२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

१३ औँ कपिलवस्तु महोत्सवः पोहोर बुर्ज खलिफा, अहिले लभगेट



चन्द्रकान्त न्यौपाने, कपिलवस्तु । कपिलवस्तुमा गत बर्ष आयोजना भएको १२ औँ कपिलवस्तु महोत्सव एवम् कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनीको प्रवेश मार्गमा युएइमा रहेको संसारकै अग्लो टावर बुर्ज खलिफा बनाएर नेपालभर चर्चामा रहेको कपिलवस्तु उद्योग वाणिज्य संघले यसपटक पनि प्रवेश मार्गमा नयाँपन दिने भएको छ ।

१३ औँ कपिलवस्तु महोत्सव मिति नजिकिँदै गर्दा संघले बिभिन्न तयारी गरिरहेको छ । यसैसन्दर्भमा प्रवेशमार्ग कस्तो बनाउने भन्नेबारेमा छलफल हुँदा अनौपचारिक रुपमा लभगेटको नाम आएको छ ।

अहिलेको युवापुस्ता टिकटक र सेल्फीमा रमाउने भएको हुँदा उनीहरुको माग र रुचीअनुसार लभगेट बनाउनेबारे छलफल भएको हो । यद्यपी यसबारे अन्तिम निर्णय भने हुन बाँकी छ ।

तर महोत्सवमा टेण्ट तथा सजावटको जिम्मा पाएका कालिगढले आधामुटु अंकित लभगेट बनाउने कुरा भएको हाम्रो रोजगारीलाई बताए । यस प्रकारको गेट पनि नेपालमा नौलो हुने उनले बताए । लभगेट नै फाइनल भएमा दर्शकको चित्त बुझेनेगरी निकै आकर्षक बनाउने गरी आफूहरु लागि परेको उनले बताए । गेटमा ठुलो आकारमा लभगेट बनाउँदा निकै आकर्षक हुने उनको भनाई छ ।

पोहोर गेटमा बुर्ज खलिफा बनाएपछि कपिलवस्तु महोत्सव राष्ट्रियस्तरमा निकै चर्चामा आएको थियो । त्यसखालको दबाबमा रहेको आयोजकले अहिले पनि त्यस्तै खालको आकर्षण दिन के गर्न सकिन्छ भनेर अझै छलफल गरिरहेको छ ।

एकथरीले गेटको आकर्षण पोहोरकोभन्दा कम हुन नहुने कुरा राखेका छन् भने केहीले कम खर्चमा राम्रो जे चिज दर्शकको लागि आकर्षक हुन्छ त्यही बनाउने बताइरहेका छन् ।

त्यसै सन्दर्भमा लभगेटको कुरा आएको संघको एक जना सदस्यले बताए । महोत्सवलाई फरक बनाउनेबारे संघका वरिष्ठ उपाध्यक्ष तथा महोत्सवका निर्देशक छवि रेश्मी भ्रमणमा छन् । उनी आएपछि अन्तिम टुङ्गो हुने संघका महासचिव मनोज पौडेलले बताए ।

सक्षम व्यवसायी, समुन्नत राष्ट्र, आत्मनिर्भर अर्थतन्त्र भन्ने मूल नारा बोकेर बुद्ध रंगशाला जितपुरमा यही माघ १७ गतेदेखि २९ गतेसम्म संचालन हुने महोत्सवको अहिले तयारी तीव्र छ । संघका अध्यक्ष एवम् मेलाका संयोजक डोलकराम घिमिरेका अनुसार अहिले स्टल, स्टेज, गेट निर्माण लगायतका काम भइरहेको छ ।

प्रकाशित मिति : ९ माघ २०७९, सोमबार  ४ : ५० बजे