगरेपछि भने बल्लतल्ल परम्परागत शैलीमा काठको पुल बनाएका छन् र अहिले त्यसैले बल्लतल्ल काम चलिरहेको छ ।

नगरपालिकाको पूर्वी सिमाना भाउपुरलाई जोड्ने त्यो पुलको बाटो पीच छ । त्यो बाटो हुँदै रुपन्देहीको भैँसाही, गरगरे, नगरपालिकाको भाउपुरबाट दिनमा सायौँ सर्वसाधारण आउजाउ गर्छन् । लोडसहितका दैनिक १० औँ ट्याक्टर पनि आउजाउ गर्छन् त्यहीबाटो । पैदल र साइकलमा हिँड्ने सर्वसाधारण पनि उत्तिकै छन् ।

तर त्यो स्थानमा पक्की पुल नबनेपछि चारपाङ्ग्रे सवारी साधन साँघुरो डाइभर्सनबाट मोडिनु परेको छ भने त्यो काठे पुलमाथि एकैपटक दुई मोटरसाइकल पनि आउजाउ गर्न सक्दैनन् । त्यस्तो अवस्थामा पालो कुरेर हिँड्नु परेको छ । साइकल यात्री त्यस स्थाना आएपछि झरेर डोहोर्याउन बाध्य छन् ।

जिर्ण काठेपुलमाथि साइकल डोहोर्याउँदै स्थानीय

अहिले जनतेन काठे पुलले काम चलेको छ तर त्यो पनि जिर्ण हुँदा सर्वसाधारण जोखिममा यात्रा गरिरहेका छन् । पक्की पुल भत्किएको दुई बर्ष वितिसक्यो तर पक्की पुल बनाउन कसैको ध्यान पुगेको देखिँदैन । जसका कारण आगामी बर्खामा नागरिकले पाउनु दुख पाउने निश्चित छ ।

पुल बनाउने भनेर त्यहाँका नागरिकले पटकपटक वडालाई गुहारे तर वडाले पनि सुनेको नसुनेझैँ गर्यो एकजना सर्वसाधारण प्रश्न गर्छन् कसले हो यो पुल बनाउने स्थानीय सरकार या प्रदेश सरकार ? त्यो पुलको दृश्यले अहिले सिंगो नगरलाई नराम्ररी गिज्जयाइरहेको सरोकारवाला बताउँछन् ।

सर्वसाधारणको गुनासोपछि यो पुलको विषयमा बुझ्न वडा अध्यक्ष टेक बहादुर झेँडीलाई पटकपटक फोन लगाए पनि उठेन । स्थानीयका अनुसार समयमै पुल बनाउन नगर र वडाको नेतृत्वले वेवास्ता गरेको हाम्रो रोजगारीलाई सुनाए । स्थानीय विकासको जिम्मा पाएको नगरपालिकाले समयमै त्यतातर्फ ध्यान नदिँदा यसपटक पनि त्यो स्थानमा पक्की पुल बन्ने सुरसार छैन ।

नगरपालिका श्रोत भने चाँडै समस्या समाधान गर्ने बताउँछ । बजेट छुट्टिएको हो भने किन बनाउन ढिलाई भयो ? स्थानीय प्रश्न गर्छन् ।

वि सं २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा नगरलाई काठेपुल मुक्त बनाउने नारा बनाएका नगर प्रमुख मंगल पसाद थारु असफल भएरै विदा भए । नगर सभामा पटकपटक यो कुरा उठे पनि कार्यान्वयन हुन भने सकेको छैन । अहिले पनि वडा ३ र १० को पटना लगायतका स्थानमा काठको पुल रहेको बताइन्छ ।

हिजो उपमेयर भएका चक्र अर्याल अहिले मेयर छन् । उनले पनि चुनावमा त्यस्तै नारा बनाए तर भक्तौलीको त्यो दृश्वतर्फ भने ध्यान दिन सकेका छैनन् । जसका कारण मेयर बनेको १० महिनामै उनको पनि आलोचना हुन थालेको छ । नगरले पुल बनाउन बजेट छुट्याएका छौँ भनेर आश्वासन दिए पनि समयमै काम नहुँदा पत्याउन छाडिएको दुख पाएका स्थानीय बताउँछन् ।

नगरले नगरेपछि प्रदेश सांसद विष्णु पन्थीलाई यसबारे जानकारी गराए पनि उनले पनि ध्यान नदिएको स्थानीयको गुनासो छ । अब पनि पुल बनाउन चासो नदिए नगरमै डेलिगेसन जाने त्यहाँका सर्वसाधारण बताउँछन् । कुरा ठुला ठुला गर्ने नगर नेतृत्वले जनताका ससाना समस्या र दुखका कुरामा ध्यान नदिँदा चौतर्फी आलोचना भइरहेको छ ।

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार  ४ : १३ बजे