२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

केपी ओली किन भने आफ्नै मोवाइल नम्बर पनि स्मरण हुन छोड्यो ?



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपकरणको बढ्दो प्रयोगले मानिसको स्मरण शक्ति कमजोर भइरहेको बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजको पाँचौं राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै उनले उपकरणमा निर्भर हुँदा सानासाना कुराहरु पनि स्मरण गर्न सक्ने खुबी हराउँदै गएको बताए ।

‘हामी बिस्तारै विस्तारै उपकरणमा अलि बढी भर पर्न थाल्यौँ, त्यसले हाम्रो थाहा पाउने अवस्था कमजोर भयो । मलाई ५ सय बढी टेलिफोन नम्बर आउँथ्यो मोबाइल नहुँदा, मोबाइल भएपछि आफ्नै नम्बर कसैले सोध्यो भने थाहा नहुने भइसक्यो’ उनले भने, ‘हिसाब गर्न मोबाइलमा क्यालकुलेटर झिक्न थाल्छौं । परनिर्भरता बढ्दैछ, प्रविधिको उपलब्धताले ।’

अध्यक्ष ओलीले वेद मानवरचित नभइ दैविक देन भएको बताए । उनले कतिपय वेदका ऋचाहरु ऋषिमुनिबाट थपिए पनि कतिपय ऋचाहरु भने दैविक देन रहेको बताए । अध्यक्ष ओलीले आयुर्वेद पनि ऋषिमुनिहरुबाट थपिएपनि त्यो भन्दा अघि दैविक देनकै रुपमा आएको बताए । उनले वेद विज्ञान भएको आयुर्वेद आयुसम्बन्धी, आरोग्य, स्वास्थ्य सम्बन्धी विज्ञान भएको बताए ।

उनले भने, ‘केही चिजहरु यस्ता छन्, जसलाई अपौरुषिय अथवा मानव निर्मित होइन भन्ने शास्त्रहरुले वर्णन गरेका छन् । वेद मानव रचित होइन, दैवीदेन हो भन्ने छ । कसले लेखेको भन्ने थाहा छैन । वेदका ऋचाहरु पछिल्लो समय कसले बनायो भन्न सकिन्छ, पछिल्लो समय बनेका कतिपय ऋचाहरु छन्, त्यसभन्दा अघिका ऋचाहरुको बारेमा जानकारी छैन, त्यसैले वेदलाई दैविक भनिन्छ।’

उनले आयुर्वेदले मरेपछि स्वर्ग पुर्‍याउने, पुनःजन्म गराउने ठेक्का लिने नभइ जन्म वा भ्रुण अवस्थादेखि जीवनभरका लागि कसरी स्वस्थ, निरोगी भएर बाच्ने भन्नेकुरा सिकाउने बताए ।

उनले भने, ‘वेद भनेको विज्ञान हो, आयुर्वेद भनेको जीवन, आयुसम्बन्धी, आरोग्य, स्वास्थ्य सम्बन्धी विज्ञान हो । जीवन आयुसँग सम्बिन्धत छ । मरेपछि स्वर्ग पुर्‍याउने,
पुनःजन्म गराउने ठेक्का लिँदैन, आयुर्वेदले जन्म वा भ्रुण अवस्थादेखि जीवनभरका लागि कसरी स्वस्थ, निरोगी भएर बाच्ने भन्ने हो ।’

अध्यक्ष ओलीले अरु देशको तुलनामा उपनिवेशिक समयदेखि नेपाल पछि परे पनि अब बढ्ने समय आइरहेको बताए । उनले नेपालको इतिहास गौरवपूर्ण रहेको भन्दै इतिहासप्रति गर्व गर्नुपर्ने बताए ।

प्रकाशित मिति : ८ माघ २०७९, आइतबार  ७ : ०७ बजे