४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

नेपाल र भारतसँगको त्रिदेशीय सीमाक्षेत्र नजिकै बाँध बनाउँदै चीन



काठमाडौं । चीनले नेपाल र भारतसँगको त्रिदेशीय सीमा नजिकै तिब्बतको माब्जा जाङ्बो नदीमा बाँध निर्माण गरिरहेको सार्वजनिक भएको छ । बाँध निर्माणस्थल कालापानी क्षेत्रबाट उत्तर त्रिदेशीय सीमा क्षेत्रदेखि करिब १६ किलोमिरको दूरीमा रहेको छ ।

तिब्बतको काउन्टीबाट उत्पत्ति भएको माब्जा जाङ्बो नदी नेपालबाट घाघरा हुँदै भारतको गंगा नदीमा मिसिन्छ ।

भूस्थानिक खुफिया अनुसन्धानकर्ताहरुले ट्वीटरमा शेयर गरेका सो क्षेत्रका स्याटेलाइट तस्वीरहरूलाई आधार बनाएर भारतीय दैनिक पत्रिका ‘द हिन्दू’ ले यस विषयमा समाचार लेखेको छ ।

ट्वीटर प्रोफाइल अनुसार इन्टेल ल्याबका भूस्थानिक खुफिया अनुसन्धानकर्ता डेमियन साइमनले १९ जनवरीमा ट्वीटबाट बाँधको निर्माण कार्य भइरहेको स्याटेलाइट तस्वीरहरू पोस्ट गरेका थिए । उक्त तस्वीरमा नेपालसँग सीमा जोडिने तिब्बतको बुराङ काउन्टीमा सन् २०२१ को मेदेखि भइरहेका गतिविधि देख्न सकिन्छ ।

‘सन् २०२१ को सुरुदेखि नै चीनले भारत र नेपालको त्रिदेशीय सीमानाको उत्तरपट्टी केही किलोमिटर पर माब्जा जाङ्बो नदीमा बाँध निर्माण गरिरहेको छ । जबकि संरचना पूरा नभएको परियोजनाले भविष्यमा यस क्षेत्रको पानीमा चीनको नियन्त्रण हुनेबारे चिन्ता बढाउनेछ,’ साइमनले ट्वीटमा उल्लेख गरेका छन् । उनले ट्वीटरमा राखेका तस्वीरमा जलाशयसँगै तटबन्ध निर्माणको काम भइरहेको स्थान देखिएको छ ।

‘द हिन्दु’का अनुसार भारतीय सुरक्षा विज्ञहरूले साइमनको दावीलाई नकार्न नसकिने बताएका छन् । ‘पानीलाई लाभको रूपमा प्रयोग गरेर त्रिदेशीय सीमाना नजिकै चीनले सैन्य क्षेत्र स्थापना गर्न लागेको हुनसक्छ । किनभने, अरुणाचल प्रदेश नजिकैको यार्लुङ जाङ्बो नदीमा यसअघि चीनले त्यस्तै गतिविधि गरेको थियो’, स्रोतलाई उद्धृत गर्दै हिन्दुले उल्लेख गरेको छ ।

प्रकाशित मिति : ८ माघ २०७९, आइतबार  ७ : ०५ बजे